वैदेशिक रोजगारमा जानेले पुनःश्रमस्वीकृति गर्दा स्वास्थ्य परीक्षण गर्नु नपर्ने



Download our app to get more features

काठमाडौं, ३१ भदौ । पुनःश्रमस्वीकृति गर्ने कामदारले स्वास्थ्य परीक्षण गर्नु नपर्ने भएको छ । 

दुई वर्षको करार अवधि सकेर बिदामा आएका कामदार पुनः त्यही रोजगारदातासँग काम गर्न इच्छुक भएमा वैदेशिक रोजगार विभागबाट पुनःश्रमस्वीकृति लिनु नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले पहिलो पटक श्रमस्वीकृतिको लागि मात्रै स्वास्थ्य परीक्षण अनिवार्य चाहिने स्पष्ट पारेको छ ।

बीमा नियमनकारी निकाय बीमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेखको लागि कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय तत्कालका लागि आइतबारदेखि स्थगित गरिएको विभागका महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिए ।

भुसालले बीमा गर्ने बेलामा मेडिकलको रिपोर्ट माग्ने कार्य स्थगित भइसकेको बताए । वैदेशिक रोजगार ऐन र नियमावलीले पुनः श्रमस्वीकृतिमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान उल्लेख गरेको छैन ।

दुई वर्षे पुनःश्रमस्वीकृतिमा जाने कामदारले एक वर्षको थप बीमा गर्नुपर्ने प्रावधान छ । पुनः श्रमस्वीकृति अवधी भने दुई वर्षको मात्रै हुन्छ ।

विभिन्न उमेर समूहका कामदारको बीमा शुल्क फरक छ । १८ देखि ३५ वर्ष उमेर समूह कामदारले ३९ सय २४ रुपैयाँ, ३६ देखि ५० वर्षकाले ५ हजार ३ सय ३० र ५१ देखि ६४ वर्षकाले ९ हजार ९ सय ७० रुपैयाँ बिामा शुल्क बुझाउनुपर्छ ।

स्वास्थ्य परीक्षणका लागि कतार र युएईको ४५ सय, साउदी, बहराइन र कुवेतको ७ हजार ५ सय रुपैयाँ र मलेसियाको ७ हजार रुपैयाँ तोकिएको छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-09-18 09:55:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts