चितवनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमणको दर, सबैभन्दा बढी सक्रिय संक्रमित भरतपुरमा 



Download our app to get more features

चितवन, १९ चैत । चितवनमा चैतको पहिलो सातासम्म नियन्त्रणमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर फेरि बढ्न थालेको छ ।

चैतको पहिलो साता जिल्लामा २२ जना सक्रिय संक्रमित रहेका थिए । भरतपुर र रत्ननगर बाहेक सबै स्थानीयतह संक्रमणमुक्त भएका थिए । यसरी नियन्त्रण तर्फ रहेको कोरोना संक्रमण केही सातायता उकालो लाग्दै छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुधवार दिउँसोसम्म जिल्लामा ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये ८६ प्रतिशत भरतपुरका, ७ जना अस्पताल भर्ना
जिल्लामा रहेका ३५ जना सक्रिय संक्रमित मध्ये ३० जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । यो जिल्लाभर सक्रिय संक्रमितको ८६ प्रतिशत हो । जसमध्ये ७ जनालाई अस्पतालमा भर्ना गरि उपचार गरिदै छ । ती मध्ये केहीमा जटिल प्रकृतिका कोरोना लक्षण समेत देखिएको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिकामा मात्रै अहिलेसम्म ५ हजार ६ जनामा संक्रमण भएको छ । जसमध्ये ४ हजार नौ सय सात जना निको भईसकेका छन् । त्यस्तै ६९ जनाको मृत्यु भएको छ ।

जिल्लाका चार स्थानीयतह कोरोना संक्रमणमुक्त
जिल्लाका सातवटा स्थानीयतह मध्ये चारवटा संक्रमणमुक्त रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी संक्रमणमुक्त हुनेमा रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामना रहेका छन् ।

संक्रमित मध्ये एकसय दश जनाको मृत्यु 
जिल्लाभर अहिलेसम्म ६ हजार ९ सय २० जना कुल संक्रमित मध्ये एकसय दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका भित्रका सबैभन्दा बढी छन् । त्यस्तै, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबैभन्दा कम रहेका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिकामा ६९ जना, रत्ननगर नगरपालिकामा १३ जना, कालिका नगरपालिकामा ८ जना रहेका छन् । खैरहनी र राप्ती नगरपालिकामा समान ९/९ जना रहेका छन् । त्यसैगरी माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान एक/एकजना रहेका छन् ।

यसैबीच जिल्लाभर अहिलेसम्म संक्रमित मध्ये ६ हजार ७ सय ७५ जना निको भईसकेका छन् । 

कोरोनाबाट बच्न र संक्रमण फैलिन नदिन डाक्टरको आग्रह 
संक्रमित व्यक्तिबाट संक्रमण फैलाउन नदिन र स्वस्थ व्यक्ति संक्रमित नहुन दुवै अवस्थामा मास्क महत्त्वपूर्ण हुँने चितवन मेडिकल कलेजका ग्यास्ट्रो इन्टेरोलोजी विभागीय प्रमुख वरिष्ठ डा. बरूण श्रेष्ठले बताए । उनले नाकमुख र चिउँडो राम्रोसँग ढाक्नेगरि मास्क लगाउन समेत अनुरोध गरे ।

‘हामीले लगाएको मास्क केही खान, पिउन, अन्य केही गतिविधिको लागि वा बोल्दा मास्कलाई चिउँडोमा झार्छौँ र काम सकिसकेपछि माथि साछौँ ।’ उनले भने ‘मास्क लगाउँदा चिउँडोभन्दा मुनिको भाग खुल्ला नै रहेको हुन्छ । चिउँडोभन्दा तल मास्क झार्दा उक्त खुला ठाउँमा भएका भाइरसहरु मास्कको भित्री भागमा टाँसिन्छन् । फेरि मास्क लगाउदा उक्त भाइरस हाम्रो नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । जसले गर्दा संक्रमणको जोखिम झनै बढाउँछ ।’

उनले मापदण्ड पुरा गरेका खासगरी सर्जिकल मास्क, एन ९५ वा के एन ९५ प्रयोग गर्न सुझाव दिएका छन् । नाक मुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुन्ड्याउने, मास्क हातमा झुन्ड्याउने, कानमा झुन्ड्याउने, बाईकमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचि लगाउने जस्ता गलत प्रयोगले झनै जोखिम बढाउँने उनले जनाए । कोरोना भाइरसबाट आफुँ जोगिन र अरुलाई जोगाउन  सबैले सही तरिकाले मास्कको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

एकपटक प्रयोग गरेको मास्कहरु पटक–पटक प्रयोगमा ल्याउनु झनै असुरक्षित हुन्छ । मास्कलाई सकेसम्म ४ देखि ८ घण्टाभन्दा बढि समयसम्म प्रयोग गर्नु हुँदैन । त्यसलाई प्रयोग गरिसकेपछि जथाभावी फ्याक्नु हँदैन । सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्छ । मास्कको अगाडि वा भित्री भागमा हातले छुनु हुँदैन उनले भने ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् । भिडभाड हुने सरकारी कार्यालय, अस्पताल, सार्वजनिक यातायातहरूलाई व्यवस्थित बनाउनु पर्ने विभागीय प्रमुख डा. श्रेष्ठले  बताए ।

Last modified on 2021-04-04 08:52:15

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts