'कोरोना संक्रमितको तथ्यांक व्यवस्थापन गर्दागर्दै आफै संक्रमित भएँ'



Download our app to get more features

‘असार १८ गतेदेखि अस्पतालमा पिसिआर मेसिन संचालनमा आएबाट म पनि कोभिड टिममा काम गरिरहेको छु । सधैजसो ल्याबले दिएको तथ्यांक लिने र त्यसलाई मिलाएर सम्बन्धीत निकायसम्म पठाउने मेरो काम थियो । आम जनता तथा संचारकर्मीहरुलाई सहजताका लागि अस्पतालको आधिकारिक फेसबुकमा अपडेट गरिरहने म अहिले पनि ती काम गरिरहेको छु । तर म अहिले कार्यालय जादिन, म आफू बस्ने कोठाबाटै सबै काम गरिरहेको छु । ल्याबका कर्मचारीहरुले मलाई सम्पूर्ण तथ्यांक पठाउँछन् । म यतैबाट ती तथ्यांक मिलाउने काम गर्छु । म कार्यालय जान मिल्दैन, किनकी म कोरोना भाइरस संक्रमित हो । मलाई बिहिबार मात्रै कोरोना पोटेटिभ देखिएको छ ।’

२९ वर्षीय प्रकाशचन्द्र बुढाऐर डडेल्धुरा अस्पतालकाको प्रशासन शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । विगत ३ वर्षदेखि कार्यरत उनको काँधमा यसपटक भने कामबाहेक थप जिम्मेवारी थपिएको छ । उनी कोभिड टीममा छन् । 

कोरोना महामारी आएसँगै डडेल्धुरा अस्पतालमा गत असार १८ गते पिसिआर प्रयोगशाला स्थापना भएको थियो । त्यसपछि बुढाऐर पनि ल्याबका कर्मचारीसँगै काम गर्थे । उनी ल्याबबाट संक्रमित बिरामीहरुको डाटा ल्याएर व्यवस्थापन गर्ने र प्रकाशित गर्ने काममा व्यस्त थिए । 

उनी भन्छन् ‘कोरोना ल्यावमा कोभिड टिम संगै तथ्यांकहरु व्यवस्थापन गर्दा होस् वा प्रशासन कक्षमा जोसुकै सर्वसाधारणसंग सम्पर्क हुदाँ होस्, सकभर कोरोना कवचले बचाउला सोचिन्छ, तर कुनबेला संक्रमित भइन्छ  अनुमान लगाउनै गाह्रो हुन्छ । नचाहदा नचाहदै पनि सम्पर्कमा आइहालिन्छ ।’ त्यहि भएर उनले एक महिनाअघि आफ्नो कोरोना परीक्षण गरेका थिए । ‘त्यो बेला अस्पतालका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले मैलै पनि स्वाब दिएको थिए तर मेरो रिपोर्ट नेगेटिभ आएको थियो’ उनले भने ।
 
आफुलाई संक्रमण नदेखिएपछि उनी फेरि ढुक्कसँग दैनिक कामकाजमा व्यस्त भएका थिए । तर बिहिबार परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आयो । 

कोरोना संक्रमण देखिएपछि प्रकाशचन्द्र आफु बस्ने कोठामै आइसोलेट भएर बसेका छन् । आफुलाई कुनै लक्षण नदेखिएको बताउने उनी भन्छन्, ‘त्यस्तो समस्या केहि भएको छैन, अलि थकान महसुस चाहिँ भएको छ । पहिले पनि राति १२ बजेसम्म त्यहि डाटा व्यवस्थानमा काम गर्थे, अहिले कोठाबाटै गरिरहेको छु । सम्भवत छिट्टै कोरोना परास्त गरेर अस्पताल फर्किन्छु ।’

उनी कोरोना संक्रमितहरुलाई हरेश नखान सुझाव दिन्छन् । ‘कोरोना आफूले चाहेर हुने हैन, यो त अन्जानमा कताबाट सर्छ थाहा नै हुन्न, आफूलाई जित्ने आत्मविश्वास तपाईमा छ भने कोरोना सहजै विस्थापित हुन्छ । यद्यपी यसका लक्षणहरु फरकफरक प्रवृतिको हुने रहेछन् किनकी कोरोना विरामी र यसका अवस्थाहरुको अध्ययनमा म केहि समयदेखि नजिक भएको छु’ उनले भने, ‘सकेसम्म सुरक्षित भएर संक्रमण हुनै नदिने हो । यदि भइहालेमा उच्च मनोबल बनाएर आफ्नो ख्याल राख्ने हो, अरु त के विकल्प छ र ?’

Last modified on 2020-10-09 12:56:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts