पाइलट बन्न हिडेका डा. लाेचन भए डाक्टरहरुकाे अध्यक्ष, यस्ताे छ पृष्ठभूमी



Download our app to get more features

काठमाडाैं । वि.सं. २०३४ सालमा मोरङमा जन्मेका डा. लोचन कार्कीले विराटनगरस्थित सेन्ट जोसेफ स्कुलबाट एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षा अध्ययनका लागि उनले काठमाडौं आएर टंगालस्थित काठमाडौं विश्वविद्यालयमा आईएस्सीमा २०५२ सालमा भर्ना गराए । 

स्कुल पढ्दै गर्दा लोचनको मनमा पनि इञ्जिनियर तथा पाइलट बन्ने चाहना थियो । पाइलट बन्नकै लागि उनले केही प्रक्रियासमेत पूरा गरिसकेका थिए । भारतीय दूतावासको छात्रवृत्तिमा त नाम नै निकालेका थिए । तर, उनको भाग्यमा डाक्टर बन्ने लेखेको थियो । सानैदेखि ठूलो बुवा (कन्सल्टेन्ट साइकियाट्रिस) बाट उनी प्रभावित थिए । ठूलो बुवाकहाँ जचाउन गाउँघरका मानिसको ओइरो लागेको देख्दा उनलाई म पनि यस्तै ठूलो मान्छे बन्छु भन्ने अभिलाषा जाग्यो । 

ठूलोबुवाको क्लिनिकमा भीड लागेको देख्दा लोचनलाई चिकित्सा पेशा निकै सम्मानित, मर्यादित तथा सेवा प्रदायक पेशा रहेछ भन्ने लाग्यो । राजनीतिक पृष्ठभूमि भएका लोचनलाई चिकित्सा पेशालाई जनतासित नजिक हुने तथा आफूले चाहेको खण्डमा निःस्वार्थ भावनाले सेवा गर्न सकिने पेशा रहेछ भन्ने पनि लाग्यो र यहि पेशालाई अँगाल्ने निधो गरे ।

कलेज पढ्दा पनि उनलाई राजनीतिको रन्कोले छाडेन । र कलेजमा पढ्दाताका उनी स्टुडेन्ट वेलफेयर काउन्सिल (विद्यार्थीहरूको हकहितका लागि लड्ने संस्था) को प्रतिनिधि पनि भए ।

काठमाडौं विश्वविद्यालयको अध्ययनपछि उनले अगाडिको अध्ययनका लागि बंगलादेशको युनिर्भसिटी अफ साइन्स एण्ड टेक्नोलोजी र क्यालिफोर्नियामा शिक्षा हासिल गरे । पेसाले जनरल फिजिसियन (इन्टरनल मेडिसिन) डा. लोचन हाल वीर अस्पतालमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन् । 
नेपाल चिकित्सक संघको महासचिवको कार्यभार सम्हाल्दै आएका डा.कार्की भर्खरै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका छन् । डा.कार्की सिनामंगलस्थित नोबेल हस्पिटलका मेडिकल डाइरेक्टर पनि हुन् ।

काठमाडौं आउँदा सहज भने थिएन । डा.कार्कीलाई काठमाडौंमा डेरा पाउन मुस्किल थियो । कहिल्यै घर नछोडेको मान्छे, फेरि पहिलो पटक काठमाडौं आएका । लोचनलाई सुरुमा त डेरा पाउनै धौधौ भयो । डेरा नभेटेकै कारण उनले करिब एक महिना होटलमा बस्नुपरेको थियो ।

जति खोज्दा पनि डेरा नपाएपछि लोचन कुन हदसम्म ‘फ्रस्ट्रेट’ भए भने उनले विज्ञान विषय छोड्नेसम्मको सोच बनाए । 

राजनीतिमा लगाव
नेपाल चिकित्सक संघ महासचिव बनेयता कार्की चिकित्सकहरूको हकहित तथा अधिकारका लागि थप क्रियाशिल भएका छन् । यो प्रेरणा भने उनले सानैदेखि पाएका हुन् । लोचनमा सानैदेखि राजनीतिको प्रभाव रह्यो । बुवा तोरण कार्की तात्कालीन प्रतिवन्धित नेपाली कांग्रेसका तर्फबाट प्रजातन्त्र स्थापनाको संघर्षमा होमिएका थिए ।

आन्दोलनका गोप्य वार्ता तथा छलफल उनकै घरमा हुन्थ्यो ।  जसले गर्दा कलिलै उमेरमा लोचनमा एक किसिमको राजनीतिक चेतना जागृत भइसकेको थियो । 

उनमा राजनीतिप्रति विशेष लगाव पनि थियो ।
प्रतिवन्धित अवस्थामा उनी रातभर बाहिर गएर पर्चाहरू बाँड्थे । २०४८ सालमा कक्षा आठमा पढ्दा उनले नेपाल विद्यार्थी संघको स्कुल प्रतिनिधि भएर भोट हालेका थिए । नेतृत्व काैशलकाे विकाससँगै कार्की अब ३ वर्षका लागि चिकित्सकहरुकाे अध्यक्ष भएका छन् । उनका सामु थुप्रै चुनाैति र अवसर पनि छन् ।

Last modified on 2020-02-11 10:46:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts