बारबर्दियामा २९ सयमा सिकलसेल एनिमिया, थारूबाहेकका समुदायमा पनि देखिन सक्ने सम्भावना



Download our app to get more features

काठमाडौं, १५ असार । बर्दियाको बारबर्दिया नगरपालिकामा थारू समुदायका दुई हजार नौ सय व्यक्तिमा सिकलसेल एनिमियाको संक्रमण पुष्टि भएको छ । २५ हजारको नमुना संकलन गर्दा दुई हजार नौ सयमा सिकलसेल एनिमिया पुष्टि भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए । परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानमा यस्तो तथ्यांक आएको उनले बताए । 

नेपालमा थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो । रगतको कोषिकामा हुने क्रोमोजोम र जिनमा खराबी आए यो रोग लाग्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुुगत रोग हो । डा. झाका अनुसार आमाबाबु दुवैमा यो रोग भए सन्तानमा पनि सर्छ । पछिल्लो अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । 

एक वर्षदेखि ३९ वर्ष उमेर समूहमा यसको परीक्षण गरिएको थियो । सबै नमुना वीर अस्पतालमा परीक्षण गरिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशनमा अनुसन्धान गरेको परिषद्ले एक हप्ताभित्र रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । 

सिकलसेल एनिमियाका लक्षण
सहनै नसक्ने गरी शरीरका अंग दुख्नु, कलेजो ठूलो हुनु, रगतको कोषिका जहाँ छ त्यहीँ रोग लाग्नु, वाकवाक लाग्नु, जन्डिस हुनु, अत्यधिक ज्वरो र झाडापखाला हुनु, पक्षघात हुनु, मुटुको समस्या र रक्तअल्पता

निर्मूल हुँदैन, नियन्त्रण मात्रै सम्भव 
थारूबाहेक समुदायमा पनि देखिन सक्छ

सिकलसेल एनिमिया वंशाणुगत रोग भएकाले उपचारका माध्यमबाट निर्मूल पार्न सकिँदैन । यो रोग नियन्त्रण गर्न मात्रै सकिने डा. नीलम ठाकुरले बताइन् । सरकारले यो रोगका बिरामीलाई एक लाखको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ । रोगको परीक्षण विभिन्न अस्पतालमा हुने गरे पनि उपचारमा सुविधाको व्यवस्था वीर अस्पतालमा मात्रै गरेको छ । 

हालसम्म थारू समुदायमा सिकलसेल एनिमिया देखिएको छ । तर, वीर अस्पतालकी वंशाणुगत रोगविशेषज्ञ डा. नीलम ठाकुरले थारूबाहेक समुदायका व्यक्तिमा पनि देखा पर्न सक्ने बताइन् । ‘थारूले थारूसँग नै विवाह गर्छन् । यसकारण बाबुआमा नै संक्रमितबाट जन्मिने बच्चामा रोग देखिन्छ,’ उनले भनिन्, ‘उनीहरू स्वास्थ्यबारे ध्यान दिँदैनन् । बच्चाहरू बिरामी हुन्छन्, तर के रोग लागेको भन्नेबारे जानकारी राख्दैनन् । यसकारण मृत्युदर बढी हुन्छ ।’

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2019-06-30 13:18:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts