'स्थिर' सरकारको अस्थिर स्वास्थ्य क्षेत्रः तीन वर्षमा ४ मन्त्री फेरिए



Download our app to get more features

काठमाडौं, १७ पुस । मुलुक संघीय संरचनामा गएपछि स्थायी सरकार गठन भयो । विभिन्न संघर्षपछि मुलुकमा स्थापित लोकतन्त्र र गणतन्त्र र त्यसपछि पनि अस्थायी रहेको नेपालको राजनीतिमा स्थायीत्व कायम हुने आशाले संघीयताको परिकल्पना गरेर ३ वर्ष अघि केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । स्थायी सरकार भनेर गठन भएपछि मुलुकको स्वास्थ्य क्षेत्र भने कहिले स्थीर रहेन । 

स्थायी सरकारको परिकल्पना गरिनुको मुख्य उदेश्य नै कम्तिमा पनि एउटा सरकारले ५ वर्षसम्म निर्धक्कसाथ काम गर्न पाउनु थियो । तर, स्वास्थ्य मन्त्रालयको हकमा भने त्यसो हुन सकेको छैन । स्थिर सरकारको अस्थिर गतिविधिका कारण स्वास्थ्य जस्तो संवेदनशिल मन्त्रालय सँधै अस्थिर नै रह्यो । 

सरकार गठनको समय राज्यमन्त्रीले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको नेतृत्व तीन वर्षको अवधिमा चौथों पटक परिवर्तन भइसकेको छ । सरकार गठनको समय फागुन ३ देखि पद्मा कुमारी अर्यालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राज्यमन्त्रीको हैसियतले पाएकी थिइन् । त्यसपछि २०७५ साल जेठ १४ मा उपेन्द्र यादवले पूर्ण जिम्मा पाउँदै स्वास्थ्य मन्त्रालय सम्हाले । उनले जिम्मेवारी सम्हालेपछि कर्मचारी समायोजनको विषय आयो । त्यो पनि नटुंगिदै उनल २०७५ पुस ८ गते पदबाट राजीनामा दिए ।

आफूलाई बिना जानकारी मन्त्रालय परिवर्तन गरिएको भन्दै यादवले पदबाट राजीनामा दिए । यादवपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकालले पाए । मंसिर ५ मा प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ढकाललाई दिएका थिए । 

ढकाल मन्त्री बनेदेखि नै बेला बेला विवादमा तानिदै आएका थिए । कोरोना महामारी सुरु भएदेखि नै स्वास्थ्य सामग्री खरिद, कर्मचारी सरुवा लगायतका विषयमा विवादित मन्त्रीले कोरोना महामारीलाई लिएर गर्न सक्ने जति काम नगरेको भन्दै नागरिक र विज्ञहरुबाटै आलोचित बने । यो क्रम जारी रहेको बेला प्रधानमन्त्री ओलीले फेरि स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्रीलाई नियुक्त गरे । मन्त्री हेरफेर गर्नमा रमाउने प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीको रुपमा हृदेश त्रिपाठीलाई स्वास्थ्यको साँचो सुम्पे । स्थिर भनिएको सरकारमा अस्थिर स्वास्थ्य मन्त्रालयलाई देखेर सबैले कुरा काट्न सुरु गरे । 

एउटा लयमा काम गरिरहेका, एक थरि योजना बनाएर अघि बढिरहेका मन्त्रीलाई अचानक परिवर्तन गरिदिँदा त्यसले पक्कै पनि स्वास्थ्य क्षेत्रलाई राम्रो हुँदैन । यसको ज्वलन्त उदाहरण स्वास्थ्य मन्त्रालय र वर्तमान काम चलाउ सरकार हो ।

स्थिर भनिएको सरकारको अस्थिर कदमले स्वास्थ्य क्षेत्रमा कस्तो प्रभाव पर्दैछ ? जनस्वास्थ्य विज्ञ र पूर्व स्वस्थ्य सचिवको धारणा यस्तो छ :

सुजन मरहट्ठा, जनस्वास्थ्य विज्ञ
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा स्थायीत्व भएन भने त्यसको काम प्रभावकारी हुनै सक्दैन । अहिलेको सरकार भनेको त स्थायी र स्थिर सरकार भनेर गठन गरिएको हो । तर, तीन वर्षमै ४ जना मन्त्री परिवर्तन हुनु पक्कै पनि त्यसले राम्रो गर्दैन नेपालको स्वास्थ्य क्षेत्रमा । कुनैपनि क्षेत्रमा स्थायीत्व भएन भने त्यसले प्रभावकारी र दीर्घकालिन प्रभाव पर्ने गरि काम गर्न सकिँदैन । त्यसकै उदाहरण हो अहिलेको सरकार । 

स्वास्थ्य क्षेत्र भनेको प्राविधिक क्षेत्र हो । यसमा यदि स्थायीत्व भएन भने सरकारले बनाएको ऐन नियम र नीति अनुसार काम गर्न सक्दैन । स्वास्थ्य मन्त्रालयमा स्थायीत्व नभएकै कारण नेपालको जनस्वास्थ्यको अवस्थालाई उदाङ्गो बनाइदिएको छ । कोरोना महामारीको समयमा समेत सरकारले स्वास्थ्यमा स्थायीत्व दिन नसक्दा त्यसले सरकारको व्यवस्थापकीय पक्ष कमजोर रहेको छ भन्ने पनि प्रस्ट पारेको छ । स्वास्थ्यमा अस्थिरतका कै कारण कोरोना महामारी मात्रै होइन नेपालको समग्र स्वास्थ्य क्षेत्र नै कमजोर र असफल रहेको भन्ने कुरालाई पनि उजागर गरेको छ । 

पाँच वर्ष त परै जाओस स्वास्थ्यमा आएका एकजना मन्त्रीले पनि पूरै कार्यकाल काम गर्न सकेका छैनन् हालसम्म । मन्त्रालयमा आउँदा काम बुझ्न र त्यसलाई कार्यान्वयनमा ल्याउनै एकजना मन्त्रीलाई कम्तीमा पनि ६ महिनाको समय लाग्छ । प्रशासनीक र प्राविधिक पक्षमा अनभिज्ञ हुँदा नयाँ नेतृत्वलाई झन् चुनौती थपिदिने काम गर्छ । जसले गर्दा मन्त्री मात्रै होइन कर्मचारीलाई पनि काम गर्न समस्या हुन्छ । एकजना मन्त्रीको एक थरी भिजन हुन्छ । उनले त्यसै अनुसारको काम गरिरहेका हुन्छन् भने काम गर्दागर्दै अर्कोमन्त्री आइदिँदा फेरि तिनको सबै योजना अर्काले बुझ्न र गर्न सक्दैनन् । जसले गर्दा स्वास्थ्य क्षेत्र झन् झन् दयनीय बन्दै जान्छ । यसले नेपालको स्वास्थ्य क्षेत्रले कहिले पनि प्रगति गर्न सक्दैन ।

डा.किरण रेग्मी, पूर्व स्वास्थ्य सचिव 
स्वास्थ्य मन्त्रालय एक संवेदनशिल मन्त्रालय हो । यो कुरा हामी सबैलाई थाहा छ । तर, स्वास्थ्य मन्त्रालय कसैको पनि प्राथमिकतामा परेन । स्वास्थ्य मन्त्रालयमा आउन मन्त्रीहरु नमान्दा पनि स्वास्थ्य क्षेत्र पछि परेको हो । कोहि एकजनाले जब मन्त्रालयको जिम्मेवारी पाइसक्छन् अनि कामका लागि बुझ्ने प्रयास गर्छन् र बुझेर काम गर्न थालेपछि मन्त्री नै परिवर्तन हुन्छन् । जसले गर्दा स्वास्थ्य क्षेत्रको विकास र स्थायीत्व हुन सकेको छैन । 

नेपालका अस्पतालहरुको न्यूनतम गुणस्तर मापदण्ड पनि खस्किँदै गएको छ । स्वास्थ्यका कुनैपनि निकायमा स्थायी रुपले काम गर्न नसक्दा नेपालको स्वास्थ्य स्थिति कमजोर हुँदै गएको छ । प्राविधिक क्षेत्र भएकाले यसमा प्राविधिक ज्ञानका साथै व्यवस्थापकीय ज्ञानको पनि उत्तिकै आवश्यकता हुन्छ । अन्यथा स्वास्थ्य क्षेत्रमा काम गर्न समस्या मात्रै हुँदैन गरिएका कामले पनि स्थायीत्व पाउँदैन । स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीलाई जोगाउन र नयाँ कामको तर्जुमा गर्नका लागि पनि स्वास्थ्य मन्त्रालयमा स्थायीत्व र स्थिरता हुनु आवश्यक छ । पार्टीबाट बाहिर नस्किनेले कहिलेपनि स्वास्थ्यलाई उकास्न सक्दैन । यसको प्रभाव दीर्घकालिन रुपमा नै देखिन्छ । बल्ल बल्ल काम बुझेर कार्यान्यवनमा लगिएको हुन्छ त्यतिकैमा मन्त्री परिवर्तन हुन्छन् अनि भएका काम पनि अधुरो नै रहन्छन् । जसले समग्र नेपालको स्वास्थ्यमा नै चुनौती थप्ने काम गर्छ ।

Last modified on 2021-01-02 07:35:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts