कोरोनाले मृत्यु भएकी महिलाको परिवारका सदस्यको समेत स्वाब संकलन भएन



Download our app to get more features

धनगढी, २६ जेठ । अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी धनगढीकी महिलाको सम्पर्कमा आएका कसैको पनि स्वाब संकलन हुन सकेको छैन् । धनगढी उप–महानगरपालिका–४ महिमा टोलकी ५५ बर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपनि उनको सम्पर्कमा आएका एक जनाको पनि हालसम्म स्वाब संकलन हुन नसकेको हो।

धनगढी उप–महानगरपालिका–४ का अध्यक्ष दीपक थापाले स्वाब संकलनका लागि पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरिएको जानकारी दिए। ‘मलामी गएका र मृतक महिलाको सम्पर्कमा आएका व्यक्तिको खोजी भईसकको छ,’ अध्यक्ष थापाले भने, ‘तर परिवारकै सदस्यको समेत स्वाब संकलन भएको छैन्।’ धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका अहेब लक्ष्मी उपाध्यायले पनि स्वाब संकलन गर्न नसकिएको स्वीकार गरिन। ‘धनगढीमा मात्रै आरडिटी पोजेटिभ देखाएका झण्डै ३० जनाको ६ दिनदेखि कोरोना परीक्षण हुन सकेको छैन्,’ उपाध्यायले भने, ‘प्रयोगशालामा स्वाबको चाप धेरै भएको र तत्काल परीक्षण सम्भव नभएकाले स्वाब संकलन नगरिएको हो । महिमा टोलमा गएर ज्वरो परीक्षण भने भईरहेको छ।’ 

मृतक महिलाको अन्त्येष्टिमा धनगढी उप–महानगरपालिका–४ सहित घोडाघोडी नगरपालिका–३ का आठ जना र बर्दोगोरिया गाउँपालिका– २ का दुई जना गरी ४९ जना सहभागी थिए।
मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका थिए। शुक्रवार दिउँसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु थियो भने ती महिलाको शनिवार बिहान अन्त्येष्टि गरिएको थियो। शनिवार दिउँसो मात्रै उनको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि भएको थियो।

Last modified on 2020-06-08 15:32:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts