उच्च रक्तचाप र मस्तिष्क रक्तश्राव के हो ? यसो भन्छन् डा. प्रविण



Download our app to get more features

उच्च रक्तचाप आजभोलि एक सामान्य शब्द बनिसकेको छ । किनभने आजकल यो समस्या धेरै मानिसमा देखिन्छ र धेरैले यस बारेमा सुनेको पनि हुन्छ । सामान्य बोलीचालीको भाषामा प्रेसर भनेर चिनिने यो समस्या त्यति धेरै जनचासोको विषय भएको जस्तो देखिदँन र धेरैले आफूलाई उच्च रक्तचाप भएको थाहा हुँदाहुँदै पनि वास्ता गरेको र नियमित औषधि सेवन गर्ने गरेको देखिँदैन । यो एक जनास्वास्थ्यको हिसाबले सामान्य कुरा होइन बरु एक दुःखद कुरा हो ।  

जनचासोको हिसाबले हेर्दा उच्च रक्तचापलाई धेरै मानिसले सहजै स्वीकार्न खोज्दैनन् र यसको उपचार गर्ने या यसको लागि औषधिको सेवन गर्ने कुरालाई धेरैले आवश्यक ठान्दैनन् । यसको कारण उच्च रक्तचाप आफैंमा एक रोग मात्रै नभई अन्य थुप्रै घातक रोगको कारण पनि हो भन्ने बुझाई नहुनु नै हो ।

उच्च रक्तचापको रोग लागिसकेपछि यसलाई चुपचाप स्विकार्नु र यसको उपचार गर्नु बाहेक अर्को उपाय नै छैन । यो एउटा कहिलै ननिभ्ने आगो हो, यो आगो लागिसकेपछि यसलाई कम गर्न औषधिरुपी पानी हालिराख्नु पर्दछ । यदि यो आगो निभ्यो होला भनेर पानी बन्द गर्यो भने यो फेरि आफै सल्किन्छ र यदि यो दन्क्यो भने यसले मानव शरीरलाई ठूलो क्षति पुर्याउदछ ।

एकचोटी औषधि सुरु गर्यो भने जीन्दगीभरि औषधि खाइराख्नु पर्दछ भन्ने गलत बुझाईका कारण मानिसहरु औषधि देखि डराई रोग पालेर बस्दछन् । त्यस्तै आयूर्वेदको नाममा नामै नखुलेको र अन्य विवरण केही नभएको, किराना पसलमा सहजै किन्न पाइने औषधिको सेवन गर्दछन् जसले गर्दा रक्तचाप नियन्त्रणमा नआई अकस्मात दुखद घटना घट्ने गरेको हामी धेरैले धेरै पटक सुन्ने गरेका छौं । माथि उल्लेख गरिए जस्तै एकचोटी उच्च रक्तचापको समस्या आए पछि यो हराउदैन जसले गर्दा औषधि खाइराख्नु बाहेक अरु उपाय नै हुँदैन । यो औषधिको होइन रोगको दोष हो ।

औषधिको नियमित सेवन गरेन भने यसलाई नियन्त्रण गर्न निकै गार्हो हुने मात्रै होइन कहिलेकाहिँ यो अकस्मात यति उच्च भइदिन्छ कि यसले क्षणभरमै मानव शरीरलाई यस धर्तिबाट बिदा गरिदिन्छ ।
 
अहिलेको आधुनिक समयमा हाम्रो समाजमा उच्च रक्तचापको समस्या यति धेरै छ कि यदि कसैलाई उच्च रक्तचाप छैन भन्यो भने अचम्म मान्नु पर्ने हुन्छ । रक्तचापको मापन नै नगरिकन या एक दुई पटक मात्रै रक्तचाप मापन गरेर मलाई उच्च रक्तचाप छैन भन्नु गल्ति हुन्छ ।

त्यस्तै उच्च रक्तचापलाई बेवास्ता गरेर औषधि सेवन नगरेकाहरुले पनि मलाई उच्च रक्तचाप छैन भन्ने भ्रममा परेको देखिन्छ । तसर्थ सहि अर्थमा उच्च रक्तचाप नभएको मानिस अहिले हाम्रो समाजमा भेट्न गार्हो छ । तसर्थ यदि कसैले मलाई रक्तचापको समस्या छैन भन्यो भने त्यो त्यो उसको लागि दुखद हुन सक्दछ किनकि त्यसको मतलब या त उसलाई आफूलाई रक्तचापको समस्या भएको थाहा नभएको हुन सक्दछ या त समस्या भएता पनि औषधि सेवन नगरेको हुन सक्दछ ।

कतिपयले औषधि सेवन नगरेपछि आफूलाई रोगै नभएको ठान्दछन् । आफू स्वस्थ भएको भ्रम पाल्न पनि कोही कोही त्यसो गर्दछन् । तर यदि उसलाई समस्या छ भने त्यो उसको लागि सुखद हुन सक्दछ किनकि उसले औषधि नियमित  खाएको छ भने उच्च रत्कचापबाट हुन सक्ने समस्याबाट ऊ सहजै बच्न सक्दछ ।

रक्तचापले गर्दा हुन सक्ने घातक रोगहरु धेरै छन् । हृदय रोग, पक्षघात, मृगौलाको रोग आदि उच्च रक्तचापबाट हुन सके दीर्घ रोगका केही उदाहरण हुन् । स्वस्थ नवजवानहरु पनि अकस्मात हृदयघात भई मृत्यु भएको कुरा नौलो हुन छाडेको छ हाम्रो समाजमा । त्यस्तै मस्तिष्कघात/पक्षघात भई अपाङ्ग भएको या आजीवन ओछ्यान परेको कुरा पनि आजभोली धेरै सुन्न पाइन्छ । दुवै मृगौलाले काम नगरेर मृगौला नै फेर्नु परेको कुराको बारेमा पनि यहाँ धेरै उल्लेख गरिरहनु आवश्यक छैन ।

उच्च रक्तचाप समयमै नियन्त्रण नगरेर हुनसक्ने घातक रोगहरु मध्ये एक हो मस्तिष्क रक्तश्राव जसलाई ब्रेन हेमोरेज (Brain Hemorrhage) पनि भनिन्छ । उच्च रक्तचापले शरीरका विभिन्न अंगहरुको रक्तनली (नशा)लाई पातलो बनाउंदै लग्ने गर्दछ ।

सामान्यतया शरीरका रक्तनलीहरु दैनिक जीबनमा आवश्यकता अनुसार फुल्ने सुक्ने गर्दछ र त्यस अनुसार हाम्रो शरीरमा रक्तचाप एउटा सीमाभित्र स्थिर भएर बसेको हुन्छ । तर उच्च रक्तचाप भएको मानिसमा रक्तनली पातलो मात्रै होइन कम्जोर पनि हुँदै गएको हुन्छ जसले गर्दा रक्तनलीका विभिन्न भागहरुमा सानासाना बेलुनहरु देखापर्दछन जुन अति पातलो हुन्छ र कुनै पनि बेला फुटी रक्तनलीमा प्वाल पर्न सक्दछ । यस्ता बेलुनहरुलाई माइक्रोएन्युरिजम (Microaneurysm) भनिन्छ ।

त्यसमाथि कोलेस्टेरोल (रगतमा पाइने बोसो तथा चिल्लो पदार्थ जुन उच्च रक्तचाप, मधुमेह आदि रोग भएको बिरामीमा धेरै हुने गर्दछ) को समस्या पनि भएको मानिसमा रक्तनली झन् साँगुरो र कडा हुन्छ जसले गर्दा रक्तचाप झन् झन् बढ्न मद्दत पुग्दछ । त्यस्ता मानिसमा माइक्रोएन्युरिजम बन्ने सम्भावना पनि धेरै हुन्छ । मस्तिष्कका रक्तनलीहरु निकै मसिना र कोमल हुन्छन्, त्यस्तै मस्तिष्क आफै पनि एक निकै कोमल अंग हो ।

उच्च रक्त चापले सजिलै असर पर्न सक्ने अंगहरु मध्ये एक हो मस्तिष्क, अन्य हुन् मुटु, मिर्गाैला, आँखा आदि । यदि माइक्रोएन्युरिजम फुटे भने मस्तिष्कभित्र रक्तश्राव हुन्छ । भारतका चर्चित गजल गायक जगजित सिंहको सन् २०११ मा  मस्तिष्क रक्तश्राव कै कारण मृत्यु भएको थियो । त्यस्तै नेपाली काँग्रेसका युवा नेता नविन्द्र राज जोशीको पनि यसै कारण केही समय अघि मात्र मृत्यु भएको थियो । रक्तश्राव कति ठूलो छ र मस्तिष्कको कुन भागमा छ त्यसले मस्तिष्क रक्तश्राबको परिणाम निर्धारण गर्दछ ।

रक्तश्राव भएपछि बिरामीलाई अचानक कडा टाउको दुख्ने, बान्ता हुने, क्षारेरोगको कम्पन हुने, पक्षघात भई एक पाखा नचल्ने  अर्थात् प्यारालाइसिस हुने, बेहोस हुने आदि समस्या हुन्छ । त्यति मात्रै होइन मस्तिष्क रक्तश्राव बढ्दै गई बिरामीको अवस्था झन् झन् नाजुक हुँदै जान्छ ।

यदि रक्तश्राव निकै ठूलो छ भने बिरामीको अवस्था अति नाजुक भई तत्काल मृत्यु पनि हुन सक्दछ । हिजोआज हाम्रो समाजमा एक सामान्य अवस्थामा रहेको मानिस अचानक बेहोस भई मृत्यु भयो भन्ने किसिममा समाचार धेरै सुन्नमा आउने गर्दछ÷ त्यस्तो हुनुको एक कारण मस्तिष्क रक्तश्राव हो ।

कतिपय अवस्थामा बिरामीलाई अस्पताल पुर्याउने समय पनि नपाउन सक्दछ । त्यसरी अचानक मृत्यु भएको मानिसलाई अस्पताल लग्यो भने इसिजी भन्ने जाँच गरिन्छ जसले मुटु चलेको छ कि छैन भन्ने देखाउँछ र यदि मुटु चलेको छैन भने बिरामी हृदयघातले मृत्यु भयो भनेर भनिन्छ । तर त्यस्ता बिरामीको सिटि स्क्यान गरेर हेरिँदैन जसले गर्दा मस्तिष्क रक्तश्राव भएको हो कि होइन भनेर थाहा हुँदैन ।

हिजोआज हाम्रो समाजमा तीस, चालिस वर्ष उमेरका जवान धेरै मानिसलाई मस्तिष्क रक्तश्राब भएको देखिन्छ र यो संख्या हाम्रो समाजमा बढ्दो छ जुन एक भयाबह समस्या हो । तसर्थ वास्तविक मस्तिष्क रक्तश्रावको तथ्यांक हामीसँग नभएता पनि यो हामीले सुनेको र देखेकोभन्दा  निकै धेरै छ भन्नेमा कुनै संका छैन ।

मस्तिष्क रक्तश्राव  भएको बिरामीलाई अस्पतालको आइसीयुमा राखी उपचार गर्नु पर्दछ । अवस्था नाजुक भएमा भेन्टिलेटरमा बिरामीलाई राख्नु पर्ने अवस्था पनि आउन सक्दछ । त्यति मात्रै नभई रक्तश्राव निकै ठूलो भएमा तुरुन्तै शल्यक्रिया गरेर मस्तिष्क भित्र जमेको रगत निकाल्नु पर्ने हुन्छ । त्यति गरे पछि पनि बिरामीलाई ठीक हुन्छ कि हुन्न भन्न सकिँदैन ।

यदि उपचारपछि राम्रो हुँदै गयो भने पनि निकै लामो समय लाग्दछ । अस्पतालको बसाई मात्रै लामो हुने होइन घरमा गएपछि पनि लामो समय आराम गर्नु पर्ने या पुनर्स्थापना केन्द्रमा बस्नु पर्ने हुन्छ । यी सबै उपचार निकै खर्चिलो पनि हुन्छ ।  

मस्तिष्क रक्तश्रावले गर्दा हुने पक्षघात पूर्णरुपमा ठीक हुन लामो  समय लाग्दछ र यो पूर्णरुपमा ठीक हुन्छ भनेर भन्न पनि सकिँदैन । केही मात्रामा पक्षघात आजीवन रहन पनि सक्दछ । यसरी मस्तिष्कघात भएका बिरामीले ठूलो दुख पाउने गर्दछ । त्यति मात्र नभई उसको परिवारले पनि ठूलै दुःखको सामना गर्नु पर्ने हुन्छ । कतिपय बिरामी मस्तिष्क रक्तश्राव भएपछि आजीवन ओछ्यानमा परी हिँडडुल गर्न नसक्ने पनि हुन्छ ।

यति हुँदाहुँदै पनि आजभोलि चिकित्सा विज्ञानले धेरै ठूलो प्रगति गरेको हुनाले उपचारपछि बिरामी तन्दुरुस्त भई पहिलेकै अवस्थामा फर्किने सम्भावना पनि हुन्छ । अथवा सहज जीवनयापन गर्ने स्थितिमा पुग्न सक्दछ । तर, जे नै भए पनि मस्तिष्क रक्तश्राव एक घातक रोग हो र यो रोग लागेपछि बिरामी र परिवारले ठूलो कष्ट उठाउनु पर्ने हुन्छ । तसर्थ यस्तो रोगको रोकथाम गर्नु नै उत्तम उपाय हो ।

उच्च रक्तचापको समयमै उपचार गरी रक्तचापलाई नियत्रित गरिराख्नु रोकथामको एक प्रमुख उपाय हो । आजकल रक्तचापको समस्या धरै मानिसलाई हुने परिप्रेक्षमा आफूलाई पनि छ कि भनेर नियमित यसको जांच गर्नु पर्दछ । विशेष गरी मोटोपन, धुम्रपान र मध्यपान, अधबैसे र बुढेसकालको उमेर, चिनीको रोग, मृगौलाको रोग आदि भएको मानिसमा रक्तचापको समस्या धेरै हुन सक्ने भएको हुनाले त्यस्ता मानिसले नियमित रक्तचापको मापन गरेर हेर्नु पर्दछ ।

सामान्यतया वयस्क मानिसमा रक्तचाप करीब १००/६० देखि १३०/९० सम्म हुन सक्दछ । रक्तचाप १३०/९० भन्दा माथि भयो भने रक्तचाप उच्च भयो भन्ने गरिन्छ । धरै पटक रक्तचाप उच्च भइराखेमा औषधिको सेवन गर्नु पर्दछ । कुनै कारणले एक दुई चोटी रक्तचाप उच्च हुन सक्दछ । त्यसो भयो भन्दैमा औषधिको सेवन गर्नु पर्ने नभए तापनि त्यो एउटा सावधानीको सूचना हुन सक्दछ ।

प्रायः मानिसले रक्तचाप बढेको बेला यो भर्खर हिंडेर आएकोले, शारीरिक धपेटीले या मानसिक तनावले भएको हो भनी यसलाई बेवास्ता गरी यसलाई म आफै ठीक पार्छु भनी औषधि नखाई बस्ने गर्दछन्।

माथि उल्लेख गरिएका कारणले पनि रक्तचाप सामान्य तलमाथि हुन सक्दछ । तर सामान्य धपेटी या तनावले रक्तचाप बढ्यो भने पनि त्यो राम्रो कुरा होइन किनभने सामान्य कुराले पनि रक्तचाप बढायो भने त ती समान्य कुराहरु पनि जीबनमा गर्न नपाइने भयो ।

सामान्य धपेटी र तनाब त आधुनिक जीबनको एक प्रमुख हिस्सा नै हो । तर रक्तचापलाई नियन्त्रण गर्न त्यस्ता कुराहरुको पनि ख्याल अवश्य राख्नु पर्दछ । औषधिको अलावा नियमित ब्यायाम, खानपान अनुसाशित र तनाबरहित जीबन आदि पनि उच्च रक्तचापको रोकथाम/उपचारका उपायहरु हुन् । तर उच्च रक्तचाप भइसके पछि त्यतिले मात्रै पुक्दैन । आगोमा घ्यू नराख्दैमा आगो निभ्छ भन्ने होइन, आगो नबढोस् भन्नको लागि घ्यू नराख्ने हो ।

संक्षेपमा उच्च रक्तचाप मस्तिष्क रक्तश्रावको प्रमुख कारण हो । उच्च रक्तचापका औषधि प्राय सुरक्षित हुन्छन् र आजीवन सेवन गर्न सकिन्छ । औषधि तपाईंको मित्र हो र रोग तपाईंको सत्रु पनि । त्यसैले मित्रको साथ लिएर सत्रुलाई भागाऔं, रक्तचापलाई नियन्त्रण गरेर प्राणघातक रोगबाट बचौं र बचाऔं ।

 

(डा. श्रेष्ठ एमडी, पीएचडी हुन् । उनी हाल कन्सल्टेन्ट न्यूरोसर्जन तथा बिभाग प्रमुख न्यूरोसाइन्स विभाग बि एण्ड बि अस्पतालमा कार्यरत छन् । [email protected])

Last modified on 2021-07-25 11:26:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts