धरानमा डेंगु प्रकोप नियन्त्रण बाहिर, केन्द्रबाट ७ सय किट पठाइयो



Download our app to get more features

सुनसरी, २० जेठ । धरानमा डेंगु ज्वरोको प्रकोप नियन्त्रणबाहिर गएपछि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ । डेंगुको प्रकोप नियन्त्रण गर्न स्थानीय स्तरको प्रयास सम्भव नभएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्राचार गर्दै सहयोग मागेको हो ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले डेंगुको प्रकोप नियन्त्रणबाहिर गएकाले प्रदेश र संघीय सरकारका मन्त्रालयसँग सहकार्य र सहयोगका लागि पत्राचार गरिएको बताइन् ।

धरानमा पछिल्लो ३ सातामा ७५ जना डेंगुका बिरामी भेटिएको पुष्टि भइसकेको छ । सबै बिरामी स्वास्थ्यसंस्थाको सम्पर्कमा नआएकाले यो संख्या अझै बढी हुनसक्ने चिकित्सक बताउँछन् । डेंगुको प्रकोप क्षेत्रमा नियमित फगिङको काम भइरहेको छ। चिकित्सकसहितको ¥यापिड रेस्पोन्स टिमसमेत गठन गरिएको छ । तर डेंगु नियन्त्रणमा आउन सकेको छैन। डेंगु संक्रमित पोथी लामखुट्टेबाट मानिसमा संक्रमण हुने भएकाले पूर्णरुपमा नियन्त्रणमा ल्याउन लामखुट्टेका अन्डा र लार्भा नष्ट गर्नुपर्ने विज्ञ चिकित्सक बताउँछन् ।

¥यापिड रेस्पोन्स टिमको आइतबार बसेको बैठकले डेंगु बिरामीको संख्या बढ्दै गएकाले उपचारमा सहज व्यवस्थापनका लागि बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान र रोग नियन्त्रण महाशाखालाई आग्रह गर्ने निर्णय गरेको छ। टिमले प्रतिष्ठानको अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई भेटेर उपचार व्यवस्था सहज बनाउन आग्रह गरेको छ ।
 
प्रतिष्ठानमा पछिल्लो समय बिरामीको चापले गर्दा मेडिसिन विभागमा बेड अभाव छ । बिरामीलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । १४ वर्षमुनि र ६० वर्ष उमेरमाथिका मानिसलाई डेंगु संक्रमण भए अवस्था गम्भीर पनि हुनसक्ने चिकित्सक बताउँछन् ।

केन्द्रबाट धरानमा सात सय किट पठाइयो
सुनसरीको धरानमा तीन सातादेखि फैलिएको डेंगु परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले ७ सय थान किट पठाएको छ । जसमध्ये दुई सय पहिला र ५ सय किट आइतबार पठाइएको महाशाखाले जनाएको छ ।

डेंगुबाट धरान उपमहानगरपालिकाको वाड १५ र ८ डेंगु रोगबाट बढी प्रभावित भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वडा ९, ७ र १३ मा समेत यो रोग फैलिन थालेको छ । डेंगु संक्रमणबाट कसैको मृत्यु नभएको जनाउँदै महाशाखाले हालसम्म नियन्त्रणभित्रै रहेको दाबी गरेको छ ।

डेंगु नियन्त्रणका लागि समन्वय गर्न जिल्ला अस्पताल र उपमहागरपालिकाका सम्पर्क व्यक्तिसँग नियमित सम्पर्क भइरहेको महाशाखाले जनाएको छ ।

 

(आजको नागरिक दैनिकबाट)

Last modified on 2019-06-04 14:37:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts