कर्णालीमा महिला स्वास्थ्यः रोग लुकाउँदा वा सहेर बस्दा ज्यानै जोखिममा



Download our app to get more features
Spark_health_home

बीबीसी, ११ साउन । डेढ दशक अघिदेखि ढाड र छाती दुख्ने समस्याबाट पीडित जाजरकोटकी डिला बुढामगरले उपचार गर्नुको सट्टा वर्षौँसम्म रोग सहेर बसिन्।

सहनै नसक्ने दुखाइ भएपछि मात्रै उपचारको लागि अस्पताल आउँदा क्यान्सर देखिएको र घर फर्केको दुई सातामै निधन भएको डिलाका छोरा हरिले बताए ।

उनले भने, "कहिलेकाहीँ मात्र ढाड र छाती खान्छ (दुख्छ) भन्नुहुन्थ्यो। समयमै अस्पताल नजाँदा रोग धेरै बल्झिसकेको रहेछ बचाउन सकिएन ।"

डिलाको स्वास्थ्य जाँच गरेका प्रदेश अस्पताल सुर्खेतका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. रूपक कँडेलले छाती र ढाड दुख्ने समस्या ल्याएर आएकी डिलाको चेकजाँच गर्दा क्यान्सर देखिएको बताए ।

"यदि समस्या सुरु हुने बित्तिकै आएको भए समयमै रोग पत्ता लाग्थ्यो, ठिक पनि हुन्थ्यो," डा. कँडेलले भने, "ढिलो आउँदा रोग पत्ता लागे पनि ठिक नहुने अवस्थामा भयो ।"

उनका अनुसार क्यान्सरका सेल्सहरू छातीको करङ, ढाडतिर फैलिएर अन्तिम चरणमा पुगिसकेको थियो ।

रोग सहने बानी
जाजरकोटकै दुधकली परियारले पनि वर्षौंसम्म रोग सहेर बस्दा अकालमै ज्यान गुमाउनु परेको आफन्तले बताए ।

पाठेघरमा क्यान्सर देखिएपछि उपचारको लागि क्यान्सर अस्पताल चितवन गएकी दुधकलीको घर फर्किने बित्तिकै निधन भएको आफन्त प्रवीण विकले बताए ।

"समयमै अस्पताल गएको भए उपचार हुन्थ्यो होला, रोग रहेर बस्ने बानीले ज्यान गयो," उनले भने ।

डिला र दुधकलीजस्ता कर्णालीका धेरै महिला वर्षौंसम्म रोग सहेर बस्दा अकालमै ज्यान गुमाउन र दुःख पाउन बाध्य देखिन्छन् ।

आफ्नो स्वास्थ्यप्रति संवेदनशील नहुनु, आर्थिक अभावले अस्पताल जान नसक्नु, घरायसी कामको बोझ, परिवारको बेवास्ता, देवी देवताप्रतिको विश्वास, धामी झाँक्रीको भरजस्ता कारणले आफूहरू वर्षौंदेखि रोग सहेर बस्न बाध्य भएको कर्णालीका महिला बताउँछन् ।

"आफ्नो स्वास्थ्यलाई भन्दा कामलाई महत्त्व दिनुपर्छ," उनीहरू भन्छन्, "घरायसी कामले फुर्सदै नहुँदा समयमै अस्पताल नगएर रोग सहेर बस्न बाध्य छौँ ।"

धामी झाँक्रीको विश्वासमा पर्दा अस्पताल नगएर घरमै देउताको पूजा गर्दा १५-२० वटा जति बोकाहरू काटेको डिलाका छोरा हरि बताउँछन् ।

उनी भन्छिन्, "अस्पताल नआएर गाउँघरमै धामी झाँक्रीको भर पर्दा समस्या दिनदिनै बल्झिँदै जाने रहेछ ।"

रोग पहिचान गर्न कठिन
पिसाब सङ्क्रमण, तल्लो पेट दुख्ने, महिनावारी समस्या, पाठेघर खसेका, पाठेघरको मुख सुन्निएका, मासु पलाएका, क्यान्सरजस्ता समस्या ल्याएर महिलाहरू उपचारमा आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्यकर्मी भन्छन्, "लाज हुने सम्झेर धेरैजसो महिलाले आफ्नो समस्या खुलेर समेत भन्दैनन् । जसका कारण रोग पहिचान गर्न कठिन हुन्छ ।"

रोग सहनै नसक्ने अवस्था भएपछि मात्रै महिलाहरू उपचारमा अस्पताल आउने गरेको प्रदेश अस्पताल सुर्खेतकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.सजिप्ता पन्त बताउँछिन् ।

उनी भन्छिन्, "उपचारमा आए पनि धेरै महिलाले आफ्नो समस्या खुलेर भन्न लाज मान्छन् । एकदमै धेरै खोतल्दै गयो भने बल्ल लजाइलजाइ समस्या भन्छन् तर जँचाउन चाहिँ मान्दैनन् । त्यतिकै औषधि दिनु भन्छन्।"

धेरैजसो महिला रगत धेरै बग्ने, महिनावारीको गडबडी, पेटमा मासु पलाएको, पाठेघरको मुखमा घाउ भएको, सेतो पानी बग्ने, फोहोर पानी जमेकोजस्ता समस्या लिएर उपचारमा आउने उनी बताउँछिन् ।

पाठेघरको मुखको क्यान्सर, मिर्गौला, कलेजोजस्ता शरीरका अरू अङ्गहरूमा पनि फैलिसकेको अवस्थामा मात्र आउने भएकोले उपचार गर्न गाह्रो हुने डा. पन्त उल्लेख गर्छिन् ।

उनका अनुसार केही उपाय नलागेपछि मात्रै डाक्टर भेट्ने, रोग लुकाएर राख्ने, रोग सहने समस्या अन्यत्रभन्दा कर्णालीका महिलामा धेरै छ।

अनाहकमा दुःख पाउने र अकालमै ज्यान गुमाउने
उपचार गर्न अस्पताल जानुभन्दा गाउँघरमै धामी झाँक्री र देवी देउताको भर पर्दा खास गरी कर्णालीका ग्रामीण भेगका महिलाले अनाहकमा दुःख पाउने र अकालमै ज्यान पनि गुमाउने गर्ने जानकारहरू बताउँछन् ।

"तल्लो पेट दुख्न थालेको धेरै वर्ष भयो। गाउँमै उपचार गर्दा निको भएन," दैलेखकी एक जना महिला भन्छिन्, "पैसा नहुँदा ठूलो अस्पताल गएर उपचार गर्न सकेकी छैन ।"

कर्णालीका कतिपय स्थानीय तह र विभिन्न संस्थाले महिलाको स्वास्थ्य समस्यालाई पहिचान गर्न निःशुल्क शिविर गर्ने गरेका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष रुपा शाही समय-समयमा गाउँ-गाउँमा स्वास्थ्यकर्मी खटाएर महिलाको स्वास्थ्य समस्या पहिचान गरी उपचारको लागि सहयोग गरिरहेको बताउँछिन् ।

"स्वास्थ्यप्रतिको लापरबाहीले गर्दा रोग बल्झिने गरेको छ," उनी भन्छिन्, "समस्यालाई सामान्य रूपमा लिने बानीले गर्दा पनि कर्णालीका महिला दिदीबहिनीले दुःख पाएका छन् ।"

दक्ष जनशक्ति र आवश्यक उपकरण अभाव
गाउँका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावले गर्दा पनि समयमै रोग पत्ता लाग्न नसकेको महिलाहरू गुनासो गर्छन् ।

उनीहरू भन्छन्, "सरकारले गाउँमा दक्ष जनशक्ति र आवश्यक उपकरणका साथै बेलाबेलामा स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाए बेलैमा रोग थाहा हुन्थ्यो। अनि समयमै उपचार गर्न सकिन्थ्यो ।"

रोगको रोकथाम नै नगरी तत्कालको लागि मात्रै समस्याको रोकथाम गर्न खोज्दा कर्णालीका धेरै महिलाले दुःख पाउने गरेको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजिप्ता पन्तको भनाइ छ ।

समयमै उपचारमा किन नआएको भनेर सोध्दा महिलाले अस्पताल टाढा भएको, आर्थिक अभावजस्ता कारणले नआएको जवाफ दिने गरेको उनी बताउँछिन् ।

"केही उपाय नलागेपछि, महिनावारी रोकिने बेला यस्तै हुन्छ भन्ने ठानेर, गोप्य अङ्गहरू देखाउनुपर्छ भन्ने लाजले आफूहरू समयमै अस्पताल नआएका हौँ भन्छन्," उनले भनिन् ।

आमा सुरक्षा कार्यक्रममार्फत निःशुल्क उपचार र औषधि पाइने तथा घर जाने बेला पैसा पनि पाइने भएकोले गर्भवती अवस्थामा महिलाहरू बढी नै सचेत देखिएको चिकित्सकहरू बताउँछन् ।

आमा सुरक्षा कार्यक्रम प्रभावकारी भएजस्तै पाठेघरको मुखको क्यान्सरको पनि गाउँमै वर्षमा एक पटक अनिवार्य तथा निःशुल्क प्यापेसमियर, भीआइए जस्ता जाँचहरू गर्ने व्यवस्था मिलाए महिलालाई धेरै राहत हुने उनीहरू बताउँछन् ।

Last modified on 2021-07-26 13:35:40

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts