स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

What's This?


Download our app to get more features

म्याग्दी, ७ चैत । म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

फिस्टेल हस्पिटल पोखराको प्राविधिक सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समिति र तातोपानी युवा क्लबले आयोजना गरेको शिविरबाट एक हजार ३ सय २७ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

आठसय ९४ जना महिला र ४ सय ३३ जना पुरुषले सेवा लिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका उपाध्यक्ष योगेन्द्र केसीले जानकारी दिए । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइएको थियो । शिविरमा करिब तीन लाख मूल्य बराबरको औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

सिंगा, तातोपानी, बरञ्जा, कुहुँ र पुलाचौरका साथै तातोपानी कुण्डमा स्नानका लागि आएका देशका विभिन्न स्थानका सर्वसाधारण शिविरबाट लाभान्वित भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए ।

शिविरमा फिस्टेल हस्पिटल पोखराका चिकित्सक प्रदीप घिमिरेको नेतृत्वमा रहेको १० जना विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिएको थियो ।

बाल, दन्त, नाक, कान घाँटी, सर्जिकल, हाडजोर्नी, नसारोग, पेट, छाती तथा मुटु, स्त्री तथा प्रसूति रोगका बिरामीको उपचारका साथै भिडियो एक्स–रे, रक्तपरीक्षण, इसिजी, प्रयोगशाला र जनरल फिजिकल सेवा दिइएको थियो ।

रासस

 

Last modified on 2016-03-20 18:09:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts