चुनाव नजिकिएसँगै चिकित्सक संघमा सदस्यता लिने ह्वात्तै बढे, नेताले ल्याउँछन् खातका खात निवेदन !

प्रगतिशिल बढि सक्रिय 



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको अधिवेशन नजिकिँदै गर्दा डाक्टरहरुबीच राजनीति सरगर्मी बढेको छ । अधिवेशन नजिकिँदै गर्दा अन्य क्षेत्रमा झैं चिकित्सक संघमा पनि सदस्यता थपिने क्रम तीव्र भएको छ । सबैजसो पेशागत संघसंस्थाहरुमा अधिवेशनको समयमा सदस्यता ह्वात्तै थपिने चलन नेपालमा छ ।

नेपाल चिकित्सक संघमा भने यो पटक सदस्यता लिनेको संख्या ह्वात्तै थपिएको छ । अघिल्लो अधिवेशनसम्म ६ हजार ७२ जना रहेको नेपाल चिकित्सक संघमा यो पटकसम्म आउँदा सदस्य संख्या ८ हजार नाघेको छ । अघिल्ला चुनावहरुसम्म पाँचसयको हाराहारीमा सदस्य थपिन्थे यो पटक सदस्य संख्या ह्वात्तै बढेको संघका प्रमुख प्रशासकीय अधिकृत मिलनचन्द्र खनालले बताए । 'मंसिर १४ गतेसम्म नयाँ सदस्यता दिने समय छ । १० हजार सदस्य पुग्ने देखिएको छ ।' खनालले भने ।

यो पटक नेपाल चिकित्सक संघका आकर्षण बढेको पाइएको छ । अघिल्लो वर्ष आएको मुलुकी संहितामा उल्लेखित चिकित्सकको लापर्वाही सम्बन्धी दफामा चिकित्सकहरुले विमति राखेर आन्दोलन गरेसँगै यो पटक संघमा धेरै सामेल भएको हुनसक्ने संघको निर्वाचनका निम्ति प्रमुख निर्वाचन आयुक्त तोकिएका डा. बाबुराम मरासिनीले बताए । 'राणाकालको मुलुकी ऐनकै जस्तो बुँदा आजको समयमा पनि राखेपछि चिकित्सकहरु असन्तुष्ट छन् । त्यसका लागि सामुहिक नेतृत्व लिने भएकाले चिकित्सक संघमा रुची बढेको हुनसक्छ ।' मरासिनीले भने । उनले यो पटक झण्डै १० हजार मतदाता सदस्य पुग्ने अनुमान रहेको बताए ।

नेपाल चिकित्सक संघको राजनीतिमा खासै चासो नदिने चिकित्सकहरुलाई पनि चुनावको मुखमा नेताहरुले सदस्य बनाउनुलाई भोट बढाउन नेता डाक्टरहरुको सक्रियताका रुपमा पनि बुझिएको छ । नेताहरुले खातखातका सदस्यता निवेदन ल्याउने गरेको संघका कर्मचारीहरु बताउँछन् । 

प्रगतिशिल बढि सक्रिय 
नेपाल चिकित्सक संघको इतिहासमा एकपटक पनि नेतृत्व हत्याउन नसकेकेको बामपन्थी निकट प्रगतिशिल चिकित्सकहरुले पछिल्लो अवस्थामा केही सुधार गरेको छ । अघिल्लो कार्यकालमा कोषाध्यक्ष जित्न सफल प्रगतिशिल खेमा यो पटक प्यानलनै हत्याउने दाउमा सक्रिय छ । चिकित्सक संघमा निर्वाचन केन्द्रित गतिविधिमा पनि प्रगतिशिल नै बढि देखिएको संघका कर्मचारीहरु बताउँछन् । त्यसो त संघमा स्थापनायता एकछत्र नेतृत्व गरेको लोकतान्त्रिक समुहपनि चुनाव केन्द्रित नभएको होइन । प्रगतिशिल समुहबाट यो पटक अघिल्लो पटक अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका डा. पुष्पमणि खरालनै आधिकारिक उम्मेद्वार हुने सम्भावना देखिएको छ ।

लोकतान्त्रिक खेमामा भने अझै अध्यक्षको उम्मेदवारीमा सहमति हुनसकेको छैन । पूर्व महासचिव डा. भूपेन्द्र बस्नेत, वर्तमान महासचिव लोचन कार्की अध्यक्षको आकांक्षीका रुपमा देखिएका छन् । संघको नयाँ नेतृत्वका लागि माघमा देशव्यापी निर्वाचन हुँदैछ ।

Last modified on 2019-11-15 14:05:42

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts