चितवनमा महिलाको तुलनामा पुरुष क्षयरोगी बढी 

What's This?


Download our app to get more features

चितवन, १० चैत्र । चितवनमा तीन जना पुरुषलाई क्षयरोग देखिँदा दुई जना महिलामा समेत यो रोगको संक्रमण देखिने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ट अधिकृत जयराम दुवाडीका अनुसार चितवनमा गत साउनदेखि फागुनसम्म ८ सय जनामा क्षयरोगी भेटिएकोमा ३८ प्रतिशत महिला रोगको किटाणु भेटिएको छ । 
चितवनमा चालु आर्थिक वर्ष २०७१/०७२ मा एक हजार चार जना जनामात्र क्षयरोगी भेटिएका थिए । त्यसैगरी, ७०/७१ मा एक हजार दुई सय एक जना क्षयरोगी रहेका दुवाडीले बताए । पछिल्लो समय क्षयरोगीको संख्या घट्दो क्रममा रहेको दुवाडी बताउँछन् । चालु आर्थिक वर्ष २०७२/०७३ को आठ महिनाको अवधीमा चार सय ३४ जना नयाँ बिरामीको खकारमा क्षयरोगका किटाणु भेटिएका छन् । 


चितवनमा यो आठ महिनाको अवधीमा पुन क्षयरोग देखिएर उपचार गर्न आउनेको संख्या एक सय १९ जना रहेको र १५ देखि २४ वर्ष उमेरका युवाहरुमा बढी क्षयरोगको समस्या भेटिएको समेत दुवाडीले जानकारी दिए । चितवनमा भेटिएका क्षयरोगीमध्ये ९० प्रतिशतलाई रोग निको हुने गरेको र दुई दशमलब चार प्रतिशत क्षयरोगका कारण मर्ने गरेका दुवाडीले बताए । चितवनमा क्षयरोग पत्ता लगाउने दर ७८ प्रतिशत रहेको छ भने बाँकी २२ प्रतिशत बिरामीको क्षयरोग अझैपनि पत्ता लगाउन कठीन भएको उनले बताए । 


क्षयरोगको उपचारका लागि चितवनमा ५७ वटा केन्द्रहरु, १४ ठाउँमा खकार परीक्षण गरी रोग पत्ता लगाउने, एउटा जिन एक्पोर्ट रहेको र ११ वटा सहरी उपचार केन्द्र रहेको छ । जिन एक्सपोर्टबाट स्वचालित रुपमा रोगीमा क्षयरोग भएको पत्ता लगाउन सकिने दुवाडीले बताए । जिन एक्सपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको ल्यावमा राखिएको र उक्त मेसिनबाट यस वर्ष तीन सय ३२ जनाको खकार परीक्षण गरिएको दुवाडीले जानकारी दिए । 


चैत ११ गते परेको विश्व क्षयरोग दिवसको अवसरमा बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जनस्वास्थ्य कार्यालय चितवनले क्षयरोग नियन्त्रणको लागि समुदाय स्तरमा सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ । 
त्यसैगरी, क्षयरोग बल्झिएर पुन उपचारमा आएका बिरामीको लागि उपचार अवधीभर मासिक रुपमा पोषण खर्च बापत पाँच सय रुपैयाँ प्रदान गर्दै आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुदन कोइरालाले बताए । स्वास्थ्य संस्थाहरुमा निशुक रुपमा पाइने क्षयरोगको औषधि नियमित रुपमा छ देखि आठ महिनासम्म खाएमा पूर्णतया निको हुने कोइरालाको भनाइ छ । 


लगातार दुई हप्ता वा त्यो भन्दा बढी समसम्म खोकी लागेमा, छाती दुखेमा, बेलुकी पख हलुका पसिना सहित ज्वरो आएमा खानामा रुची नभए क्षयरोगको लक्षण समेत हुनसक्छ । मानिसमा लाग्ने क्षयरोगमध्ये ८० प्रतिशत क्षयरोगले फोक्सोमा संक्रमण गर्ने गर्दछ । फोक्सोको क्षयरोगीमध्ये ५० प्रतिशत क्षयरोग सरुवा खालको क्षयरोग हुने चिकित्सकहरु बताउँछन् । फोक्सो बाहेक ग्रन्थी, हाडजोर्नी, पेट, प्रजनन तथा मुत्र प्रणालीमा समेत क्षयरोगको लक्षण देखिने गरेको छ । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts