सुध्रिदै नुवाकोटको त्रिशुली अस्पताल

What's This?


Download our app to get more features

नुवाकोटको त्रिशुली अस्पताल फेरिदै गएको छ । जसका कारण अस्पतालमा उपचारका लागि निकै सहज भएको छ । तत्कालीन जिल्ला अस्पताल रहेको त्रिशुली अस्पताल देश संघीय संरचनामा गएसँगै प्रदेशको मातहतमा आएको छ । जिल्ला अस्पतालबाट  प्रदेशको मातहतमा आएसँगै सेवा र काम पनि सेवाग्राहीले अनुभव गर्ने गरि फेरिएको छ ।

बिरामीहरू पनि अस्पतालको सेवाबाट खुसी छन् । ३ जिल्लाका दैनिक तीन सयदेखि चार सयभन्दा बढी बिरामी  अस्पताल पुग्ने गरेका छन् । नुवाकोट, रसुवा र धादिङको दिनहुँतीन सयदेखि चार सयसम्म बिरामी पुग्छन् ।

अहिले अस्पतालको भिड थेग्न नसकेर सेवालाई निरन्तर बढाउँदै गइएको छ ।  थपिएका नयाँ भवनपछि सेवा सुविधा थपिएपनि कर्मचारी अभावका कारण उपचारमा कहिलेकाहीँ समस्या हुने गरेको अस्पताल प्रशासनको भनाइ छ ।

हाल अस्पतालको सेवाहरुमा थप गरिएको छ। ईको कार्डियोग्राफी (म्युचल भिडियो एक्सरे), ईन्डोस्कोपी, सी एआरएम मेसिनको सहयोगमा रोग पत्ता लगाई सेवा प्रदान गर्न थालिएको छ । अस्पतालमा राखिएको हड्डी मर्किएको पट्टी लगाउने डीईएक्सए मेसिन नेपालका सरकारी अस्पतालहरु नुवाकोटको त्रिशुली अस्पतालमा बाहेक काठमाडौंको ट्रमा सेन्टर र भेरी अञ्चल अस्पतालमा मात्र रहेको छ ।

अहिले नुवाकोटको त्रिशुली अस्पताल आफैंले अक्सिजन उत्पादन गरेर बिक्री वितरणसमेत गर्न थालिसकेको छ । अस्पताल आफैंले अक्सिजन उत्पादन गर्न थालेपछि अक्सिजन लगाउनुपर्ने बिरामीहरुलाई धेरै सहज भएको सेवाग्राहीहरू बताउँछन् ।

हाल २० वेडको आईसीयू/एचडीयू सञ्चालन गरेको अस्पतालले आगामी केही दिनभित्र ५ वेडको बाल आईसीयू सञ्चालन हुने बताएको छ ।

आफ्नो सेवामा निरन्तर विस्तार गर्दै गएको त्रिशुली अस्पतालले दुर्बिनको सहयोगमा शल्यक्रिया गर्ने प्रविधि ल्याप्रोस्कोपी सर्जरीको सेवा विस्तार गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

नुवाकोट विदुर नगरपालिका - ५ घर भएका एक व्यक्तिले आफू नियमित स्वास्थ्य परीक्षणको लागि त्रिशुली अस्पताल नै जाने गरेको बताए । उनले भने, ' पहिले यो अस्पतालमा खुट्टा टेक्न पनि मन हुन्न थियो । बिरामी हुँदा सिधै काठमाडौं जाने गरेको थिएँ । कहिल्यै आउने गरेको थिईंन् । तर अहिले अस्पतालको स्वरूप फेरिएको छ । अस्पताल सफा छ, उपचार राम्रो हुने गरेको छ ।' 

तर, त्रिशुली  अस्पतालको सधैं एउटै समस्या, दरबन्दी अनुसार चिकित्सक छैनन् 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले अस्पतालमा  दरबन्दी अनुसार पुरा कर्मचारी नभएको बताए । उनले भने, 'ईमरजेन्सी लगायत बहिरंग विभागमा आवश्यक डाक्टर छैनन् , जसले गर्दा सेवा प्रवाह प्रभावकारी बनाउन समस्या हुने गरेको छ । 

अस्पतालको सुविधा सम्पन भवन निर्माण भईसकेपनि कोठाहरू रित्तै देखिन्छन् । अस्पतालको सेवासुविधा राम्रो बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष भनेको दक्ष कर्मचारी नै हो, तर तिनै कर्मचारी अभावमा उपचार भनेजस्तो दिन असमर्थ रहेको उनको भनाइ छ । 

स्थायी दरबन्दी ५९, २३ जना मात्रै  कार्यरत
नेपालमा सात हजारको हाराहारीमा सरकारी अस्पताल छन् । देश संघीय संरचनामा गएपछि प्रदेश मातहतमा गएको  नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा स्थायी ५९ जना कर्मचारीको दरबन्दी रहेको छ ‌। तर, अस्पतालमा भने २३ जना मात्रै कार्यरत छन् । समायोजन पछि सरकारले अस्पतालमा छुट्याएको विषेशज्ञ डक्टरहरूमा एक जना पनि अस्पतालमा छैनन् । वास्तवमै भन्नुपर्दा त्रिशुली अस्पतालमा एक जना पनि स्थायी बिषेशज्ञ डाक्टर छैनन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेन्द्र पाण्डे पनि अन्यत्र स्थायी दरबन्दी भएपनि काजमा त्रिशुली अस्पतालमा कार्यरत छन् । नेपाल सरकारको दरबन्दी अनुसार कर्मचारी नभएपछि अस्पताल आफैंले आफ्नो आन्तरिक स्रोत र व्यवस्थापनमा १ सय ७७ जना कर्मचारी राखेर सेवा प्रवाह गरिरहेको अस्पतालका सुचना अधिकारीले जानकारी दिए । 

Open photo

अस्पतालमा कर्मचारी र विषेशज्ञ डक्टर अभावको कुरा केन्द्र र प्रदेश सरकारमा जानकारी गराइएकोले  आशावादी रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए । नुवाकोटको त्रिशुली अस्पतालमा सेवा सुधार हुँदै छ तर विषेशज्ञ नहुँदा भनेजस्तो उपचार पाइएको  छैन् ।

राजधानी लगायत देशका अन्य ठूला अस्पतालमा दिने सेवा सुविधा उपलब्ध भएपनि कर्मचारी र विषेशज्ञ डक्टरको अभावमा उपचारमा कठिनाइ हुने गरेको छ ।

Last modified on 2021-10-25 19:36:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts