तीन वर्षदेखि रोकियो स्वास्थ्य कर कोषको रकम वितरण, १४ अर्ब उठ्दा ४० करोड विनियोजन



Download our app to get more features

काठमाडौं, १ असार । सरकारले तीन वर्षदेखि स्वास्थ्य कर कोषको रकम वितरण गर्न सकेको छैन । सुर्तीजन्य पदार्थमा लगाएको करबाट उठेको रकमको २५ प्रतिशत स्वास्थ्य कर कोषमा जम्मा हुनुपर्छ । जम्मा भएको सो रकमको केही प्रतिशत सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिको विषयमा अभियान चलाएका सामाजिक संस्थाहरूलाई दिने प्रावधान छ । तर, यस वर्ष पनि रकम वितरण प्रक्रिया अघि बढेको छैन ।

१४ अर्ब उठ्यो, ४० करोड विनियोजन
सुर्तीजन्य पदार्थमा लगाएको करबाट स्वास्थ्य कर कोषमा अहिलेसम्म १४ अर्ब जम्मा भएको छ । जसमध्ये अर्थ ले स्वास्थ्य मन्त्रालयका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष अर्थले ५० करोड रुपैयाँ दिएको थियो । मन्त्रालयले यस वर्ष पाएको ४० करोडबाटै सामाजिक संघसंस्थालाई चार करोड वितरण गर्ने तयारी गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आएसँगै अगाडि बढेको प्रक्रिया अन्तिम चरणमा रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार यस वर्ष वितरण गर्ने भनिएको स्वास्थ्य कर कोषको रकम अहिलेसम्म वितरण गर्ने निर्णय भएको छैन । 

स्वास्थ्य मन्त्रालयले समयमै रकम बाँड्न नसकेका कारण अर्थ मन्त्रालयले क्रमशः स्वास्थ्य कर कोषको रकम घटाउँदै लगेको छ । असारभित्र सबै ‘रकम लगेर काम गरिसक्नुपर्नेमा अहिलेसम्म वितरण नै भएन,’ स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्पकरराज नेपालले भने । 

प्रस्ताव माग्दै रोक्दै 
विगत तीन वर्षदेखि स्वास्थ्य कर कोषको रकम वितरणमा समस्या देखिँदै आएको छ । यसअघिका स्वास्थ्यमन्त्री र सचिवहरूले आफू अनुकूलका संस्थालाई वितरण गर्ने गरेकाले पनि विवादमा पर्ने गरेको छ । 

स्वास्थ्य मन्त्रालयले यो वर्ष प्रस्ताव माग गरेकोमा एक सय ४८ संस्थाले आवेदन दिएका थिए, त्यसमा ४८ संघसंस्था मात्रै छानिएका थिए । तर, जेठ महिना सकिँदा पनि मन्त्रालयले रकम वितरणको निर्णय गर्न सकेको छैन ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2019-06-16 14:46:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts