विश्वको आँखामा तिलगंगा आँखा प्रतिष्ठान

नेपालको इन्ट्राअकुलर लेन्स विश्वभर फैलिँदै



Download our app to get more features

काठमाडौं, २१ भदौं । हेटौँडा पदमपोखरीका १३ वर्षीय रोशन थिङ जन्मेदेखि नै राम्ररी देख्न सक्दैनथे । बिस्तारै उनका आँखा झन् बिग्रँदै गयो । २ कक्षामा पुगेसँगै त उनको एउटा आँखाले देख्नै छाड्यो । एउटा आँखाले भने नजिकका वस्तु र अक्षर चिन्थे । पछिपछि त त्यो आँखाले पनि देख्न छाड्यो ।

आर्थिक अवस्था कमजोर भएका थिङको परिवारले तत्काल उपचार पनि गरेन । 

आँखा देख्न छोडेका करिब एक दशकपछि अर्थात् असारबाट भने थिङले फेरि पूर्ण रूपले देख्न थालेका छन् ।

सामुदायिक आँखा अस्पताल हेटौँडामा आयोजित तीनदिने आउटरिच माइक्रोसर्जिकल आई क्याम्पबाट बाहिरिँदा उनी संसार देख्ने भएका थिए । यो क्याम्पबाट उनी मात्रै होइनन् करिब ७० जना मोतियाबिन्दुका रोगीले आँखा देख्ने भएका थिए । 

एक दशकको बीचमा थिङले आँखाको ज्योति मात्रै गुमाएका थिएनन्, केही वर्षअघि आमा पनि गुमाएका थिए ।

सो क्याम्पमा उनी हजुरआमासँगै पुगेका थिए । दृष्टि पुनरागमनपछि थिङले क्याम्पमा प्रकट गरेको खुसी सामाजिक सञ्जालमा भइरलसमेत भएको छ । उनको आँखामा यसरी दृष्टि फर्काउने डा. सन्दुक रुइतको टिम थियो ।

जन्मैदेखि आँखामा समस्या भएकाले मोतियाबिन्दुको शल्यक्रियापछि थिङले आँखा देख्लान् भन्नेमा चिकित्सकहरूसमेत पूर्ण विश्वस्त थिएनन् । ‘सानै उमेरमा आँखाको ज्योति गुमेको हुँदा पनि ढुक्क हुने अवस्था थिएन,’ डा. रुइत भने, ‘थिङलाई संसार देख्ने बनाउनुपर्छ भन्नेमा भने दृढ थिएँ ।’

शल्यक्रियापछि जब डा. रुइतले थिङको आँखामा लगाएको पट्टी खोले, १५–२० सेकेन्डसम्म थिङले केही देखिनँ भन्ने जवाफ दिए । यस्तो जवाफले शल्यक्रिया गर्ने टिमसहित थिङको हजुरआमाको मुहारमा निराशा छायो । तर, त्यो निराशा केही सेडेन्ड मात्रै रह्यो । पट्टी खोलिएको २० सेकेन्डपछि थिङले ‘देखेँ...देखेँ...’ भने ।

बिस्तारै थिङले वरिपरिका मानिसलाई चिन्न थाले । सबैको मुहार खुसीले चम्किलो भयो । ‘थिङको व्यवहार त झनै हेर्नलायक थियो,’ डा. रुइतले भने । 
सधैँ हजुरआमाको आवाज सुनिरहेका थिङले शल्यक्रियापछि पहिलोपटक उनलाई नै अँगालो हाले र म्वाइँ खाए । डा. रुइत पनि थिङसँग अघिल्लो दिनदेखि नै बोलिरहेका हुँदा उनले डा. रुइतको आवाज पनि थाहा पाइसकेका थिए । उनलाई समेत थिङले अँगालो हाले, म्वाइँ खाए र केहीबेरसम्म अनुहार सुमसुमाइरहे । 

थिङ त एउटा उदाहरण मात्र हुन् । नेपालमा मात्रै नभएर संसारभरका कैयौँ दृष्टिविहीनलाई डा. रुइतले ज्योति फर्काइसकेका छन् । उनको यो महाअभियानमा सिंगो तिलगंगा आँखा अस्पतालको साथ र सहयोग छ । डा. रुइत यस प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् । जसले कैयौँ दृष्टिविहीनलाई ज्योति दिइसकेका छन् ।

उनको सेवा नेपालमा मात्र सीमित नरहेर विदेशमा समेत छरिएको छ । नेपाललाई विश्वमा चिनाउनेमध्येका एक हुन् डा. रुइत । गैरसरकारी अस्पतालका रूपमा रहेको तिलगंगा आँखा अस्पतालले सेवा सुरु गरेको २५ वर्ष पूरा भइसकेको छ । यो २५ वर्षमा अस्पताल विश्व स्वास्थ्य संगठनको समन्वयन केन्द्रका रूपमा स्थापित भइरहेको छ । 

यी विधामा तिलगंगालाई डब्लुएचओको मान्यता
तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समन्वयन केन्द्र घोषणा गरिएको छ ।

०५१ मा स्थापित तिलगंगाको २५औँ वार्षिकोत्सवका अवसरमा डब्लुएचओको मान्यता पाएको घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा तिलगंगा आँखा अस्पताललाई तीन विधामा डब्लुएचओको समन्वयन केन्द्रको घोषणा गरेको हो ।

जसअन्तर्गत आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात् आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धान छन् ।

आँखा स्वास्थ्य सेवा
अस्पतालले आँखा स्वास्थ्य सेवामा हालसम्म ६० लाखभन्दा बढीलाई सेवा दिइसकेको छ । अस्पतालले १६ जिल्लामा आई कम्युनिटी सेन्टर स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । 

शैक्षिक तथा तालिम अर्थात् आँखाको प्राविधिक जनशक्ति उत्पादन
अस्पतालले आँखासम्बन्धी प्राविधिक जनशक्ति पनि उत्पादन गर्दै आएको छ ।

अस्पतालले शैक्षिक र गैरशैक्षिक गरी दुई किसिमका जनशक्ति उत्पादन गर्ने गरेको अस्पतालका जनसम्पर्क उपनिर्देशक भगिरथ बानियाँले बताए । उनका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिटिइभिटीसँग मिलर विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसैगरी समय–समयमा तीन–चारमहिने तालिम र फेलोसिप पनि गराउँदै आएको छ । सन् २०१८ मा प्रतिष्ठानले एक हजार पाँच सय ३४ जनशक्ति उत्पादन गरिसकेको छ ।

अनुसन्धान
अस्पतालले समुदायअनुसार हुने आँखाका समस्यामा अध्ययन अनुसन्धान पनि गर्दै आएको छ । हालै अस्पतालले दोलखाका जिरेल समुदायमा देखापरेको आँखासम्बन्धी समस्याको अध्ययन सम्पन्न गरेको छ । यी तीनैवटा क्षेत्रमा अझै स्तरोन्नति गर्दै लैजाने डब्लुएचओले जनाएको छ । 


नेपालको इन्ट्राअकुलर लेन्स विश्वभर फैलिँदै
तिलगंगा आँखा प्रतिष्ठानमा उत्पादन हुने इन्ट्राअकुलर लेन्स नेपालमा भन्दा विदेशमा धेरै निर्यात हुँदै आएको छ ।

प्रतिष्ठानको ल्याबबाट उत्पादन हुने लेन्स नेपालमा ३० प्रतिशत खपत हुन्छ भने ७० प्रतिशत विदेशमा पुग्छ । सन् १९९५ बाट उत्पादन सुरु गरिएको यो लेन्स १९९६ को जनवरीबाट सार्कका सबै राष्ट्रमा पुगिसकेको थियो ।

बानियाँका अनुसार हालसम्म ५१ लाख लेन्स उत्पादन भइसकेका छन् । वार्षिक करिब साढे पाँच लाख लेन्स उत्पादन हुने गरेको छ । जुन लेन्स सबैभन्दा बढी चीन, पाकिस्तान र थाइल्यान्ड निर्यात हुन्छ । 
प्रतिष्ठानको ल्याबबाट दुई किसिमका लेन्स उत्पादन हुने गर्छन् । पहिलो एमपिपिए (कडा लेन्स) ।

जसको मूल्य नेपालमा साढे दुईदेखि तीन डलर पर्छ भने विदेशमा साढे तीनदेखि चार डलरसम्म पर्ने बानियाँले बताए । त्यसैगरी अर्काे लेन्स फोल्डेबल लेन्स हो । यो लेन्स एमपिपिए लेन्सभन्दा बढी आधुनिक छ । यसलाई सफ्ट लेन्स पनि भनिन्छ ।

यसको मूल्य आठदेखि १० डलर पर्छ । लेन्स उत्पादनमा अस्पतालसहित फेड हेलोज फाउन्डेसन र हिमालयन क्याटन आबद्ध छन् । 

अस्पतालले सन् १९९६ देखि २०१८ सम्ममा ४७ लाख दुई हजार चार सय ५३ वटा पिएमएमए लेन्स उत्पादन गरी ४५ लाख ५४ हजार नौ सय १७ वटा लेन्स बजार पठाएको छ । यस्तै नौ लाख ३३ हजार तीन सय ३६ वटा फोल्डेबल लेन्स उत्पादन गरी सात लाख ५५ हजार एक सय ६५ वटा लेन्स बिक्री गरिसकेको छ ।

यी देशमा हुन्छन् लेन्स निर्यात 
प्रतिष्ठानले उत्पादन गरेको लेन्स अस्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, म्यानमार, अफगानिस्तान, कम्बोडिया, भियतनाम, पाकिस्तानलगायत देशमा निर्यात हुने गरेको छ ।

लेन्सलाई आकार दिने, दृष्टि मिलाउने, संक्रमणमुक्त बनाउने, पोलिसिङ गर्ने प्रक्रिया पूरा गरी एउटा पूर्ण लेन्स तयार हुन एक महिना लाग्छ । यी लेन्सको अवधि पाँच वर्षको हुन्छ । 

हालसम्म ७७ हजारले गरे आँखादान 
मृत्युपछि आँखादान गर्ने इच्छा राखेर हस्ताक्षर गर्नेको संख्या करिब ७७ हजार पुगेको आँखा बैंकको तथ्यांकले देखाएको छ । तर, इच्छापत्रमा हस्ताक्षर गर्ने सबैको आँखा निकाल्न नसकिने बैंकका प्रबन्धक शंखनारायण त्वाएना बताउँछन् ।

‘आँखादान गर्छु भनेर हस्ताक्षर दिने कतिपय दुर्गम स्थानमा हुनुहुन्छ भने कतिपयको कुन अवस्थामा मृत्यु भएको हुन्छ, जानकारी हामीसम्म आउँदैन,’ उनले भने । 

आँखाको नानी प्रत्यारोपणबाट दृष्टिविहीनलाई पुनर्दृष्टि प्रदान गर्ने उद्देश्यले सन् १६ सेप्टेम्बर १९९४ मा नेपाल आँखा बैंक स्थापना भएको हो ।

आँखा बैंकका प्रबन्धक त्वाय्नाले २४ वर्षमा १० हजार ६ सयजनाले दृष्टि पाइसकेका छन् । बैंक स्थापनाको सुरुमा विदेशबाट आँखाको नानी झिकाएर सेवा प्रवाह गरेकोमा अहिले नेपाली दाताबाटै मासिक ६० वटासम्म नानी आँखा बैंकलाई प्राप्त हुने उनको भनाइ छ ।

यसरी प्राप्त भएका आँखाका नानी बैंकले १४ दिनसम्म सुरक्षित राख्ने गर्छ ।

इन्टरनेसनल फेडेरेसन अफ आई एन्ड टिस्यु बैंकको सहयोगमा गौशालास्थित तिलगंगा आँखा केन्द्रमा नेपाल आँखा बैंक स्थापना भएको हो । प्रबन्धक त्वाय्नाका अनुसार मृत्युपछि मात्रै नानी निकाल्न सकिन्छ । आँखादान भनेको आँखाको डल्लो नभई कर्निया मात्रै निकाल्ने हो । 

आँखाको नानी प्राप्त
बैंक स्थापना भएको पहिलो वर्ष जम्मा दुईवटा नानी प्राप्त भएको थियो भने सन् १९९५ मा चारवटा प्राप्त भएको थियो । यस्तै सन् १९९६ मा ३८ वटा आँखाको नानी प्राप्त भएका थिए । सन् २०१४ मा यो संख्या बढेर सात सय नौ पुगेको थियो ।

सन् २०१५ मा ६ सय एक, २०१६ मा सात सय ११, २०१७ सम्म आठ सय ६१ आँखाको नानी प्राप्त भएको आँखा बैंकले जनाएको छ । 

तथ्यांकअनुसार २०१८ मा हालसम्मकै बढी नानी संकलन भएको छ, सो वर्ष ११ सय ७८ नानी संकलन भएको हो ।

आँखा प्रत्यारोपण कति जनाले ?
२०१३ मा ५ सय ९ जना
२०१४ मा ५ सय ७६ जना
२०१५ मा ५ सय १७ जना
२०१६ मा ६ सय ६१ जना
२०१७ मा ७ सय ९१ जना
२०१८ मा १ हजार ५१ जना
प्रत्यारोपण ९६ प्रतिशत सफल भएको तथ्यांकले देखाउँछ । 

२४ वर्षमा १० हजार ६ सयमा दृष्टि
०५१ मा पहिलोपटक नेपालमा आँखाको नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो ।

पहिलोपटक नेपालीबाटै आँखा निकालेर प्रत्यारोपण गरेको २४ वर्षमा १० हजार ६ सयजना दृष्टिविहीनले दृष्टि पाइसकेका छन् । नेपालमा आँखाको नानी निकालेर प्रत्यारोपण गर्नुअघि विदेशबाट दानस्वरूप उपलब्ध नानी प्रत्यारोपण गरिन्थ्यो ।

प्रतिष्ठानको आँखा बैंकको तथ्यांकअनुसार बाहिरबाट चार सय ७३ वटा आँखाका नानी ल्याइएको छ । 

मृत्यु भएको आठदेखि १० घन्टाभित्र आँखा झिकिसक्नुपर्ने हुन्छ । आँखा दान गर्नेजति सबै आँखा संकलनको पहुँचमा नहुने, केहीको मृत्यु भए पनि थाहा नपाउनेलगायत समस्याले संकलनमा चुनौती देखिएको बानियाँ बताउँछन् । 

दृष्टिविहीन हुने कारण 
अन्धोपनबारे गरिएको एक सर्वेक्षण प्रतिवेदनअनुसार प्रतिसयमा एक व्यक्ति दृष्टिविहीन छन् । सर्वेक्षणले दृष्टिविहीनको पहिलो कारण आँखामा हुने लेन्सको पारदर्शकत्वमा ह्रास वा कमीबाट हुने मोतीबिन्दुलाई देखाएको छ ।

यस्तै आँखाको नानीमा आउने खराबीका कारण हुने दृष्टिविहीन दोस्रोमा छ । आँखाको नानीमा फुलो परे त्यसको उपचारमा कुनै औषधिमुलो छैन । यसको एक मात्रै विकल्प आँखाको नानी फेर्नु हो ।

नानी प्रत्यारोपणपछि त्यस्ता व्यक्तिले फेरि देख्न सक्छन् । मेलापात, वनपाखा धाउँदा र अन्य काम गर्दा आँखामा ठूलो, सानो घाउ–चोटपटक लाग्न सक्छ ।

यसरी आँखामा लागेको चोटपटक समयमै उपचार नहुँदा आँखाको नानीमा फुलो बस्छ । यही कारण उक्त व्यक्ति पछि दृष्टिविहीन बन्न सक्छ । यसबाहेक आँखा पाक्नु, दादुरा, टाइफाइट, बिफर तथा कुपोषणलगायतले पनि आँखाको नानीमा फुलो पर्न सक्छ । नानीमा हुने खराबीका कारण दृष्टिविहीन हुनेमा प्रायः बच्चा र युवा बढी छन् ।

के हो आँखा प्रत्यारोपण 
आँखा फेरियो अथवा आँखाको प्रत्यारोपण गरियो भन्ने सुन्दा आँखाको डल्लो नै फेर्ने पो हो कि भन्ने पर्न सक्छ । तर, वास्तवमा आँखाको डल्लो फेर्ने नभई केवल आँखाको नानी मात्रै प्रत्यारोपण अथवा फेर्ने हो ।

यसलाई नै आँखा प्रत्यारोपण भनिन्छ । आँखाको बाहिरपट्टि रहेको पारदर्शी झिल्ली नै आँखाको नानी हो । फुलो पर्न गई दृष्टिविहीन भएकालाई दृष्टि प्रदान गर्दा उनीहरूको आँखाको नानीलाई झिकिन्छ र बदलामा दाताबाट प्राप्त सफा आँखाको नानी प्रत्यारोपण गरिन्छ । 

क–कसले गर्न सक्छन् आँखादान 
आँखादान जोसुकै व्यक्तिले गर्न सक्छ । तर, दाताको आँखा स्वस्थ हुनुपर्छ । जुनसुकै उमेर समूह तथा आँखाको पावर कम वा बढी भएका, चस्मा वा लेन्स प्रयोग गरेका सबैले आँखादान गर्न सक्ने बैंकका प्रबन्धक त्वाय्नाले बताए । 

आँखादान गर्नेमा प्रतिष्ठित व्यक्ति धेरै
साहित्यकार 
केदारमान व्यथित 
जगदीश घिमिरे 

नेता 
मनमोहन अधिकारी 
निर्मल लामा 
माधवकुमार नेपाल
झलनाथ खनाल
कीर्तिनिधि विष्ट
पूर्णकुमारी सुवेदी 
प्रदीप नेपाल

कलाकार
शान्ति मास्के
हरिवंश आचार्य
मदनकृष्ण श्रेष्ठ 
राजेश हमाल
करिश्मा मानन्धर

कहाँ–कहाँ हुन्छ आँखा संकलन
नेपालमा सबैभन्दा बढी नानी संकलन काठमाडौंमा भएको छ । प्रत्यारोपणको ८० प्रतिशत संकलन काठमाडौं उपत्यकामा भएको छ । काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, विद्युतीय शवदाहगृह र पशुपति आर्यघाटबाट आँखा संकलन हुने गरेको छ ।

काठमाडौंबाहिर भने मेची नेत्रालय, काँकडभिट्टा, मेची आँखा अस्पताल बिर्तामोड, लहान आँखा अस्पताल, विराटनगर आँखा अस्पताल, हेटौँडा आँखा अस्पताल, हिमालयन आँखा अस्पताल पोखरा, गेटा आँखा अस्पताल कैलालीमा संकलन हुने गरेको छ ।
 

Last modified on 2019-09-08 09:38:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts