सस्तो पर्ने भन्दै पहिलो पटक एचआईभीको औषधि सिधै खरिद गर्दै सरकार



Download our app to get more features

काठमाडौं, २४ कात्तिक । एचआईभी तथा एड्स रोगीलाई निःशुल्क वितरण गरिँदै आएको औषधि यो पटक सरकारले बिना ठेक्का किन्ने भएको छ । स्वास्थ्य मन्त्रालयको एचाईभी एड्स तथा यौनरोग केन्द्रले २४ करोड बराबरको औषधि मन्त्रिपरिषद कार्यालय अन्तर्गतको पूल प्रोकृयुमेण्ट मेकानिजम (पीपीएम) मार्फत खरिद गर्ने तयारी गरेको हो ।

सरकारले एचाईभी तथा एड्सका बिरामीले खाने २९ प्रकारका औषधि किन्न ठेक्का गर्दा महंगो पर्ने भएपछि पीपीएम मार्फत किन्ने तयारी गरेको केन्द्रका जनस्वास्थ्य प्रशासक मदन श्रेष्ठले बताए । उनले भने, ‘पीपीएमबाट औषधि किन्दा झण्डै आधा सस्तो हुने देखिएपछि यस्तो तयारी गरिएको हो । यसका लागि स्वास्थ्य मन्त्रालय मार्फत फाइल अर्थ मन्त्रालयमा पठाइएको छ । त्यहाँबाट स्वीकृत आएपछि प्रकृया अघि बढ्छ् ।’

केन्द्रका अनुसार सिधै खरिद गर्दा २४ करोडको औषधिले १८ महिना पुग्छ । तर, ठेक्का मार्फत किन्दा त्यही औषधिले एक वर्षमात्र पुग्छ ।  एचआईभी र एड्सका औषधिको उपभोक्ता कम भएकाले ठूलो परिमाणमा औषधि बन्दैन त्यसैले पनि सरकारले किन्दा कम मूल्यको शिलबन्दी पर्दैन । दुई वर्षअघि सरकारले आफै औषधि किन्दा महंगो परेको भन्दै यो पटक पीपीएममा पठाइएको हो । 

पीपीएम मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको संरचना हो । जहाँबाट वस्तु वा सेवा खरिद गर्दा खरिद नियमावली अनुसार गर्नुपर्दैन । यसअघि दातृ निकायले दिने औषधि हरु सोही संरचनामार्फत किन्ने गरिन्थ्यो । केन्द्रका प्रशासन प्रमुख विश्ववन्धु रेग्मीका अनुसार एचआईभी तथा एड्सका औषधि संवेदनशील हुने र बजारमा किन्न पनि नपाइने भएकाले द्रुत ढंगबाट किन्ने गरि प्रकृया थालिएको हो । एचआईभी एड्स तथा यौनरोग केन्द्रसँग आगामी मार्च महिनासम्मका लागि भने औषधि मौज्दात रहेको जनाइएको छ ।

Last modified on 2019-11-15 14:02:15

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts