भूकम्प पीडित बस्तीमा झाडापखालाको प्रकोप

What's This?


Download our app to get more features

गोरखा, ११ चैत्र । गोरखाको उहिया गाविसका विभिन्न वडाका भूकम्प प्रभावितको अस्थायी शिविरमा झाडावान्ता, रुघाखोकी र ज्वरोले स्थानीयहरु बिरामी परेका छन् । एक सातादेखि गाउँमा फैलिएको रोगले एकपछि अर्को परिवारका सदस्य बिरामी परेका छन् तर प्रशसनले थप औषधि र चिकित्सकको टोली नपठाउँदा भूकम्प पीडितहरु थप मर्कामा परेका छन् । 

गाउँको स्वास्थ्य चौकीमा सिटामोल पनि सकिएकाले घरैपिच्छे सबैजसो मानिस थला परेको स्वास्थ्यकर्मीहरुले बताए । उपचारका लागि चार घन्टा हिँडेर गुम्दा गाविसस्थित माछा खोलाको स्वास्थ्य संस्थामा गए पनि रोगले गलेका वृद्धवृद्धालाई उपचार गर्न सकिएको छैन । 

विद्यालय जाने उमेरका बालबालिकालाई ज्वरो र रुघाखोकीले सताएको छ । ज्वरोले थला परेका विद्यार्थी परीक्षाको तयारीमा जुट्न सकेका छैनन् । उहिया –५ का राजु सुनारका अनुसार भूकम्पपछि गाउँमा फोहर बढेको छ । पूराना पानीका स्रोत सुक्दै गएपछि भूकम्प प्रभावित खोलाको पानी पिउन बाध्य छन् । त्यसले गर्दा विभिन्न खाले रोग देखा परेको हो । 

उहियाको ४ देखि ९ वडासम्म करिब सय जनाभन्दा बढी बिरामी भएको स्थानीयले बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले भूकम्प प्रभावित बिरामी परेकाबारे जानकारी आएलगत्तै स्वास्थ्यकर्मी खटाइएको दावी गरे । 


रासस
 

Last modified on 2016-03-24 12:28:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts