वीर अस्पतालको सीटी स्क्यान उपकरण राख्ने कोठा मापदण्डविपरित



Download our app to get more features

काठमाडौं, ८ असार । वीर अस्पतालको सीटी स्क्यान उपकरण राख्ने कोठा मापदण्डविपरीत निर्माण भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले हालै वीरमा गरेको ‘रेडियसन मोनिटरिङ रिपोर्ट’ ले यस्तो नतिजा देखाएको हो । 

नास्टले सीटी स्क्यान उपकरण राख्ने कोठाको ढोका, बिरामीले पालो कुर्ने ठाउँ, कुरुवा बस्ने ठाउँ र विकिरण छेक्ने सिसाको बारको अध्ययन गर्दा यी सबैमा आवश्यकताभन्दा विकिरण छरिएको रिपोर्टमा उल्लेख छ ।

यस्ता क्षेत्रलाई पुनर्निर्माण गरेर भए पनि विकिरणमुक्त (प्रोटेक्सन रिक्वायर्ड) बनाउन नास्टले अस्पताललाई सुझावसमेत दिएको छ ।

कमसल खालका सामग्री जडान गरी निर्माण गरेको कोठाको संरचना विकिरण रोक्ने खालको छैन, जसको प्रत्यक्ष असर बिरामी, कुरुवा, उपकरणमा काम गर्ने डाक्टर, प्राविधिकलगायत अस्पताल आवतजावत गर्ने मानिसमा परिरहेको छ । विकिरण नियन्त्रण नहुँदा बिरामीले त बढी विकिरण खान्छन् नै कुरुवाले पनि उत्तिकै खाइरहेका हुन्छन् । उपकरणमा सक्रिय प्राविधिक पनि पटकपटक बिरामी पर्न थालेको सीटी स्क्यानमा कार्यरत एक प्राविधिकले बताए । उनले भने, ‘हामीलाई बढी नै टाउको दुख्ने, जाडो हुने भइरहेको थियो ।’

स्वास्थ्यमा समस्या देखिन थालेपछि उनीहरूले उपकरणको मोनिटरिङ गरिदिनुर्पयो भन्दै अस्पताल निर्देशकलाई निवेदन गर्दै आइरहेका थिए । (नास्टको रिर्पोट) ले कोठा मापदण्ड अनुसार नबनेको नतिजा देखाएपछि कर्मचारीले सीटी स्क्यान उपकरण राख्ने कोठामा काम गर्न मानेका छैनन् । कोठालाई विकिरणमुक्त नबनाएसम्म काम नगर्ने भनेर कर्मचारी हिँडेपछि सीटी स्क्यान सेवा ठप्प भएको निर्देशक डा. केदार सेञ्चुरीले बताए ।
उनले भने, ‘पहिले उपकरण नै बिग्रेर हैरान हुन्थ्यौं । अहिले कोठा नै जोखिमपूर्ण भयो ।’ अहिले अस्पतालको सीटी स्क्यान उपकरण कोठामा डाक्टर र कर्मचारी छिर्नै मान्दैनन् । जहाँबाट दैनिक ४० देखि ५० बिरामीले सेवा लिँदै आइरहेका थिए । कोठा मापदण्डविपरीत भएकै कारण अस्पतालमा दुई दिनदेखि सीटी स्क्यान सेवा बन्द छ । वीरमा सेवा बन्द भएपछि बिरामीले निजीबाट महँगो शुल्क तिरेर निजीबाट सेवा लिन बाध्य भइहेका छन् ।

रेडियोलजी विशेषज्ञका अनुसार सीटी स्क्यान उपकरणले फाल्ने हानिकारक विकिरणले मानव स्वास्थ्यमा गम्भीर खाले असर गर्छ । यसले छाला चिलाउने, गर्भ तुहिनेदेखि क्यान्सरसम्म गराउन सक्छ । यस्ता किरणले विशेषगरी रगतको क्यान्सर गराउँछ ।

वीरकै एक रेडियोलस्जिट भन्छन्, ‘यस्ता विकिरणको सम्पर्कमा आउने व्यक्तिलाई मात्रै असर गर्दैन, व्यक्तिको चौथौ पुस्तासम्मको व्यक्तिलाई क्यान्सर गराइदिन सक्छ ।’ गत पुसदेखि सञ्चालनमा आएको यो कोठा अस्पतालले ७० लाखमा निर्माण गरेर आठ करोडको उपकरण भित्र्याएको थियो । हानिकारक विकिरणयुक्त ठाउँबाटै हालसम्म १० हजारबिरामीले सीटी स्क्यान सेवा लिइसकेका छन् ।

मापदण्डविपरीत भनिएको कोठाको पुनर्निर्माण गर्न महँगो शुल्क र लामो समय लाग्ने बताउँदै निर्देशक सेञ्चरीले भने, ‘हामीले उपकरणलाई पुरानो सीटी स्क्यान राखिएको कोठामा इन्सटल गर्ने विकल्प पनि सोचेका छौं ।’

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-06-25 15:14:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts