नेपाल रेडक्रसविरुद्ध थाई रेडक्रसको उजुरी, ५१ करोड हिनामिनाको आरोप



Download our app to get more features

काठमाडौं, २३ जेठ । नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई रेडक्रस सोसाइटीले थाइल्यान्डमा रहेको नेपाली दूतावासमार्फत् नेपाल रेडक्रसविरुद्ध उजुरी दिएको हो ।

थाई रेडक्रसको उजुरी परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको छ । उजुरी परेलगत्तै काठमाडौं प्रशासनले अध्यक्ष थापासहितका पदाधिकारीमाथि छानबिन थालेको छ ।

थाई रेडक्रस सोसाइटीबाट प्राप्त ४२ करोड र रेडक्रसको केन्द्रीय गोदाम घर निर्माणका लागि भक्तपुरको खरिपाटीमा खरिद गरिएको जग्गामा झन्डै ६ करोड ३२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै नेपाल रेडक्रसविरुद्ध उजुरी परेको हो ।

उजुरीमाथि छानबिन जारी रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । छानबिनका क्रममा तत्कालीन अध्यक्ष थापासहितका पदाधिकारीमाथि बयान थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले जनाएको छ ।

स्रोतका अनुसार थाई रेडक्रस सोसाइटीले ४० लाख अमेरिकी डलर रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि र ५ लाख अमेरिकी डलर विपद् व्यवस्थापनमा खर्च गर्न भन्दै दिएको थियो । अहिले सो भवनको निर्माण कार्य जारी छ ।

स्रोतका अनुसार अनुसन्धानको दायरामा रहेका रेडक्रसका तत्कालीन अध्यक्ष थापासहित पदाधिकारीमाथि बयानलगायत अनुसन्धान कार्य जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चलिरहेको छ ।

 

(आजको राजधानी दैनिकबाट)

Last modified on 2019-06-07 07:39:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts