अन्तराष्ट्रिय याेग दिवस

योग एक यस्तो विज्ञान जसले मानिसलाई विभिन्न रोगबाट मुक्ति दिलाउँछ



Download our app to get more features

मानिसहरुले नबुझिकन योगलाई योगा भनेपनि योग योगा नभई 'योग' नै हो । योग आशनमात्र नभई समाधीसम्मको अवस्था र प्रकृया हो । यो हाम्रै भूखण्ड, हिमालयमा विकास भएको मौलिक जीवन विज्ञान हो । हजारौ वर्ष लामो इतिहास बोकेको योगको अर्थ पद्धति र विधाहरु अनेकौ छन् । योगलाइ व्यक्तिको रुचिस्तर, सामथ्र्य, संस्कार अनुरुप अपनाई यसलाइ मानवीय चेतनाको शिखरमा पुर्याउन सकिन्छ । 

योग भनेको शारीरिक मानसिक र आध्यात्मिक रुपमा जीवन जिउने संस्कृती र कला हो । योगले मानिसको चेतनालाई समग्र चेतनासँग जोड्ने काम गर्दछ । योगबाट नै समाधी या मोक्ष प्राप्त गर्न सकिन्छ । योग मानव जीवनको अनिवार्य आवश्यकता भइसकेको छ । योग स्वास्थ्य, शान्ति र आनन्दपुर्ण जिन्दगीको मुल स्रोत हो । धन सम्पति पदले नदिने जीवनको सुख शान्ति केवल योगले नै दिन्छ । त्यतिमात्र नभएर आफैसंगको मेल, ईश्वरियताको महसुस र शुन्यतामा लीन भई वास्तविक मुक्तिको लागि योग गर्नुपर्दछ । 

विश्व नै कोरोना महामारीको चपेटामा परेको बेला विज्ञहरुले होम आइसोलेसनमा बसेकाहरुलाई र अन्य सामान्य अवस्थाका मानिसहरुलाई योग गर्नका लागि सुझाव दिने गर्छन् । लामो समयसम्म व्यायाम गर्नुभन्दा योग गर्नु राम्रो हुने चिकित्सकहरुको भनाइ छ । योग गर्दा तनाव व्यवस्थापनदेखि अन्य रोगबाट पनि मुक्ति मिल्ने डाक्टरहरु बताउने गर्छन् ।

योग
योग संस्कृत शब्द हो । यसको प्रथम पटक प्रयोग ऋगवेदमा भएको मानिन्छ । योग हिन्दुहरुको ६ वटा दर्शनहरु मध्येको एक महत्वपुर्ण दर्शन पनि हो । योग अति प्राचिनतम गन्थ्र पनि हो ,यसको उत्पती करिब १० हजार वर्ष पहिले भएको मानिन्छ । योग कुनै एक ऋषि, योगी वा सन्तको योगदान नभएर धेरै ऋषि, योगी वा सन्तहरुको योगदान हो । योगको उत्पती सिन्धुघाटी सभ्यातामा तथा हिमवत खण्डमा भएको हो । 

योगको अर्थ हो सत्यसँगको जोड । सत्यसँग जोडिनु त्यति सहज छैन । सत्य अति सुक्ष्म र दिव्य छ । सत्यको आचरणबिना सत्यको अनुभूति गर्न सकिँदैन । त्यसैको लागि योग साधनाको आवश्यकता छ । योग मानव शक्तिलाइ सन्तुलित तरिकाबाट सुधार्ने तथा विकसित गर्ने एक अनुशासन हो । यसले आत्म साक्षात्कार गर्ने मार्ग प्रदान गर्दछ ।  

संस्कृत शब्द योग युज् धातुबाट बनेको, योगको सामान्य अर्थ जोड्नु हो । निम्न तत्वहरुसँगको मेललाइ योग भनिन्छ । 
– शरीरसँग स्वास्थ्य   – मनसँग एकाग्रता र धारणा  – आत्मासँग आनन्द वा परमात्मा जोड्नु योग हो ।

युज धातुलाई स्पस्ट पार्न अन्य तीन अर्थहरु – 
१.
 संयमलाई योग भनिन्छ– मन, इन्द्रिय चित्तवृत्तिहरुको संयम गर्नु योग हो ।
२. समाधीको स्थितिमा पुग्ने पुरुषार्थ पनि योग हो ।
३. आत्मा परमात्माको मिलन योग हो ।

अध्यात्मिक साधनाको क्षेत्रः 
योग आत्मसाक्षात्कार र आत्माविकासको साधना हो । जतिपनि ग्रन्थ आप्तवचन र आर्य साहित्य जन्मिए सबै समाधीस्थ अवस्थाबाट जन्मिएका हुन । योग साधनामा हठयोग लगायत ज्ञानयोग ध्यानयोग, कर्मयोग, भक्तियोग, क्रियायोग, मन्त्रयोग नादयोग प्रयुक्त छन् । साधकको दुषित कर्मबाट रुपान्तरण गरी सत्वगुणीतर्फ आत्मिक स्तर उठाई व्यक्तिलाइ समाज रुपान्तरणको संवाहक बनाउछ । योग पुर्ण वैज्ञानिक र पुर्ण व्यवहारिक अवधारणा हो । कतै नभएको समस्याको समाधान, निको नभएको रोगोपचार र निराशाको शमन योगले गर्दछ ।

योग वैज्ञानिक कोणबाट

  • योग क्रियाहरुलाइ वैज्ञानिक शोध, मापन, परीक्षण र अध्ययन गर्न सकिन्छ ।
  • योगाभ्याँसबाट हुने लाभलाई, परिवर्तनलाई प्रयोगशालामा परीक्षण गर्न सकिन्छ ।
  • चिकीत्सा पद्दतीको रुपमा योग क्रियाको प्रभावलाई औषधि इन्जेक्सन र अप्रेशन जस्तै अनुभव गर्न सकिन्छ ।
  • योगको प्रभाव ढिलो तर दीर्घकालिन हुन्छ । जसरी आधुनिक चिकीत्साको सुरुवात विभिन्न वैज्ञानिकहरुले प्रयोग, खोजबाट आविष्कार गरे त्यस्तै सुक्ष्मदर्षि , महर्षिहरुले प्रयोग र प्रयासबाट आविष्कार गरे ।
  • आधुनिक स्वास्थ्य चिकीत्सा पद्दतिलाई वैज्ञानिकरुपमा प्रमाणित गर्ने विविध ग्रन्थ भए जस्तै योग विज्ञानलाई प्रमाणित गर्ने हजारौँ ग्रन्थहरु छन् ।
  • मनन गर्नुपर्ने कुरा के छ भने जहाँ आधुनिक चिकीत्साको पहुँच र प्रभाव समाप्त हुन्छ योगको पहुँच त्यो भन्दा धेरै टाढासम्म हुने गर्दछ ।

व्यवहारिक अर्थ
वस्तु तथा जीव सबैको सकारात्मक पक्ष र नकारात्मक पक्ष हुन्छन् । जसलाई पतञ्जलीले क्रमशः शुक्लपक्ष र कृष्णपक्ष भनेको छन । एउटा अस्तित्वमा दुई पाटा हुनु प्राकृतिक कुरा हो । जुन कुराले नकारात्मक पाटोलाई घटाउँदै सकारात्मक पाटोलाइ बढाउँदै सकारात्मकताको शिखरमा पुग्न अवलम्बन गरिने व्यवहारीक साधना नै योग हो ।

योगले शरीरभित्रको मलविकारहरु नष्ट गर्दछ । शरीर मल विकारले रहित शुद्ध र स्थिर नभएसम्म इन्द्रिय र मन एकाग्र हुदैन ।

हठयोग अन्तर्गतका शुद्धिक्रियाहरु वस्ती, नौली , धौती, नेती, त्राटक कपालभाती योगका शारीरिक क्रियाहरु हुन् । महर्षी पतञ्जलीद्धारा निर्दिष्ट यम नियम आन्तरिक शुद्धिकरणका साधनहरु हुन् । शरीरको आन्तरिक र बाह्य शुद्धि भएपछि आसन, प्राणायामद्धारा शरीरमा स्थिरता दृढता र उध्र्वगामिता आउन थाल्छ ।

जव व्यक्तिको शरीर शुद्ध र प्राण उध्र्वगामिता हुन्छ, मनमा पनि एकाग्रता बढी कर्महरु उन्नत र योगनिष्ठ हन्छन ।

योग गर्नु अगाडिको तयारीहरु :

  • मानसिकता : योगप्रति  सकारात्मक आस्था, श्रद्धा हुनु जरुरी छ । योग सुरु गर्दा मन्त्र उच्चारण गर्ने । 
  • उचित समय : बिहान ब्रह्ममुहुर्त, खाली पेट शौच क्रिया समाप्ती पछि ।
  • स्थान : शान्त ,एकान्त ,हावाको आवतजावत भएको खुल्ला स्थानमा राडी वा म्याटको प्रयोग सहित ।
  • पहिरन : खुकुलो कपडा, सुतीको कपडा, हातगोडाबाट सिक्री माला घडी निकालेको अवस्था ।
  • पानी या कफी : योगाभ्यास गर्नुभन्दा १५ मिनेट अघि या पछि मात्र पिउने ।
  • नुहाउने कुरा : अभ्यास अघि नुहाउदा राम्रो
  • श्वासप्रश्वास : योगको हरेक अभ्यासमा  उज्जायी वा सामान्य श्वासप्रश्वासमा ध्यान दिनुपर्छ । छाती तन्क्दिा पछाडी फर्किदा श्वास लिने गर्नुपर्छ भने निहुरिदा छाती खुम्चदा श्वास फाल्नु पर्छ ।
  • विश्राम : हरेक २,३ वटा आसनपछि विश्राम लिनु स्वस्थकर हुन्छ । ६० मिनेटको योगाभ्यासको अन्तमा १० मिनेट योगनिन्द्रा गर्ने ।
  • स्वक्षमता : आफ्नो मनोशारिरीक क्षमताअनुसार योग गर्नु राम्रो हुन्छ ।
  • सजगता : होसपुर्वक गरीएको योगाभ्यास स्थायी र लाभप्रद हुन्छ । श्वासमा सजकता 
  • हरपल सजग रहौ, मनैदेखि डुबेर गरौ । योगासन मौन रहेर गरौ ।
  • मल मुत्र वेग : यदि योगाभ्यासको क्रममा मलमुत्र आए गरिहाल्नु पर्छ ।
  • मोवाइल : सकेसम्म मोवाइल स्विचअफ गर्ने ।
  • समयावधि : योगअभ्यास घटिमा ३० मिनेट गर्ने ।
  • रोगावस्था : असक्त अवस्थामा योग नगर्ने । महिनावरी भएको बेला ध्यान मात्र गर्ने वा सरल योग गर्ने ।
  • नियमित र निरन्तरताः प्रतिदिन  योगअभ्यास गर्ने
  • खाली पेट : ठोस खाना खाएको ३ घण्टापछि गर्ने ।
  • थकावट र निन्द्रा : यस्तो अवस्थामा योग नगर्ने ।
  • व्रत या कल्प साधना : यस्तो अवस्थामा कठिन साधना नगर्ने ।

विज्ञ, जान्ने बुझ्नेसँग सम्पर्क राख्ने । आफुखुसी नगर्ने । यसको कुनै साइड इफेक्ट हुदैन तर लामो समयसम्म जथाभावी ढंगले गर्दा हानी अवश्य हुन्छ ।

Last modified on 2021-06-21 10:18:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts