सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना भएन



Download our app to get more features

काठमाडौं, १६ असोज ।

घटना एक : गोंगबुबाट न्युरोड जान लागेकी सबु तिवारीले थोरै माथि गएर दिगो यातायात चढिन् ।

करिब १५ मिनेट समयमा न्युरोड पुग्न सकिन्छ तर सबुलाई ३० मिनेटभन्दा धेरै समय लाग्यो र कारण थियो लैनचोैरको जाम । अहिलेको समयमा पनि लैनचौरमा जाम भयो । पहिला त गाडीमा सिट खालि नै थिए । सिटमा एक जना बसेका देखिन्थ्ये । तर उनी गाडी भित्र गए पछि थाहा भयो जहाँ जसरी बसे पनि हुने रैछ ।  नत सहचालकले केही भन्छन् नत यात्रु नै संयमित बन्छन् । भौतिक दूरीको ख्याल गरेनन । ‘बस चढ्नैपर्ने बाध्यता, तर सुरक्षा मापदण्ड पालना भएको छैन’ उनले भनिन् ।

गाडीमा स्यानिटाईजर समेत राखिएको थिएन । जब कि हरेक गाडीमा स्यानिटाईजर, राख्नैपर्ने नियम छ । ठुलो गाडी मानिएको दिगोको अबस्था त यस्तो छ भने । झन साना यातायातको त के कुरा गर्नु ।

घटना दुई : न्यु प्लाजा अगाडी उभिएर बानेश्वरका हरी लम्सालले २० मिनेट गाडी पर्खिएका थिए । तर नेपाल यातायात नआए पछि छिट्टै घर पुग्नुपर्ने भएकाले टेम्पु चढे  दुई तीन जना बसेको टेम्पुमा कसैलाई छोइन्छकी भनेर अलक्क बसे । टेम्पुमा नत सिट क्षमता भन्दा आधा थेरै राख्न सक्ने अबस्था छ, नत स्यानिटाईजरको व्यवस्थागर्ने सक्ने अबस्था छ । ठुलो गाडीले त पालना नगरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना यस्ता साधनले कसरी पो सक्लान र ? उनले आपलुले आफैलाई सम्झाउन थाले ।

बानेश्वर पुग्दा सम्म टेम्पु पुरै भरियो, हरीको मनमा डरको ढ्यांग्रो बज्न थालेको थियो । यस्तो अबस्थामा मलाई कोरोना भयो भने के गर्ने ? भनेर । बनको बाघले नखाए पनि मनको बाघले खाएको थियो । आखिर अन्दाजको डाक्टर भने झै घर पुगेबाट नै उनी बिरामी भए । रातभर ज्वरो आयो, डरले सिमा नाघ्नु स्वभाविक नै थियो । तर डराएरमा मात्रै हुदैन भनेर भोल बिहान अस्पताल जाने सोच बनाए । बिहान उठ्दा केही कम भएको जस्तो भयो, होईन रहेछ भनेर फेरी आफ्नो नियमित काममा फर्किए । 

त्यसको तीन पछि फेरी ज्वरो तथा सुख्खा खोकीले सतायो । धेरै डराएका हरी टेकु अस्पताल पुगे । अर्कोदिन रिपोर्ट आयो । कोरोना पोजेटिभ । अहिले कोरोना देखिए पछि कन्ट्राकट्रेसिं गर्नै पर्छ । तर यो अबस्थामा हरी चढेको टेम्पुका यात्रु पत्ता लगाउन त्यति सजिलो छैन ।

सबु र हरी त केबल प्रतिनिधि पात्रमात्रै हुन । उनीहरु जस्तै बाध्यताले सार्वजनिक गाडी चढ्नुपर्ने धेरैछन् काठमाडौंमा ।

यता, अत्यावश्यक काम बाहेर घर बाहिर ननिस्कन भनेर सरकारले भने पनि यसको खासै पालना भएको देखिदैन ।

सरकारले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउने निर्णय गरेपछि काठमाण्डौ उपत्यका र अरु जिल्लामा गाडी चल्न थालेका छन । यसले काम विशेषले हिँड्नुपर्ने यात्रुलाई केही राहत भएको छ । सँगै जोखिम पनि उत्तिकै बढेको छ ।

सार्वजनिक बस चढ्दा मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजर लगाउनु पर्ने र एक सिट छोडेर यात्रुलाई राख्नु पर्ने भनिए पनि त्यसो हुन सकेको छैन । यो विषयमा न यात्रु सचेत छन, न चालक, सहचालक नै ।

आफ्नै सुरमा बस चढ्ने यात्रुले सिट छोडेर बस्न ध्यान दिएका छैनन भने सहचालकले पनि यो यो सिटमा मात्रै बस्नुस भन्दैनन् । धेरैजसो गाडीमा स्यानिटाइजर समेत राखेको देखिंदैन ।

सरकारले स्वास्थ्य मापदण्डको पालना गरी गाडी चलाउन भने पनि चालक, सहचालक र यात्रुले समेत लापरबाही गर्ने गरेका हुन । यातायात व्यवस्था विभागले गाडीमा एक लहरमा एक जना मात्रै बस्ने, अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था गर्नेलगायतका मापदण्ड तोकेको भए पनि मापदण्ड अनुसार गाडी चलाउन नसक्दा कोरोनाको जोखिम बढेको छ ।

कतिपय गाडीले सिट क्षमताभन्दा पनि बढी यात्रु राखेको भेटिएको छ । ट्राफिक प्रहरीले सुरक्षा सावधानी अपनाएर गाडी चलाउन आग्रह गर्दै आएको भए पनि त्यसको पालना भएको छैन । त्यस्तै अटेरी गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन यातायात व्यवस्था विभागले पनि आग्रह गरेको छ ।

अटेर गर्नेलाई कारबाही गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिएका छन् । नियम उल्लङ्घन गर्ने गाडीलाई गएको १ गतेदेखि जरिवाना गर्न थालिएको महाशाखाका प्रवक्ता यादवले जानकारी दिए ।

गएको असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी सञ्चालनमा आएका छन भने काठमाण्डौ उपत्यकामा जोरबिजोर नियमका आधारमा गाडी चलिरहेका छन ।

उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक गाडीको अनुगमन र नियम पालनामा थप कडाइ गरेको छ । अनुगमन तीव्र पारेको र नियम नमान्नेलाई कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भीडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाए नलगाएको, बढी भाडा लिएरनलिएको, कोरोना भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरेरनगरेको जस्ता स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन हुनेछ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा चेक प्वाइन्ट राखेर गाडीमा स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमनलाई तीव्र पारेको बताएकाछन् । स्वास्थ्य मापदण्ड पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १ सय ३ मा फोन गर्न पनि महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले आग्रह गरेकाछन् ।

महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरूलाई बोलाएर गाडीमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्न, नियमित सरसफाइ गर्न, कोचिएर यात्रु नराख्न वा सिट क्षमताअनुसार र मापदण्ड अनुसार राख्न सहमति गराएको पनि जनाएको छ ।

तर व्यवहारमा लागुहुन अझै सकेको छैन् ।

एक त ससाना सार्वजनिक यातायात चलाउँनै दिनु भएन् । यदि दिने नै हो भने त्यसमा पनि स्वास्थ्य मापदण्ड पालना किन गराउन सकिदैन् ? अर्को कुरा सरकारले तोकेको मापदण्ड पालना भए नभएको निरिक्षण गर्ने निकाय खै ? यदि नियमको पालना गर्ने गराउन नसक्ने हो भने नियम बनाएर मात्रै केही हुनेवाला छैन । त्यसैले सम्बन्धित निकायको ध्यान यता तर्फ चाँडै जाओस् ।

 

Last modified on 2020-10-02 16:05:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts