बढ्दो ध्वनी प्रदुषण र इएर फोनको प्रयोग बहिरोपनको मुख्य कारण

उच्च आवाजमा इएर फोनको प्रयोगले कानका नशा सुक्ने तथा तुरुन्तै असर नगरे पनि बिस्तारै समस्या उत्पन्न हुने



Download our app to get more features

ब्यस्त सडक छेउ कार्यालयमा कार्यरत एक कर्मचारी आफुलाई टाउको दुख्ने, अचानक रिङ्गटा लाग्ने, झर्को लाग्ने अनि एकाग्रता नहुने आदि समस्याको कारण  खोज्दा खोज्दै यसको कारण सडकबाट आउने अत्याधिक ध्वनी हो कि भन्ने निष्कर्षका पुग्छन् । सोही कार्यालयमा कार्यरत अन्य कर्मचारी पहिले आफु पनि सडकबाट आउने ध्वनीले गदा समस्यामा परेको तर अहिले अभ्यस्त भईसकेको बताउछन् । ध्वनी प्रदूषणको मारमा सडक किनारामा अवस्थित घरका बासिन्दा बढी प्रभावित हुने गरेका छन् । टेलिभिजन, बिजुलीको सामान, बिभिन्न सामाजिक प्रक्रियाहरु, हवाई ट्राफिक, साथै घरमा प्रयोग गरिने भाडाकुडाबाट आउने आवाज ध्वनी भिन्न भिन्न श्रोत भएतापनि सडकबाट आउने ध्वनी बिशेष गरी हानीकारक रहने विशेषज्ञहरुको भनाइ छ । सहरी क्षेत्रका बासिन्दा ध्वनी प्रदूषणको समस्याले नजानिदो गरी पीडित छन् । स्कुल, कलेज, अस्पताल जस्ता संवेदनशील क्षेत्रमा मात्रै होइन सामान्य बसोबास गरिने क्षेत्रमा समेत ध्वनी प्रदूषण ठूलो समस्या बन्दै छ । 
बढ्दो ध्वनी प्रदूषणका कारण मानिसमा विभिन्न मानसिक एवं शारीरिक समस्या उत्पन्न हुने गरेको छ । वायु प्रदूषणको मात्रै बढी चर्चा हुने गरेकोमा ध्वनी प्रदूषणले पनि गम्भीर रुप लिँदै छ ।
प्रेसर हर्नबाट हुने ध्वनी प्रदूषणका कारण शारीरिक र मानसिक दुवै किसिमका समस्या सिर्जना हुने नाक कान घाँटी विशेषज्ञ डाक्टर रुपेशराज जोशीको भनाइ छ । जोशीका अनुसार ध्वनी प्रदूषणका कारण टाउको दुख्ने, कान कम सुन्ने, एकाग्रता नहुने, वाक वाक लाग्ने, मुटु सम्बन्धी समस्या हुने, चिडचिडापन बढ्ने तनावमा रहने, निन्द्रा कम लाग्ने, बोलिमा प्रभाव कम पर्ने, रिस उठ्ने जस्ता स्वास्थ्य समस्या देखा पर्दछ । बढ्दो सवारी साधनको संख्या, चालकहरुमा जथाभावी हर्न बजाउने प्रवृती, पुराना सवारी, उद्योगधन्दा, कलकारखाना ध्वनी प्रदूषणका प्रमुख स्रोत हुन् ।  
युवाहरुले उच्च आवाजमा इएर फोनको प्रयोग गर्नाले पनि स्वास्थ्यमा श्रवणशक्तिमा ह्रास आउँछ । डा. जोशी भन्छन् इएर फोन प्रयोगका कारण सुन्ने क्षमता ह्रास भएर अस्पताल आउने युवाको संख्या बढीरहेको छ । उच्च आवाजमा इएर फोनको प्रयोगले कानका नशा सुक्ने तथा तुरुन्तै असर नगरे पनि बिस्तारै समस्या उत्पन्न हुने जोशीले बताए । 

औषत भन्दा बढी अर्थात स्विकार गर्न नसकिने ध्वनीले शरीरमा कोर्टिसोल बन्दछ । जसले प्रतिरक्षात्मक प्रणालीलाई राम्ररी काम गर्न दिँदैन । कोर्टिसोल कम हुँदा विशेषगरी क्यान्सर र एचआइभी भएका व्यक्तिलाई दीर्घकालीन रुपमा हानी गर्छ । चिकित्सकका अनुसार तनावले गर्दा बिभिन्न किसिमका स्ट्रेस हर्मोन उत्पादन भई मुटुको धडकनमा परिवर्तन आउने, रगतमा कोलस्ट्रोलको स्तर बढ्ने तथा पाचन क्रियामा उतारचडाव आउने हुन्छ ।
ध्वनी प्रदूषणको कारणले हुने तनावले गर्दा उच्च रक्तचाप, मुटुसम्बन्धी अनेक रोगहरु लाग्न सक्छ । गर्भबती महिलामा चर्को ध्वनी प्रदूषणबाट प्रभावित भएमा जन्मने बच्चाको श्रवण शक्ति गुम्न सक्ने र भ्रुणको विकासक्रममा समेत असर पुग्छ । अत्याधिक ध्वनीले मानिसलाई मात्र असर पर्ने नभई व्यस्त सडक, आससपास बस्ने चरा चुरुङी तथा जनावरको बासस्थान तथा प्रजनन् क्षमता र जीवनचक्रमा समेत असर गर्छ ।
बिशेष गरी मोटरसाइकलहरुले अनावश्यक रुपमा हर्न बजाउँदा यो समस्या उत्पन्न भएको पाइएको छ । अनावश्यक रुपमा पनि हर्न बजाउने, लामो समयसम्म हर्न बजाउने, हर्नको आवाज कानको जाली नै छेड्ने गरी बजाउने बानीले ध्वनी प्रदूषण बढिरहेको छ ।  
सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ दफा २(१२)का अनुसार प्रदूषण भन्नाले सवारीबाट निस्कने ध्वनी तथा धुवा प्रदूषण सम्झनु पर्दछ । विश्व स्वास्थ्य संगठनले ध्वनी प्रदूषणलाई “कानले पचाउन सक्ने अथवा स्वीकार योग्य ध्वनी भन्दा माथिको स्तर जसले नराम्रो असर पार्दछ” भनी परिभाषित गरेको छ । मानिसको लागि सामान्य सुन्ने क्षमता २६ डेसिबल हो । हामीले सुन्नका लागि ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य छ, तर ७० डेसिबलको ध्वनी मानव स्वास्थ्यको लागि हानीकाणरक हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार अस्पताल क्षेत्रमा ५० डेसिबल र अस्पतालको कोठामा ३५ डेसिबल भन्दा चर्को ध्वनी हानीकारक हुन्छ , मानिसको सामान्य बोलीचालीको आजाज नै ५० डेसिबल हुन्छ , ध्वनीको स्तर घरमा ४०–५५ भन्द बढी बाहिर ७५–८५ भन्दा बढी र उद्योगमा ९० डेसिबल भन्दा बढी हुनु हुदैन ।
विश्वस्वास्थ्य संगठनले मज्जाको निन्द्राको लागि ३०–३५ डेसिबल ध्वनीको स्तर हुनुपर्ने बताएको छ । अमेरिकी वातावरण सुरक्षा परिषलदे २४ घण्टामा सरदर ७० डेसिबल सम्मको ध्वनीलाई मात्र सुरक्षित मानेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ० डेसीवल आवाज सुन्न सकिदैन, २० डेसिवलले सुतिरहेको मानिसको निन्द्रामा असर पार्दैन । कोठामा बसेर काम गर्दा ४० डेसिबल र धेरै हल्ला हुने कार्यालयमा ७० डेसिबल आवाज सुन्न वा बुझ्न सकिदैन । ३५ देखि ४० डेसिबलको आवाजले निन्द्रा खलबलाउँछ, ७० डेसिवलले सोच्ने र तर्क गर्ने शक्ति गुमाउँछ । ८० डेसिवलभन्दा ठूलो ध्वनीले कानलाई असजिलो बनाउने, ९० डेसिवलले क्षणभरमै थाकेको अनुभव र लामो समयसम्म भए बहिरोपना हुन्छ । १०० डेसिवलभन्दा ठूलो ध्वनीले बहिरो बनाउने, १६० डेसिवलको ध्वनीले कानको जाली फुटाइदिन्छ । १६५ भन्दा बढीको ध्वनीले ज्यानै लिनसक्छ । चर्को ध्वनीमा १५ मिनेटभन्दा बढी बस्दा अस्थायी वा स्थायी रुपले बहिरो हुनसक्छ । त्यसो त ८० डेसिवलभन्दा माथिको ध्वनी लामो समयसम्म लगातार कानमा पर्दा पनि बहिरो हुनसक्छ । 
सडकको ट्राफिकबाट आउने ध्वनीमा अनावस्यक रुपमा बजाइने हर्न नै प्रमुख रहेको र यसबाट हुने असर बारे चालकमा जानकारी तथा चेतनाको अभाव हुनु नै समस्याको प्रमुख कारण हो । साथै बिद्यमान ऐन कानून समय सापेक्ष नहुनु, नियम उलंघन गरी प्रेसर हर्न बजाउने माथि कार्वाहीको अभाव तथा सडक जाम, जथाभावी पार्किङ गर्ने र मनपरी बाटो काट्ने प्रबृत्तिले गर्दा पनि हर्नको अ्त्याधिक प्रयोग हुन गएको पाइन्छ । यसका साथै “हर्न नै नबजाए के को ड्राइभर ?” भन्ने मनोबृत्ति चालहरुमा पाइनु र हर्न बजाउने क्रिया उनीहरुमा बानी कै रुपमा रहनुले गर्दा पनि आवश्यक रुपमा प्रयोग गरिने हर्नका कारण हुने ध्वनी प्रदूषण समस्याको रुपमा रहेको हो । 
नेपालमा कानूनी प्राबधान र कार्यान्वनमा तत्परता नदेखाए ध्वनी प्रदूषण कम गर्न सकिदैन । जसरी पछिल्ला दिनमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवनको अभियान चलाएपछि सडक दुर्घटनामा धेरै कम भएको छ यस्तै किसिमले ध्वनी प्रदूषण घटाउन अभियान चलाउँनुपर्छ । जथाभावी हर्न बजाउँदा पनि दण्डीत गर्ने नियम बनाइनुपर्छ । यो सामाजिक समस्या भएकोले यसबाट मानव  स्वास्थ्यमा पर्ने असर बारे जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिनुनै बुद्धिमानी हुन्छ । 


 

Last modified on 2016-03-20 18:12:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts