नेपालमा कोरोना संक्रमण : सय पुग्न साढे तीन महिना, तीन दिनमै थपिए ९१ संक्रमित



Download our app to get more features

काठमाडौं, ३० वैशाख । नेपालमा कोरोना संक्रमणका पहिलो बिरामी ९ माघमा फेला परेका थिए । चीनको उहानबाट नेपाल फर्किएका नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना (कोभिड–१९) फेला परेको हो । ९ माघमा पहिलो संक्रमित देखिएको साढे तीन महिनामा संक्रमितको संख्या जम्मा एक सय पुगेको थियो । तर पछिल्लो तीन दिनमै कोरोना संक्रमतिको संख्या ९१ जनाले बढेको छ ।

मंगलबार मात्रै कपिलबस्तुमा ९, रुपन्देहीमा ९ र पर्सामा ३९ र बारामा एक जना गरी ५७ संक्रमित फेला परेका छन् । हिजो सोमबार पनि एकै दिन २४ जना संक्रमित फेला परेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले पुष्टि गरेको थियो । प्रयोगशालाका अनुसार सोमबार बिहान १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमि गाउपालिका निवासी थिए । यस्तै बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराना प्रयोगशालामा एक जनामा कोरोना पोजेटिभ देखिएको थियो भने । साँझ पुनः काठमाडौंस्थित प्रयोगशाला परीक्षणका क्रममा १३ संक्रमित फेला परेको जनाइएको थियो । 

शनिबारसम्म नेपालमा जम्मा ९९ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । शनिबार साँझ २ जनामा कोरोना पुष्टि भएपछि १०१ पुगेका थिए । आइतबार १० जना कोरोना संक्रमित फेला परेका थिए ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ३३ जना कोरोना संक्रमित निको भएर घर पनि फर्किसकेका छन् । तर तीमध्ये तीन जनाको शरीरमा फेरि कोरोनाभाइरस देखिएकाले चिकित्सकीय निगरानीमा छन् । चिकित्सकहरुका अनुसार यसरी पुनः कोरोना देखिनु धेरै चिन्ताको विषय होइन । पुनः देखिएको कोरोनाबाट अन्य व्यक्तिमा सर्ने सम्भावना न्यून हुन्छ । 

Last modified on 2020-05-12 15:21:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts