कोरोनासँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन 'ए' को क्याप्सुल नखुवाउन सरकारको आग्रह



Download our app to get more features

काठमाडौं, ११ मंसिर । सरकारले कोराना भाइरससँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन 'ए' को क्याप्सुल नखुवाउन आग्रह गरेको छ ।

भिटामिन 'ए' क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत सर्वसाधरणसम्म पुर्याउन स्वास्थ्य मन्त्रालयले भनेको छ ।

आज र भोलि राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम देशभर सञ्चालन हुँदैछ । यसअघि कात्तिक महिनामा नै भिटामिन 'ए' र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो । परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिङ तिङ्करीले आज र भोलि देशभरि नै भिटामिन 'ए' र जुकाको औषधि खुवाउने जानकारी दिए । 

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन  ।

 ६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने डाक्टर तिङ्करीले बताए ।  कोरोना संक्रमणलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाले नियमित लिँदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप अहिलेलाई भने स्थगित गरिएको छ ।
 

Last modified on 2020-11-26 11:39:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts