चीनबाट फर्किएका व्यक्तिमा कोरोना भाइरस भएको पुष्टि

उच्च शतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयको दावी



Download our app to get more features

काठमाडौं १० माघ । कोरोना भाइरस फैलिएको चीनको युहानबाट नेपाल फर्र्किएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती व्यक्तिमा संक्रमण पुष्टि भएको र प्रत्यक्ष निगरानीमा रहेको बताएको छ ।

गत ९ जनवरीमा चीनबाट नेपाल आएका ती व्यक्ति १३ जनवरीमा टेकु अस्पताल पुगेका थिए । उनलाई संक्रमणको आशंका देखिएपछि सो नमुना हङकङ पठाइएको थियो । त्यहाँको हङकङ विश्वविद्यालय अन्तर्गतको स्कूल अफ पब्लिक हेल्थमा भएको परीक्षणबाट २३ जनवरी अर्थात बिहीवार कोरोना भाइरस भएको पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको पहिचान र उपचारका बारेमा अस्पताल तथा स्वास्थ्यकर्मीका लागि जानकारी र विधिहरु तयार गरिएको जनाएको छ । त्यस्तै टेकु अस्पताल र पाटन अस्पतालमा कोरोना भाइरस संक्रमितका लागि उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । शंकास्पद विरामी देखिएमा ०१ ४२५५७९६ मा फोन गरि जानकारी गराउन मन्त्रालयले अपिल गरेको छ । त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेभसाइट मा पनि यसका बारेमा जानकारी राखिएको छ । 

मन्त्रालयले त्रिभूवन विमावनस्थलमा हेल्थ डेस्क स्थापना गरिएको र शंकास्पदलाई त्यहीँबाट अस्पताल पुर्याएर सुरक्षित उपचार गर्न सकिने व्यवस्था मिलाएको दावी पनि गरेको छ । मन्त्रालय प्रवक्ता महेन्द्र श्रेष्ठले संक्रमित व्यक्तिका नजिक रहने सबै व्यक्तिको परीक्षण थालिएको भन्दै रोग सर्ने सम्भावनलाई न्यूनीकरण गरिएको बताए । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा टेकु अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले कोरोना भाइरस संक्रमितलाई उपचार गर्न अस्पताल तयार रहेको दावी गरे । उनले टेकु अस्पतालमा थप एकजना सम्भावित बिरामी रहेको र तीनको पनि नमूना विदेश पठाउन लागिएको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको नियन्त्रणका लागि मन्त्रालयले सबै निकायलाई क्रियाशिल बनाएको र यसको रुप हेरेर व्यवस्थापनका थप नीति लिइने मन्त्री ढकालले बताए । 

Last modified on 2020-01-29 14:49:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts