प्रदेश २ मा सर्पदंशको बिगबिगी, एक महिनामा १५ जनाको मृत्यु



Download our app to get more features

प्रदेश २, १३ साउन । केही दिनअघिको डुबानसँगै सर्लाही, सप्तरी, रौतहट र मोरङमा सर्पले डसेर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । अरू थुप्रै सिकिस्त छन् । एक महिनामा चार जिल्लामा चार सयभन्दा बढी सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । 

सर्लाहीको बरहथवा–११ हिरापुरमा शनिबार मात्र एक बालिकाको सर्पले डसेर मृत्यु भयो । श्रीचन महतोकी ८ वर्षीया छोरी सृजना कुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । उनलाई खेतमा घाँस काट्न गएका बेला सर्पले डसेको थियो । बेहोस भएकी उनलाई घरमा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको आफन्तले बताए ।

त्यस्तै मलंगवा नगरपालिका–५ भाडसरकी ३९ वर्षीया जनारती पण्डितलाई घरमा भुस निकाल्ने क्रममा सर्पले डसेको छ । उनको गम्भीर अवस्थामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गर्मीसँगै जिल्लामा सर्पदंशका बिरामी बढिरहेको नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ । दैनिक दर्जनभन्दा बढी बिरामी आइरहेको केन्द्रका व्यवस्थापक बोधराज काफ्लेले बताए । साताअघि मात्र घरमै खेलिरहेका रामनगर गाउँपालिका खैर्वाका १० वर्षिय चन्दन साहलाई पनि सर्पले डस्यो । उनलाई उपचारका लागि रौतहट लैजाने क्रममा बाटोमै ज्यान गयो ।

असार अन्तिम साता हरिवन नगरपालिकाका पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदालाई सर्पले डसेपछि अस्पताल भर्ना गरिएको थियो । उनको केही घण्टामै मृत्यु भयो । आक्रोशित आफन्तले अस्पताल तोडफोड गरे । आईसीयू, भेन्टिलेटरलगायत उपकरणसहित झ्याल र ढोकामा क्षति पुगेको छ । आवश्यक उपकरण नभएको केन्द्रमा अहिले प्राथमिक उपचार मात्र भइरहेको छ ।

मध्य असारमै ईश्वरपुर–२, कलिन्जोर घारीबथानमा विषालु सर्पले डसेर सञ्जय दासकी चार वर्षकी छोरी लक्ष्मीले ज्यान गुमाइन् । घरमै सर्पले डसेकी उनले फिँज काड्न थालेपछि मात्रै आफन्तले थाहा पाएका थिए । असार दोस्रो साता कविलासी नगरपालिका–२ पिपरियाका विजय मण्डलले सर्पले डसेर ज्यान गुमाए । कौडेना गाउँपलिका, सुकचैनास्थित ससुरालीमा सुतेका उनलाई विषालु सर्पले डसेको थियो । उनी बिहान मृत अवस्थामा फेला परेका थिए ।

असारको सुरुमै घरमा सुतिरहेका बेला सर्पले डसेर मलंगवा–८ का २९ वर्षीय कनहाई साहले ज्यान गुमाए । राति सर्पले डसेपछि परिवार सदस्यले उनलाई गाउँकै झाँक्रीकोमा र्पुयाए । होस नआएपछि शुक्रबार बिहान मात्रै उनलाई जिल्ला अस्पताल र्पुयाइएको थियो । तर चिकित्सकले बिरामीको मृत्यु भइसकेको घोषणा गरिदिए । सप्तरीमा पनि दैनिक ७ देखि १२ जनासम्म सर्पदंशका बिरामी अस्पताल पुग्ने गरेका छन् ।

साउन पहिलो साता मात्र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ४० जना भर्ना भएका छन् । सर्पले डसेर दुई बालकले ज्यान गुमाएका छन् । खड्क नगरपालिका–७ कल्याणपुरमा असार १७ देखि भीम दल गणद्वारा सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा साउन १ देखि ९ सम्म १६ जनाले सेवा पाएका छन् । रौतहटमा एक महिनामा पाँच व्यक्तिको मृत्यु भएको छ । गौर अस्पतालका डा. कृष्ण साहले सर्पले डसेका दैनिक ८–९ बिरामी आउने गरेको जनाए ।

त्यसै गरी चन्द्रनिगाहपुर अस्पतालमा दैनिक ६–७ बिरामी पुग्ने गरेका छन् । मोरङमा दुई साता यता सर्पदंशले चार जनाको मृत्यु भएको छ । २ सयभन्दा बढी पीडित छन् । विराटनगरस्थित कोसी अस्पतालमा दैनिक २० जनासम्म बिरामी आउने गरेका छन् । इमर्जेन्सी विभागका रघुनन्द अधिकारीका अनुसार डुबानमा परेका विराटनगर महानगरसहित विभिन्न गाउँबाट सर्पदंशका बिरामी आइरहेका छन् ।

सर्पले डसेकालाई तत्काल अस्पताल लैजानुपर्ने भए पनि चेतनाको कमी र अन्धविश्वासले गर्दा अझै पनि धामीझाँक्रीकहाँ जाने चलन छ । गर्मी र बर्खाका बेला घरवरिपरिका झाडी हटाउन, कोठा सफा राख्न, झ्यालमा जाली लगाउन, सुत्दा अनिवार्य झुल प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-07-29 14:31:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts