भाइ टिका विशेष 

तिहारका मसला र फल दीर्घायुको प्रतीक



Download our app to get more features

तिहारमा अनिवार्य झैँ प्रयोग हुने फल र फूलहरू लामो समयसम्म नबिग्रने खालका हुन्छन्।

तिहार दीर्घायुको कामना गर्दै मनाइने पर्व भएकाले यो समयमा प्रयोग हुने समाग्रीहरू त्यस्तै किसिमको भएको वनस्पतिविद्हरू बताउँछन्।

तिहारमा नभइ नहुने फल कटुस, बिमिरो र ओखर एवम् फूल मखमली मानिन्छ।

तिहार मनाउनुको उद्देश्यसँग मेल खाने खालका फलफूलहरू नै यस चाडमा प्रयोग गरिने वनस्पतिविद् तीर्थमान श्रेष्ठको भनाइ छ।

उनी भन्छन्: "भाइटीका र म्हपूजा दुवैमा लामो आयुको कामना गरिन्छ। त्यही कारण यी पूजामा दीर्घायूको प्रतीक स्वरुप लामो समयसम्म नबिग्रिने फलहरू प्रयोग गरिन्छ।"

लामो आयु

"तिहारको समयमा कटुस, ‌ओखर, बयर र बिमिरो लगायतका फलहरू सहजै पाइन्छ। यी लामो समयसम्म बिग्रिँदैनन्, त्यही भएर यी लामो आयुका प्रतीक हुन्।"

काजु, बदाम र किसमिस पनि लामो समयसम्म नबिग्रिने भएकाले तिहारमा प्रयोग गरिने गरेको उनको भनाइ छ।

तिहारमा प्रयोग हुने यी फलहरूले स्वास्थ्यका लागि निकै लाभदायक भएकोले निरन्तर प्रयोग भइरहेको अर्का वनस्पतिविद् कमल मादेन बताउँछन्।

मादेन भन्छन्: "ओखर र कटुस धेरै पोषण भएका गुणकारी फल हुन्। ओखर मस्तिष्कका पनि निकै राम्रो मानिन्छ।"

"अर्को महत्वपूर्ण पक्ष भनेको यी फलहरू हाम्रै देशका विभिन्न स्थानमा सहजै पाइन्छ। त्यही कारण लामो समयदेखि यिनको प्रयोग भइरहेको छ।"

पोषणयुक्त मसला

दीर्घायुका लागि पोषणयुक्त खाना चाहिन्छ भन्ने सन्देश यसले दिने मादेन बताउँछन्।

लामो समय बाँच्नका लागि तनावरहित हुनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

त्यही कारण बिमिरो तिहारका लागी अनिवार्य फल बन्न पुगेको श्रेष्ठले बताए।

"बिमिरोको बोक्रामा एक प्रकारको तेल हुन्छ र मानिसलाई तनावमुक्त पार्न गरिने थेरपीमा यसको प्रयोग गरिएको पाइन्छ," श्रेष्ठ भन्छन्।

"बिमिरो कोठामा राख्दा पनि यसको बास्नाले सकारात्मक ऊर्जा दिन्छ।"


बीबीसी

 

Last modified on 2019-10-30 14:07:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts