चीनमा जोडिएको डा. विश्वास र डा. अजिलाको सम्बन्ध 



Download our app to get more features

लजालु तथा कम बोल्ने डा. विश्वास र डा. अजिलासँग परिवार र दम्पतीबीचको सम्बन्ध जान्न खोज्नु आफैँमा चुनौतीपूर्ण थियो । सोधेको प्रश्नको जवाफ नै दिएनन् भने के गर्ने होला, कसरी कुराकानी सुरुवात गर्ने होला भनेर सोच्दै बुटवलस्थित सुक्खानगरमा रहेको उनीहरूको निवासमा पुग्यौँ । तर, पहिलो भेटमै उनीहरूले आत्मियता देखाए । कम बोल्ने भए पनि कुराकानीको सुरुवात उनीहरूबाटै भयो । सुरुमै उनीहरूले आफ्नै गृहजिल्लामा चिकित्सा पेसा गरेबाट कुराकानी भयो । परिवारको सँगै बस्ने चाहनाअनुरूप बुटवल आएको डा. विश्वास भण्डारीले बताए । उनले भने, ‘जुन परिवारमा सुख, शान्ति र एक–अर्काप्रति माया रहन्छ त्यो नै परिवार सुख हो । जुन कुरा आज हामीलाई मिलेको छ ।’ 

प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा कार्यरत डा. विश्वास भण्डारी र डा. अजिला प्रज्ञा यस क्षेत्रको सफल चिकित्सक दम्पती हुन् । डा. विश्वास भण्डारी साझा अस्पताल प्रालि बुटवलमा एनेस्थेसिया विशेषज्ञका रूपमा कार्यरत छन् भने र डा. अजिला प्रज्ञा लुम्बिनी नर्सिङ होममा बालरोग विशेषज्ञ छिन् । 

बुटवलका विश्वास र काठमाडौंकी अजिला 
डा. अजिला प्रज्ञाको युनिक टाइटलबारे हामीले जिज्ञासा राख्यौँ । हुन त यो उनको निजी निर्णयमा हामीले चासो नदिएको भए पनि हुन्थ्यो । तर, उनले यसलाई सहज रूपमा स्वीकार गरिन् । उनले भनिन्, ‘यो मेरो निक नाम हो, स्कुल भर्ना हुँदा नै बुबाले राखिदिनुभएको हो ।’

डा. भण्डारीको बाल्यकाल बुटवलमा बितेको थियो भने डा. प्रज्ञा काठमाडौंवासी हुन् । चीनबाट एमबिबिएस र फिलिपिन्सबाट एमडी गरेपछि डा. भण्डारी बुबाआमासँगै बुटबलमा बस्दै आएका छन् । दाजुभाउजू अमेरिका बस्न थालेपछि परिवारकै सल्लाहमा उनी बुटबलमा आएको बताउँछन् । 

डा. प्रज्ञाका चारै बहिनी चिकित्सा हुन् । बुबाको इच्छाअनुसार सबै दिदीबहिनी चिकित्सा पेसामा लागेको डा. प्रज्ञाले सुनाइन् । उनी भन्छिन्, ‘बुबा बिरामी हुँदा एमबिबिएस बीचमै छाड्न बाध्य हुनुभएछ । त्यसैले उहाँकै इच्छाअनुसार हामी चिकित्सक बन्यौंँ ।’ 

दुवै रिसाहा, तर सजिलै कुरा बुझ्ने
कुराकानीले लय लिन थालेपछि उनीहरू पनि आफ्ना कुरा खोल्न थाले । उनीहरू दुवैले अलि रिसाहा र जिद्दी भएको सुनाए । तर, चाँडै कुरा पनि बुझ्ने बताए । डा. प्रज्ञाले भनिन्, ‘रिसाइहाल्यो भने पनि केही समयका लागि मात्रै रिसाउने बानी छ । हाम्रो रिस त परालको आगो हो । लामो समय टिक्दैटिक्दैन ।’ रिसाए पनि कुरा बुझाए बुझिहाल्ने डा. भण्डारीले बताए । 

चीनको पहिलो भेटले जीवनभरको साथ 
उनीहरूको पहिलो भेट चीनमा भएको थियो । दुवैजना सन् २००३ मा एमबिबिएस अध्ययनका लागि छिमेकी मुलुक चीन पुगेका थिए । एउटै ब्याच भए पनि उनीहरूबीच करिब सात महिनापछि मात्रै कुराकानी भएको डा. भण्डारीले सम्झिए । उनले भने, ‘८५ जना विद्यार्थी थियौँ, सबै पढाइमा मात्र केन्द्रित हुने हँुदा कसैलाई कसैको मतलब नै हुँदैन थियो ।’ सात महिनापछि बल्ल बोलचाल हुन थाल्यो । त्यो पनि पढाइको विषयमा मात्रै । पढाइको विषयमा कुराकानी हुँदाहँुदै उनीहरू साथी बन्न पुगे । ‘धेरै नबोल्ने सोझो, केही नखाने, पढाइमा मात्र केन्द्रित हुने हँुदा बिस्तारै हामी साथी भयौँ,’ विगत सम्झँदै डा. प्रज्ञाले भनिन्, ‘गीत गाउने (बढी गजल), धेरै नबोल्ने, सबै बानी मिल्ने हँुदा साथी भएको पत्तै भएन ।’ यत्तिकैमा डा. भण्डारीले थपे, ‘साथी थियौँ, कसरी लभ प¥यो थाहै भएन ।’

चीनमा एमबिबिएस सकेपछि डा. भण्डारी वीर अस्पताल र डा. प्रज्ञाले आर्मी अस्पताल छाउनीमा एक वर्ष इन्टर्नसिप गरे । नेपालमै भए पनि त्यस समयमा उनीहरूको भेटघाट निकै पातलो हुन्थ्यो । भेटघाट कम भए पनि नियमित फोनमा भने कुरा भइरहने उनीहरूले बताए । इन्टर्नसिपपछि दुवैजनाले करिब दश महिना चितवन मेडिकल कलेजमा सँगै काम गरेको बताए ।

यसरी भयो विवाह गर्ने निर्णय
चितवन मेडिकल कलेजमा १० महिना सँगै काम गरी दुवैजना त्यहाँबाट अलग्गिए । त्यसपछि डा. भण्डारीले आम्दा अस्पताल बुटबलमा काम सुरु गरे भने डा. प्रज्ञा काठमाडांैमै थिइन् । यही बेला उनीहरूले विवाह गर्ने निर्णय गरे । त्यो पनि फोनमै । विवाहको कुरा कसले सुरुवात ग¥यो ? प्रश्न नसकिँदै लजाउँदै डा. भण्डारीले भने, ‘सायद मैले नै होला, उनले त होइन होला ।’

डा. भण्डारी भन्छन्, ‘विवाह गरौँ भनेर हामीले फोनमै सल्लाह गरेका थियौँ ।’ त्यसपछि दुवैजनाले घरमा जानकारी गराएका थियौँ । दुवैको परिवार सहमत पनि भयो । डा. भण्डारीको परिवारले डा. प्रज्ञासँग भेट ग¥यो । अनि मात्र डा. भण्डारीले डा. प्रज्ञाको परिवारसँग भेट गरेका थिए । डा. प्रज्ञाको घरमा एक्लै गएको उनले सम्झिए, ‘म हरियो सर्ट लगाएर गएको थिएँ, प्रज्ञाका बुबाले आर्मीमा काम गर्नुहुन्छ भन्नुभयो । एकछिन त अलमल परेँ,’ उनले थपे, ‘सायद हरियो सर्ट लगाएर गएकाले होला ।’ दुवैजना चिकित्सक भएका कारण विवाह गर्न परिवारमा कुनै समस्या नभएको उनीहरूले सुनाए । हिन्दू परम्पराअनुसार ६ मंसिर ०६८ मा उनीहरूले विवाह गरेको बताए । उनीहरूको एक वर्षको छोरा छ ।

विवाहपछि सधैँ सँगै
विवाहपछि उनीहरू कहिल्यै अलग्गिएर बस्नुपरेन । विवाहलगत्तै उनीहरूले एक वर्ष आम्दा अस्पताल बुटवलमा सँगै काम गरे । एक वर्षपछि दुवैजना एमडी गर्न फिलिपिन्स गए । फिलिपिन्सबाट फर्किएपछि दुवैजना आम्दा अस्पताल दमकमा काम गरे । हाल उनीहरू बुटवलमा कार्यरत छन् । 

बालरोग विशेषज्ञ डा. प्रज्ञा सधैँ व्यस्त रहन्छिन् । व्यस्तताका कारण छोरासँग धेरै बस्न नपाएको उनले बताइन् । उनले भनिन्, ‘बुबासँग धेरै समय बिताउने गर्छु ।’ डा. भण्डारी एनेस्थेसिया विशेषज्ञ हुन । उनी तुलनात्मक रूपमा अलि फ्री हुन्छन् । एउटै पेसा भए पनि उनीहरूले छोराका लागि पर्याप्त समय दिएको बताए । ‘म बिहानै निस्कनुपर्छ, उहाँको प्रायः दिउँसो ३ बजेपछि मात्र काम हुन्छ,’ डा. प्रज्ञाले भनिन्, ‘छोरालाई मैलेभन्दा धेरै समय उहाँले नै दिनुभएको छ ।’ साथै घरमा बुबाआमा पनि सँगै भएका कारण गाह्रो नभएको उनीहरूले बताए ।

डा. विश्वासलाई डा. प्रज्ञाको मनपर्ने बानी 

  •    कुरा बुझ्ने
  •   सबैलाई माया गर्ने
  •    खाना मीठो बनाउने

मन नपर्ने

  •    रिसाहा
  •     जिद्दी
  •    अरूको भरोसा गर्ने, नाइँ भन्न नसक्ने

डा. प्रज्ञालाई डा. भण्डारीको मनपर्ने कुरा 

  •     परिवारलाई माया गर्ने
  •     समय दिने कुरा बुझाउने 
  •     रिसाएपछि छिनमै खुसी हुने
  •     एक अर्काको कुरा बुझ्ने

मन नपर्ने

  •    रिसाहा 
  •     जिद्दी
     
Hamro Doctor
Last modified on 2020-01-06 11:06:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts