विश्व निमोनिया दिवस

वृद्धवृद्धामा निमोनियाको जोखिम उच्च, यसरी गरौं हेरचाह



Download our app to get more features

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित दीर्घरोगी र वृद्धवृद्धालाई प्रभावित बनाएको विभिन्न अध्ययनहरुले देखाएको छ । वृद्धवृद्धामा रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले उनीहरुलाई कुनैपनि रोगले छिटै प्रभावित बनाउँछ । विशेष गरि चिसो मौसममा निमोनिया जस्ता खतरनाक रोगले आक्रमण गर्दा अवस्था झन् जटिल हुन सक्छ । त्यसकारण यो समयमा वृद्धवृद्धालाई निमोनिया हुनबाट जोगाउनु पर्छ । 

६० वर्ष माथिका व्यक्तिको विशेष रुपले हेरचाह गर्नुपर्ने हुन्छ । किनकी उनीहरुको खानपान, स्वास्थ्यको हेरचाह राम्रोसँग भएन भने विभिन्न रोगहरुले आक्रमण गर्न सक्छ । ६० कटेका व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । त्यसमध्येको एक हो निमोनिया । हुन त निमोनिया कुनै एक उमेर समूहलाई लाग्ने रोग होइन । तर, यो रोगबाट विशेषगरि वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् ।

के हो निमोनिया ?
निमोनिया श्वासप्रश्वाससँग सम्बन्धित एक प्रकारको रोग हो । हाम्रो शरीरमा दुईवटा फोक्सो हुन्छन् । फोक्सोमा ठूलो श्वासनली, सानो नली, ब्रोंकाइलगायत विभिन्न खालका टिस्यु हुन्छन् । यिनै टिस्युमा कुनै कारणले संक्रमण भएर फोक्सोको कुनै क्षेत्र वा पूर्ण फोक्सोमा संक्रमण भएपछि हामीलाई निमोनिया हुन्छ । यस्ता संक्रमणले कहिले फोक्सोको तल्लो भागलाई त कहिले मथिल्लो भागलाई असर गरिरहेको हुन्छ । निमोनिया फरक–फरक कारणले लाग्छ । त्यसकारण पहिले कारण पत्ता लगाउन जरुरी हुन्छ । भाइरस, ब्याक्टेरिया र फंगल्सका कारण संक्रमण हुने गर्दछ । यिनै संक्रमणसँग जुध्न नसकेपछि फोक्सोको नियमित काममा असर पर्छ । ब्याक्टेरिया, भाइरस वा फंगल्सले फोक्सोको प्रतिरोधात्मक क्षमता नष्ट गर्छ र त्यसका टिस्युहरूमा संक्रमण फैलाउँदै जान्छन् । फोक्सोका टिस्युलाई संक्रमण गरेपछि पानी जम्ने, पिप जम्ने र कहिलेकाहीँ हावा जम्ने हुन्छ ।

वृद्धवृद्धामा बढी जोखिम
निमोनिया कुनै उमेर विशेष हुँदैन । तर, विशेषगरी वृद्धवृद्धा यसको बढी जोखिममा पर्ने गरेका छन् । उमेर ढल्कँदै गएका वृद्धवृद्धाको फोक्सोका टिस्युहरूमा विभिन्न कारणले गर्दा असर पुगिरहेको हुन्छ । अझ उनीहरूमा कडा खालको दम, मुटुको रोगले पनि सताउने सम्भावना रहेको हुन्छ । यस्तो समस्या भएकालाई सामान्य चिसो वा रुघाखोकी लाग्दा पनि निमोनियाको संक्रमण चाँडै हुन सक्छ । स्वभावैले उमेर ढल्कँदै जाँदा रोगप्रतिरोधी क्षमतामा पनि कमी हँुदै जान्छ र निमोनिया संक्रमण चाँडै हुन्छ ।

दीर्घरोगीहरूमा पनि उस्तै
निमोनियाको अर्को उच्च जोखिम समूह भनेको दीर्घरोग भएका र अंग प्रत्यारोपण गरेका व्यक्ति हुन् । खासगरी लामो समयदेखि औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण भएका बिरामी, दीर्घरोग, फोक्सो, मुटुसम्बन्धी रोग भएका बिरामीलाई चाँडो निमोनियाले सताउन सक्छ । एचआइभी एड्स संक्रमित बिरामीलाई पनि निमोनिया हुनबाट जोगाउनुपर्छ ।

निमोनियाले के गर्छ ?
निमोनियाले बिगार्ने भनेको फोक्सो हो । फोक्सोको काम भनेको बाहिरको स्वस्थ हावा लिएर शरीरलाई चाहिने अक्सिजन पूर्ति गर्ने र कार्बनडाइअक्साइड बाहिर फाल्ने हो, त्यसले श्वासप्रश्वास नियमित हुन दिँदैन । फोक्सो नै स्वस्थ नभएपछि हामीलाई श्वास फेर्न गाह्रो हुन्छ । फोक्सोमा संक्रमण भएपछि हावालाई छान्ने काम हुन सक्दैन । त्यसले आवश्यक मात्रामा अक्सिजन शरीरले पाउँदैन । यसको असरले श्वासप्रश्वास अवरुद्ध भई समस्या सिर्जना हुन्छ । जसले गर्दा मानिसको मृत्युसमेत हुन सक्छ । निमोनियाको उपचार समयमै हुन सकेन भने अन्य विभिन्न किसिमका समस्या थपिँदै जान्छन् । यस्तो अवस्थासम्म समस्या बढ्दै गए संक्रमण भएको फोक्सोको भाग नै काट्नुपर्ने हुन सक्छ ।

कारणहरू
♦ फोक्सोमा भाइरस, ब्याक्टेरिया र फंगल्सको संक्रमण ।

♦ रुघाखोकी बिग्रिएर निमोनिया हुन्छ ।

♦ कहिलेकाहीँ रुघाखोकी नलागी अन्य समस्याका कारण पनि हुन सक्छ ।

♦ एकपटक निमोनिया भएको छ र पूर्ण रूपमा उपचार भएन भने पटक–पटक दोहोरिन सक्छ ।

♦ संक्रमित मानिससँगको असुरक्षित संसर्गबाट पनि निमोनियाको सम्भावना बढी हुन्छ ।

♦ फोक्सोसँग सम्बन्धित समस्या भएकाहरूलाई निमोनियाको उच्च जोखिम हुन्छ ।

रोकथाम
♦ धुवाँ–धुलोबाट बच्ने ।

♦ रुघाखोकी लागेका मान्छेको सम्पर्कमा नजाने ।

♦ बच्चालाई निमोनियाको खोप दिने, कुपोषण हुन नदिने ।

♦ चिसोबाट जोगाउने, वृद्धलाई सामान्य इन्फेक्सन छ भने वेलैमा उपचार गराउने ।

♦ रोगप्रतिरोधी क्षमता कम भएकालाई पनि वेलैमा जाँच गराउने, लामो समय रुघाखोकी निको नभए रगत जाँच गराउने ।

♦ चुरोट, बिँडी नखाने, खाने गरेको छ भने बन्द गर्ने । निमोनियाको औषधि चिकित्सकले दिएको समय अवधिभर नछोडी सेवन गर्नुपर्छ ।

♦ बीचमा छोड्यो भने ब्याक्टेरियाको क्षमता औषधिको भन्दा बढ्न गई पुनस् बल्झन सक्छ र सो औषधिले काम नगर्न सक्छ । रुघाखोकीमा हेलचेक्रयाइँ नगर्ने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts