सुत्केरीले ६ महिनादेखि पाएनन् भत्ता



Download our app to get more features

हुम्ला, १५ असार । यहाँका सुत्केरीले ६ महिनायता भत्ता पाएका छैनन् । सुत्केरी हुनेबित्तिकै सरकारले यातायात र नियमित गर्भ परीक्षण गरेबापत दिने गरेको भत्ता र न्यानो झोला नपाएका हुन् । 

हुम्लामा सुरक्षित सुत्केरी गराउन जिल्ला अस्पतालका साथै २६ बर्थिङ सेन्टर सञ्चालनमा छन् । जिल्ला अस्पतालमा चालु आर्थिक वर्षमा ४ सय ६१ महिला सुत्केरी भएका छन् । माघयता सुत्केरी भएका २ सय ५० महिलाले भत्ता पाएका छैनन् ।

अस्पताल प्रमुख डा. दुर्गा सुर्खालीले प्रदेश सरकारले बजेट नपठाउँदा भत्ता दिन नसकिएको बताए । उनका अनुसार सुत्केरी भत्ताका लागि २५ लाख आवश्यक पर्नेमा हाल ६ लाख रुपैयाँमात्र आएको छ । ‘भत्ता रकमका लागि प्रदेशदेखि संघीय सरकारका निकायमा बारम्बार अनुरोध गरिरहेका छौं,’ उनले भने ।

सरकारले सुत्केरीलाई बाटोखर्चबापत ३ हजार रुपैयाँ र नियमित गर्भ परीक्षण गरेबापत थप ८ सय रुपैयाँ दिने गर्छ । जिल्ला अस्पतालमा सुत्केरी हुने करिब आधाले भत्ता पाए पनि गाउँका बर्थिङ सेन्टरमा सुत्केरी भएका कति महिलाले पाए भन्ने तथ्यांक पाउन मुस्किल छ ।

जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स मनमाया बस्नेतले यकिन विवरण नआए पनि प्राप्त बजेटबाट आंशिक रूपमा भत्ता वितरण गरिएको बताइन् । सरकारले बजेट नपठाउँदा सुत्केरी र उनीहरूका आफन्तले स्वास्थ्यकर्मीमाथि अनेकखाले आरोप लगाउने गरेका उनको भनाइ छ । सरकारले भत्ता नदिए पनि नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या भनेअपेक्षित रूपमा बढिरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

कतिपय महिलालाई सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा र्पुयाइएको छ । चालु आर्थिक वर्षमा हुम्लाबाट मात्र करिब दुई दर्जन सुत्केरीलाई उद्धार गरी सुर्खेत र्पुयाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र कतिपय गाउँपालिकाले आफ्नो बजेटबाट सुत्केरी महिलाको उद्धार गर्ने गरेको पब्लिक हेल्थकी नर्स बस्नेतले बताइन् ।

 

(आजको कान्तिपुर दैनिकबाट)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts