जुनोटिक रोगहरुबारे अध्ययन गर्न प्राविधिक समिति बनाइँदै



Download our app to get more features

काठमाडौं, २० कात्तिक । सरकारले पशुपंक्षीमार्फत मानिसमा सर्ने जुनोटिक रोगहरुका बारेमा विस्तृत अध्ययन गरि उपचारको एकीकृत ढाँचा निर्माण गर्ने भन्दै अध्ययन समिति बनाउन थालेको छ । 

मेरुदण्ड भएका पशु र मानवका बीच प्राकृतिक रुपमा सर्न सक्ने रोग र संक्रमणहरुलाई जुनोटिक वा जुनोसिस रोग भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पशुबाट मानिसमा सर्ने रोगहरुलाई जुनोटिक रोग भनिन्छ ।  हाल मानिसमा लाग्ने ६० प्रतिशतभन्दा बढि रोगहरु पशुपंक्षीबाट नै सर्ने गरेको पुष्टि भैसकेको छ । जसमध्ये ७५ प्रतिशत जुनोटिक रोगको कारक पशुनै रहेको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जुनोटिक रोग शाखा रहेपनि यस्ता रोगहरुको एकीकृत रोकथाम एवं उपचार मार्गदर्शन बनेको थिएन । 

'विश्वमा पछिल्लो समय वान हेल्थ पद्धतिका बारेमा बहस भैरहेको छ । तर, हाम्रोमा खास प्रगति भएको थिएन । अब बन्ने प्राविधिक कमिटिले यसको एकीकृत ढाँचा निर्माण गर्नेछ ।' शाखाका प्रमुख डा. हेमन्त चन्द्र ओझाले भने । शाखामा एकजना मानिसको डाक्टर र एकजना पशुको डाक्टर रहेका छन् । उनीहरुले अहिले प्राविधिक टोलीले अध्ययनमा समेट्ने विषयवस्तुहरुको तयारी गरिरहेका छन् । अध्ययन टोलीमा स्वास्थ्य मन्त्रालयका अलावा पशुपंक्षी मन्त्रालय एवं अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु रहनेछन् ।

महाशाखाले समेत अहिलेसम्म जुनोटिक रोगलाई एकीकृति रुपमा सम्बोधन गरेको छैन । अहिलेसम्म जुनोटिक रोगहरुलाई किटजन्य रोगको सूचिमा राखेर छुट्टै किसिमबाट कार्यक्रम गरिरहेको छ । 

जुनोटिक रोगका चार प्रकार 

  • विषाणुजन्य जुनोटिक रोगहरुः बर्डफ्लू, इबोला भाइरस, रेविज, जापानिज एनसिपालाइटिस आदि ।
  • जीवाणुजन्य जुनोटिक रोगहरुः ब्रुसेलोसिस, लेप्टोस्पाइरोसिस, क्षयरोग, धनुष्टंकार, साल्मेनेलोसिस इकोलाई संक्रमण आदि । 
  • परजीवीजन्य जुनोटिक रोगहरुः सिष्टिसर्कोसिस, इकाइनोकोकोसिस, लुतो, टक्सोप्लाज्मोसिस, जियार्डियोसिस आदि । 
  • ढुसीजन्य जुनोटिक रोगहरुः हिस्टोप्लामोसिस्, ब्लास्टोमाइकोसिस आदि । 

जुनोटिक रोगहरु पशुबाट मानिसमा विभिन्न किसिमले सर्न सक्छ । विभिन्न खाद्य पदार्थमार्फत यो रोग सर्न सक्छ । त्यस्तै सिधा सम्पर्कबाट पनि सर्छ । जस्तै, कुकुरले टोकेर हुने रेबिज । अप्रत्यक्ष सम्पर्कबाट पनि जुनोटिक रोगहरु सर्छ । दुषित भेलबाढी तथा पानीबाट सर्ने लेप्टोस्पाइरोसिस् । त्यस्तै रोग संवाहक किराहरुबाट सर्ने जस्तै इन्सेफ्लाइटिस, स्क्रब टाइफस इत्यादि । 

नेपालमा रहेका केही जुनोटिक रोगहरु 

  • टेनियसिस/सिष्टिसर्कोसिस/न्यूरोसिष्टिसर्कोसिस 
  • हाइडाटिडोसिस /इकाइनोकोकोसिस् 
  • टक्सोप्लाज्मोसिस
  • ब्रुसेलोसिस
  • लेप्टोस्पाइरोसिस
  • बर्ड फ्लू
  • रेविज
  • जपानिज इन्सेफ्लाइटिस
  • मौसमी फ्लू (स्वाईन फ्लू)
  • साल्मोनेलासिस /फूड पोइजनिङ
  • क्षयरोग
  • पटके 
  • टिटानस् 

जुनोटिक रोगबाट कसरी बच्ने ? 
जुनोटिक रोगहरुबाट बच्नका लागि सामान्य जैविका सुरक्षाका उपाय अपनाउनुपर्छ । मापदण्ड अनुसार पशुपंक्षी तथा पशुपंक्षीको गोठ वा फार्म व्यवस्थित गर्ने, दूध मासु, अण्डा राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ । त्यस्तै पशुपंक्षीसँगको संसर्गपछि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सके यस्ता रोगहरुको संक्रमण हुने सम्भावना न्यून हुन्छ । 

Last modified on 2019-11-15 14:05:04

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts