भेरी प्रादेशिक अस्पतालमा सुरु गरिएको मुटुरोग उपचार सेवा बन्द हुने अवस्थामा

करारमा कार्यरत कर्मचारीलाई साउनबाट तलब खुवाउन नसक्ने भन्दै अस्पताल प्रशासनले बुुझायो चिट्ठी



Download our app to get more features

बाँके, १४ साउन । चिकित्सक सरुवा र बजेट अभावले दुई वर्षअघि भेरी प्रादेशिक अस्पतालमा सुरु गरिएको मुटुरोग उपचार सेवा बन्द हुने अवस्थामा पुगेको छ । यहाँ कार्यरत मुटुरोग विशेषज्ञ कृष्ण अधिकारीको बढुवासँगै उनी वीर अस्पतालमा सरुवा भएका छन् । उनको स्थानमा सरकारले कसैलाई पठाएको छैन । करारमा कार्यरत कर्मचारीलाई साउनबाट तलब खुवाउन नसक्ने भन्दै अस्पताल प्रशासनले चिठी बुझाएको छ । 

मुटुरोग उपचारका लागि अस्पतालमा ०७४ असारमा क्याथल्याब सेवा सुरु गरिएको थियो । उक्त सेवा बजेट र जनशक्ति अभावले संकटमा परेको हो । ६ करोड ५० लाख रुपैयाँ लगानीमा क्याथल्याब जडान गरिएको थियो । भेरी अस्पतालमा नवौं तहका एक जना मात्र मुटुरोग विशेषज्ञ चिकित्सकको दरबन्दी छ । अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स र कार्यालय सहयोगी गरेर १६ जना कर्मचारी करारमा राखेको थियो ।

कर्मचारीका लागि तलब भत्ता र अत्यावश्यक सामग्री खरिद गर्न वार्षिक १ करोड ५० लाख रुपैयाँ आवश्यक छ । सरकारले बजेट निकासा नगर्दा चिकित्सक र स्वास्थ्यकर्मीले ५/६ महिनासम्म तलब नपाउने गरेका छन् । अत्यावश्यक सामग्री समेत खरिद गर्न नसक्दा मुटुरोगको उपचार सेवा प्रभावित हुँदै आएको छ ।

संवेदनशील रोगको उपचार सेवामा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स स्वास्थ्य मन्त्रालय तथा अस्पताल व्यवस्थापनको लापरबाहीका कारण तनावपूर्ण अवस्थामा काम गरिरहेको डा. अधिकारीले बताए । अस्पतालले एन्जियोप्लास्टी, एन्जियोग्राफी, अस्थायी पेसमेकर राख्ने सेवा सञ्चालन दिँदै आएको छ ।

अहिलेसम्म १ सय जनाभन्दा बढीको एन्जियोग्राफी, १८ जना बिरामीको एन्जियोप्लास्टी तथा ८ जना बिरामीमा अस्थायी पेसमेकर राखेर उपचार गरिसकेको अस्पतालले जनाएको छ । भेरी अस्पतालले काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले लिने बराबरकै शुल्क लिएर बिरामीलाई मुटुरोगको उपचार सेवा प्रदान गर्दै आएको छ ।

नयाँ आर्थिक वर्षका लागि मुटुरोग उपचार सेवा सञ्चालनका लागि बजेट आउने यकिन नहुँदा ०७६ साउनदेखि तलब भत्ता दिन नसक्ने जनाउँदै अस्पतालले मुटुरोग उपचार सेवाका लागि करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्स गरी १६ जनालाई पत्र दिएको हो । बजेट र जनशक्ति अभावमा क्याथल्याब सेवालाई सञ्चालनमा ल्याउन समस्या भएको भेरी अस्पतालका प्रमुख डा. रूपानन्द अधिकारीले बताए । अस्पतालमा मुटुरोगसँग सम्बन्धित दैनिक ४० जना बिरामी उपचारका लागि आउनेगरेका छन् ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-07-30 15:41:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts