रुचि इन्जिनियरिङ, तर बने डाक्टर: डा. आरपी चौधरी



Download our app to get more features

काठमाडौं, १८ साउन । दृढ इच्छाशक्ति, मिहिनेत, लगनशीलता र धैर्यले जस्तोसुकै कठिन लक्ष्य पनि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् प्रा.डा. आरपी चौधरी । ०२३ मा धनुषामा सामान्य परिवारमा जन्मिएका प्रा.डा. चौधरीले चिकित्सक बन्न निकै चुनौती व्यहोर्नुपर्यो ।

सामान्य किसान परिवारका प्रा.डा. चौधरी विद्यालय तहसम्मको अध्ययन गाउँकै सरकारी विद्यालयबाट गरे ।

विद्यालय तहको पढाइलाई प्रा.डा. चौधरी यसरी स्मरण गर्छन्, ‘घरवरिपरि विद्यालय थिएन ।

घरदेखि ६ किलोमिटर टाढाको विद्यालय जाँदा बीचमा खोला तर्नुपर्थ्यो। पुल थिएन, बगाउने हो कि भन्ने त्रास सधैँ हुन्थ्यो । डर र त्रासमै कक्षा १० सम्म पढियो ।’ यस्तो वातावरणमा पनि उनी कक्षामा सधैँ प्रथम हुन्थे ।

सोही कारण उनले अभिभावक, विद्यालय र समाजको अपेक्षा पनि पूरा गर्नु थियो । 
प्रा.डा. चौधरीले ०४० मा एसएलसी सकेका हुन् भने ०४३ मा आइएस्सी ।

उनको चाहना भने इन्जिनियर बन्ने थियो । तर, परिवारमा कोही पनि डाक्टर नभएकाले बुबाको इच्छा छोरो डाक्टर बनोस् भन्ने थियो ।

बुबाको इच्छाअनुसार नै प्रा.डा. चौधरी ०४६ मा भारतको आरजीकार मेडिकल कलेज एन्ड हस्पिटल कोलकातामा एमबिबिएस अध्ययनका लागि भर्ना भए ।

एमबिबिएस गर्दादेखि नै शल्य चिकित्सक बन्ने उनमा इच्छा थियो । उनी एमएस गर्ने नेपालको पहिलो बाल शल्य चिकित्सक हुन् ।

उनले बंगलादेशको ढाकाबाट बाल शल्य चिकित्सकमा एमएस गरेका हुन् । 

समाज सेवा, खेलकुद र संगीतमा रुचि भएका प्रा.डा. चौधरीले २३ वर्ष सरकारी चिकित्सकका रूपमा काम गरे ।

अवकाशपछि हाल ईशान महिला तथा बाल अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पतालमा काम गरिरहेका छन् । प्रा.डा. चौधरी सुडी समाजलगायत विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन् ।

हाम्रो डाक्टर म्यागेजिनको डाक्टर फेस

Last modified on 2019-08-04 17:03:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts