सुदूरपश्चिममा दुई सय १२ शैय्याको आइसोलेसन कक्ष स्थापना

धनगढी, १६ चैत । सुदूरपश्चिममा हालसम्म दुई सय १२ शैय्याको आइसोलेसन कक्ष स्थापना गरिएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का सम्भावित तथा संक्रमितका लागि साढे सात सय शैय्याको आइसोलेसन बनाउने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको दावी थियो । तर प्रदेशको अस्थायी राजधानी धनगढीमा एक जना संक्रमित पुष्टि भइसक्दा समेत आइसोलेसन कक्षको संख्या दुई सय १२ मात्रै छ ।
नेपाली सेनासँगको समन्वयमा धनगढीसहित अन्य जिल्लाका अस्पताल तथा सार्वजनिक स्थलमा अहिलेसम्म दुई सय १२ शैय्याका वार्डहरु तयार गरिएका हुन् । शुक्रबारसम्मको तथ्यांक अनुसार प्रदेशका नौ जिल्ला अस्पताल र सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल लगायतमा एक सय २९ शैय्याको आइसोलेसन कक्ष स्थापना गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले बताए ।
धनगढीको सेती प्रादेशिक अस्पतालसँगै महाकाली अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल, बयलपाटा अस्पताल तथा प्रत्येक जिल्लाका जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएका छ ।
कहाँ कति शैय्या
सेती प्रादेशिक अस्पतालमा १०, महाकाली अस्पतालमा १०, टीकापुर अस्पतालमा १२, डडेल्धुरा अस्पतालमा १३, जोगबुडा अस्पतालमा ८, डोटी अस्पतालमा २, अछाममा १७, बयलपाटा अस्पतालमा १३, बझाङ जिल्ला अस्पतालमा २५, बाजुरा र बैतडी जिल्ला अस्पतालमा ३÷३, दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा ४–४ शैय्याको आइसोलेसन कक्ष स्थापना गरिएका छन् ।यस्तै प्रदेश सरकारले नेपाली सेनाको समन्वयमा धनगढी रंगशालामा ६१ र डोटीमा ९ आइसोलेसन कक्ष स्थापना गरेको छ ।



















