चितवनमा अहिलेसम्म झन्डै ८ सयको कोरोना संक्रमणबाट मृत्यु, आधाभन्दा बढी अन्य जिल्लाका



Download our app to get more features
Spark_health_home

चितवन, २८ साउन । चितवनमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट झन्डै ८ सय जनाको मृत्यु भएको छ ।

बुधवार दिउँसोसम्म अन्य जिल्लाकासहित कुल ७ सय ९८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । मृत्यु हुनेमा आधाभन्दा बढी बाहिरी जिल्लाका छन् ।

उनका अनुसार मृत्यु हुने मध्ये ३ सय ५६ जना चितवन जिल्लाका छन् । जसमध्ये पनि ३ सय २७ जनाको उपचारको क्रममा र २९ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । मृत्यु हुनेमा ४ सय ४२ जना भने अन्य जिल्लाका छन् । 

जटिल अवस्थामा अस्पताल पुग्दा धेरैको मृत्यु
भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक एवम् वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार यसरी अन्य जिल्लाका मृत्यु हुनेमा अधिकांश यहाँका अस्पतालहरूमा अन्तिम अवस्थामा उपचारका लागि ल्याएका मध्येका छन् । स्थानीय अस्पतालहरूमा उपचार सम्भव नभएपछि अन्तिम अवस्थामा यहाँका अस्पतालहरूमा बाहिरी जिल्लाबाट बिरामीहरू रिफर भएर आउँने गर्दछन् ।

‘संक्रमण पुष्टि भएपछि पर्याप्त चिकित्सकीय परामर्श एवं सहयोग बिनै होम आइसोलेसनमा बस्ने र अवस्था गम्भीर बनेपछि अस्पताल आउने बिरामीको संख्या धेरै छ,’ उनले भने, ‘अस्पताल आईपुग्दा बिरामीको शरीरमा अक्सिजनको मात्रा एकदमै कम हने, जटिल प्रकृतिको निमोनियाँ देखिने जसले गर्दा उपचार गर्न आइसीयू तथा भेन्टिलेटरको आवश्यकता देखिन्छ ।’ 

यसरी अन्तिम अवस्थामा अस्पताल आईपुग्दा बिरामी गम्भीर पुगी कतिको उपचारको क्रममा र केहीको आईसीयू तथा भेन्टिलेटरको अभावमा समेत मृत्यु हुने गरेको उनले बताए ।

यस्तो छ चिकित्सक सुझाव
‘लक्षण नभएका बिरामीका लागि होम आइसोलेसन सुरक्षित मानिए चिकित्सकको निरन्तर सम्पर्कमा रहनुपर्छ ।’ उनले भने ‘मध्यम र कडा खालको लक्षण देखिएका कोरोनाका बिरामीले भने आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु पर्छ । आफ्नो शरीरमा अक्सिजनको मात्रा, मुटुको चाल र अन्य अवस्था बारे जानकारी राख्नुपर्छ । साथै चिकित्सकसँग फोन सम्पर्क मै रहनुपर्छ ।’

सास फेर्न गाह्रो भएमा वा अन्य जटिल प्रकारका स्वास्थ्य समस्या देखिएमा समयमै अस्पताल आउँन सबैलाई उनले सल्लाह दिएका छन् । कोरोनाको लक्षण देखिएमा समयमै कोरोना परीक्षण गर्न तथा विशेष सावधानी अपनाउन समेत डा. पौडेलले सबैमा अनुरोध गरेका छन् ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई उनले अनुरोध गरेका छन् ।

कहाँ हुन्छ कोरोनाको उपचार ?
चितवन जिल्लामा ४ विशेष गरी ठुला अस्पतालहरूः भरतपुर केन्द्रीय अस्पताल, चितवन मेडिकल कलेज (सिएमसी), कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज), वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा यहाँका केही अन्य साना अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्दै आएका छन् ।

कहाँ–कहाँबाट आउँछन् उपचार गर्न  ?
चितवनसहित धादिङ, नवलपरासी, मकवानपुर, गोरखा, तनहुँ, लमजुङ, रूपन्देही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा काठमाडौंलगाएत थुप्रै जिल्लाहरूबाट यहाँका अस्पतालहरूमा उपचारका लागि आउने गर्दछन् ।
 
३ वटा प्रयोगशालामा कोरोना परीक्षण 
चितवन जिल्लामा भरतपुर केन्द्रीय अस्पताल, चितवन मेडिकल कलेज (सिएमसी) र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आरटिपिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्दै आएका छन् ।

Hamro Doctor
Last modified on 2021-08-12 07:45:34

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts