फार्मेसी तोकेर औषधि लेख्छन् सरकारी अस्पतालकै डाक्टर

अस्पतालको फार्मेसीमा औषधि हुँदाहुँदै बारिहबाट औषधि किन्छन् बिरामी



Download our app to get more features

काठमाडौं, २२ साउन । नेपाल मेडिकल काउन्सिलको आचारसंहिताविपरीत सरकारी चिकित्सकले फार्मेसी तोकेर औषधि प्रेस्क्रिप्सन गर्ने गरेका छन् । सरकारी अस्पतालको फार्मेसीमा औषधि हुँदाहुँदै चिकित्सकले बिरामीलाई बाहिरका निजी फार्मेसीबाट औषधि किन्न लगाउने गरेका हुन् ।

चिकित्सकले फार्मेसी तोकेर बाहिर पठाउँदा बिरामी अस्पतालमै उपलब्ध सस्तो औषधि पाउनबाट वञ्चित भइरहेका छन् । अस्पताल परिसरमै अनिवार्य फार्मेसी हुनुपर्ने नियमको उद्देश्य बिरामीले बाहिर महँगोमा औषधि किन्नु नपरोस् भन्ने हो । अस्पताल परिसरमा फार्मेसी हुँदाहुँदै पनि चिकित्सकले औषधि खरिदका लागि बाहिर पठाउने अभ्यास रोकिएको छैन । नेपाल मेडिकल काउन्सिलको आचारसंहिता समितिका अध्यक्ष डा. ढुण्डीराज पौडेलले फार्मेसीबाट कमिसन पाउने लोभमा चिकित्सकले बाहिरका फार्मेसीमा पठाउने प्रवृत्ति रहेको बताए ।

‘फार्मेसी तोकेर बाहिर पठाउनु दण्डनीय हो,’ उनले भने, ‘डाक्टरले औषधि कम्पनीसमेत तोक्न पाउँदैनन् ।’ चिकित्सकहरूले नगद, विदेश भ्रमणलगायत लेनदेनको लालचमा परेर निजी फार्मेसीमा बिरामीलाई पठाउने गरेको डा. पौडेलले बताए । बिरामी पक्षले काउन्सिलमा उजुरी दिए चिकित्सकमाथि कारबाही हुने व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकेको छैन ।

काउन्सिलमा यस्ता उजुरी नपरेको डा. पौडेलले बताए । ‘उजुरीमाथि छानबिन गर्दा डाक्टरको गल्ती देखिए बढुवाका साथै विदेश जानसम्म रोक लगाउन सकिन्छ । बिरामीमा यससम्बन्धी चेतना नभएर पनि होला, उजुरी पर्दैन’, उनले भने । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) का केही चिकित्सकले फार्मेसी तोकेर औषधि लेख्ने गरेको बिरामीगुनासो गर्छन् ।

फार्मेसी तोकिएको पुर्जा बोकेर उनीहरू सोधखोज गरिरहेका भेटिन्छन् । अस्पतालको फार्मेसी स्रोतले भन्यो, ‘हाम्रैमा भएको सामान्य औषधि पनि बिरामीलाई बाहिर किन्न पठाउँछन् । यसबारे अस्पताल प्रशासनलाई पनि केही मतलब छैन ।’ राजधानीका ठूला सरकारी अस्पताल वीर, प्रसूति गृह र कान्ति बाल अस्पतालमा पनि यस्तो अभ्यास देखिएको छ । वीर अस्पताल स्रोत भन्छ, ‘औषधि लिन आउने १० जनामध्ये ३ जनासँग फार्मेसी तोकिएको पुर्जा हुन्छ । हामीले प्रशासनमा गुनासो गरे पनि सुधार हुन सकेको छैन ।’

सरकारीमा सधैं औषधि अभाव
ढाडको समस्याका कारण ट्रमा सेन्टरमा उपचाररत एक महिलाले सोमबार अस्पतालको फार्मेसीमा भिटामिन ‘डी’ समेत पाइनन् । ट्रमाको फार्मेसीमा यसको अत्यधिक माग छ तर उपलब्ध नहुँदा बिरामी बाहिरको फार्मेसीबाट तेब्बर मूल्यमा किनेर खान्छन् ।

सरकारी फार्मेसीमा सामान्य औषधिका साथै अत्यावश्यक औषधिसमेत अभाव हुने गर्छ ।

कमिसनका लागि सरकारी फार्मेसीमा अस्पतालले नियतवश औषधि अभाव गराएर बाहिरको फार्मेसी पोस्ने गरेको पनि कतिपयले बताउने गरेका छन् । स्रोतले भन्यो, ‘आईसीयूमै चाहिने औषधि पनि अभाव भइरहेकोहुन्छ । स्टोरमा भए पनि फार्मेसीमा औषधि दिँदैनन् ।’

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-08-07 11:54:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts