आनन्दवन अस्पतालमा उपचारका साथै इसाई धर्मको प्रचार, बिहानै हुन्छ इसाई प्रार्थना



Download our app to get more features

ललितपुर, २८ जेठ । द लेप्रोसी मिसन नामक गैरसरकारी संस्थाको सहयोगमा गोदावरी नगरपालिका–६ स्थित टीकाभैरबमा रहेको आनन्दवन अस्पतालमा उपचारका साथ इसाई धर्म प्रचार हुनेगरेको छ ।

बिरामीलाई औषधिका साथ इसाई धर्मका पुस्तिका दिने र प्रार्थना विधि पनि सिकाउने गरिएको बिरामीस्वयम्ले बताएका छन् ।

विशेष गरी कुष्ठरोग प्रभावितहरुको उपचार गर्दै आइरहेको उक्त अस्पतालले विगत स्थापना कालदेखि नै इसाई धर्म प्रचारका सामग्रीहरु राखिएको पाइएको हो । उक्त अस्पताल स्थापना भएको ६२ वर्ष भइसकेको छ ।

अस्पतालमा बहिरंग (ओपिडी) सेवा भएपनि यी प्रचार–प्रसार सामग्री भने कुष्ठरोग प्रभावितहरुको लागि लक्षित गरी राखिएको देखिन्छ ।

कुष्ठरोग प्रभावितहरुलाई औषधि चलाएपछि २० औँ वर्षसम्म अस्पतालमै बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै ती सामग्री बिरामीको वार्डको भित्ता र औषधि राख्ने टोकरीमा राखी दिनेगरिएको छ ।

दुःख र कष्टबाट छुटकारा, यशुको जीवित वचन, बाइबलले हामीलाई के सिकाउँछ लगायतका इसाइ धर्मका प्रचार सामग्रीहरु विरामी राख्ने वार्ड, अस्पतालको भित्तामा प्रसस्तै देख्न पाइन्छ ।

कुष्ठरोग प्रभावितले औषधी खान सुरु गरेपनि अस्पताल प्रशासनको अनुमतिविना अस्पताल परिषर बाहिर जान नपाइने कडा नियम छ । बिरामीलाई समय कटाउने माध्यमको रुपमा राखिएको सामग्रीमा इसाई धर्म प्रचारको सामग्रीबाहेक अन्य सामग्री नहुनुले गैरइसाई विरामीहरुले ती सामग्री बाध्य भएर हेर्नुबाहेक विकल्प नभएको उनीहरु बताउँछन् ।

‘नयाँ–नयाँ किताव पढ्न पाएको भए हुन्थ्यो । न किताव न त पत्रपत्रिका केही आउँदैन’, एक विरामीले भने–‘खाली उही क्रिस्चियन धर्मको कितावबाहेक केही राख्दैनन् । त्यो कत्ति हेर्नु !’

त्यस्तै अस्पतालका कर्मचारीहरुले प्रत्येक बिहान इसाई प्रार्थना गर्ने गरेको समेत खुलेको छ । अस्पताल परिषरभित्र रहेको प्रार्थना हलमा प्रार्थना गरिसकेपछि मात्रै उनीहरु काममा खटिन्छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर इन्द्र नापितले अस्पताल क्रिस्चियन संस्थाबाट विधिवत रुपमा संचालन भएकोले प्रार्थना गर्नु स्वाभाविक रहेको बताउनुहुन्छ ।

उनले भने–‘यो क्रिस्चियन संस्था हो । क्रिस्चियन संस्था नै भनेर दर्ता भएको छ । त्यसकारण अस्पतालमा प्रार्थना र पुस्तक हुनु स्वाभाविक नै भयो । तर हामीले धर्म प्रचार गरेको छैन ।’

मुलुकी अपराध (संहिता) को दफा १५८ मा प्रलोभन देखाई कसैले कुनै जात, जाति वा सम्प्रयादमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने गरी धर्म परिवर्तन गराउन नहुने उल्लेख गरिएको छ भने यसो गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिबाना हुने प्रावधान छ ।

 

(आजको नेपाल समाचार पत्र दैनिकबाट)

Last modified on 2019-06-11 14:26:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts