सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन, सम्झौता सकिनै लाग्यो निर्माण कार्य अलपत्र



Download our app to get more features

काठमाडौं, ५ असार । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज प्रांगणमा ६ वर्षदेखि निर्माण भइरहेको उच्च प्रविधिसहितको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको भवन निर्माण कार्य अलपत्र परेको छ । स्टिमेटभन्दा बढी लागत लाग्ने देखिएपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले चासो नदेखाउँदा केन्द्रको भवन निर्माण कार्य ६ महिनादेखि अलपत्र परेको हो । जब कि, केन्द्रको ठेक्का सम्झौता यही असार मसान्तमा सकिँदै छ ।

२०६५/०६६ को वजेट वक्तव्यमा पहिलोपटक सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको भवन निर्माण गर्ने भन्दै बजेट विनियोजन भएको थियो । प्रस्तावनामा स्तरीय क्यान्सर उपचार सेवा र अनुसन्धानमूलक शैक्षिक प्रतिष्ठान बनाउने उद्देश्य छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ६ मंसिर २०६८ मा सो केन्द्रको शिलान्यास गरेका थिए । २०६७ सालमा भवन विभागले लागत स्टिमेट तयार गरेको थियो । नीतिगत निर्णयमा ढिलाइ र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले जिम्मेवारी नलिँदा प्रतिष्ठान निर्माण कार्य रोकिएको हो । ५५ करोड ७९ लाख ८३ हजार ३ सय ६५ रुपैयाँ लागत अनुमान रहेको प्रतिष्ठानको उद्देश्य क्यान्सर रोगबाट प्रभावित भएकालाई गुणस्तरीय सेवा प्रवाह गर्ने छ । तर, निर्माण कार्यले गति नलिँदा क्यान्सरपीडित मारमा परेका छन् ।

सम्झौताअनुसार २०६५÷०६६ बाट आयोजना सुरु भएको सो भवन २८ मंसिर २०७१ मा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने थियो । निर्माण व्यवसायीहरुले ३४ करोड रुपैयाँ भुक्तानी लिइसकेका छन् । आवश्यक नाप नक्सा र ड्रइङ डिजाइन सम्बन्धित पक्षबाट समयमै उपलब्ध नहुँदा पनि निर्माण कार्यले गति लिन नसकेको हो ।

अहिलेसम्म भवनको प्रमुख संरचना, मार्बल तथा टायल्सको काम ६५ प्रतिशत सम्पन्न भएको छ । यस्तै, डिप बोरिङको पनि काम सम्पन्न भएको छ । प्लम्बिङको काम अझैं बाँकी रहेको र विगत सात महिनादेखि निर्माण कार्यहरु ठप्प छ ।

आठतले सो भवन प्रविधिमैत्रीसहितको हुने भन्दै भवन बनाउन ठेकेदार कम्पनीसँग ५५ करोड ५१ लाख २८ हजार ४ सय ५० रुपैयाँमा सम्झौता भएको थियो । तर, आर्थिक वर्ष २०७५/०७६ सम्म सरकारले ७१ करोड निकासा गरिसकेको छ । भवन निर्माण कार्य अलपत्र परेको भन्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई ध्यानाकर्षण गराइएको नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य कमल रानाभाटले बताए । उनले भने, ‘पटक–पटक म्याद थप भएको छ । निर्माण सम्पन्न हुने टुंगो छैन ।’

भवन निर्माण सम्पन्न गर्न अहिलेसम्म म्याद थप र भेरियसन स्वीकृत नभएको त्रिवि शिक्षण अस्पताल योजना तथा निर्माण शाखाका प्रमुख दीपक तिवारीले बताए ।

 

(आजको राजधानी दैनिकबाट)

Last modified on 2019-06-20 12:58:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts