कोरोना महामारी र ओमिक्रोनः उच्च सतर्कताको विकल्प छैन !

What's This?


Download our app to get more features

नेपालमा दिन प्रतिदिन कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । दोस्रो चरणको लहर साम्य भएको झन्डै ३ महिनापछि नेपालमा एकैदिन आइतवार १ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको  छ ।

कोरोनाको दोस्रो चरणको लहरको क्रममा दैनिक १० हजारका दरले सङ्क्रमित थपिने गरेकोमा असोज लागेपछि सङ्क्रमणदर निरन्तर घट्दै आएको थियो । तर, पुसको मध्यतिरबाट फेरि सङ्क्रमण दरले तीव्रता पाएको छ । जसलाई कोरोनाको तेस्रो चरणको लहरको रुपमा व्याख्या गर्न थालिएको छ । 

कोरोनाको पहिलो चरणको लहरभन्दा दोस्रो चरणको लरहको क्रममा नेपालमा बढी मानिसको मृत्यु भयो भने सङ्क्रमित थपिने दरले पनि रकेर्ड कायम गर्यो । जसले सबैलाई चिन्तित बनायो । पछिल्लो समय लगातार घटिरहेको सङ्क्रमण दर शुक्रबारदेखि फेरि बढेको हो । 

दक्षिण अफ्रिका भएर ९० भन्दा बढी देशमा फैलिसकेको ओमिक्रोन छिमेकी भारतमा ठूलो सङ्ख्यामा पुष्टि भइरहेको छ । यस्तो बेला नेपालमा पनि ओमिक्रोनको खतरा बढेर गएको छ । ओमिक्रोनका कारण सङ्क्रमण सङ्ख्या बढेर जाने अनुमान गरिएको छ । सरकारले खोपको मात्रा बढाउन र सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । 

ओमिक्रोनको सङ्क्रमण पुष्टि भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । माओवादी केन्द्रकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित १२ जना नेतालाई पनि सङ्क्रमण पुष्टि भएको छ । 

यसअघि प्रमुख तीन ठूला राजनीतिक दलहरुको महाधिवेशनका कारण ठूलो जमघट भएको थियो । व्यापारिक, शैक्षिक र सांस्कृतिक गतिविधिहरूमा पनि उचित सतर्कता अपनाइएको छैन । तर, ओमिक्रोनका कारण सङ्क्रमणको खतरा उच्च देखिएको छ । यस्तो बेला सरकारले आवश्यक मात्रामा खोप उपलब्ध गराउनु पर्छ र त्यसमै ध्यान केन्द्रीत गर्नुपर्छ । नागरिक तहमा विशेषगरी ध्यान दिन आवश्यक छ । सामाजिक दुरी कायम गर्ने, सङ्क्रमणबाट बच्नुपर्नेगरी अनावश्यक काममा जमघट नगर्ने लगायत सतर्कता अपनाउनुपर्नेछ । 

हुन त नेपालमा हालसम्म २७ जनामा मात्रै कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । तर, यसले सङ्क्रमण कतिलाई सार्दै छ भनेर यकिन गर्न सकिएको छैन । नेपालमा ओमिक्रोनकै कारण सङ्क्रमणदर बढेको हो वा पुरानै डेल्टाका कारण सङ्क्रमणदरले तीव्रता पाएको हो त्यो पनि प्रष्ट हुन सकेको छैन । तर, यदि ओमिक्रोनको सङ्क्रमण समुदायस्तरमै फैलियो भने त्यसले निम्त्याउने जोखिमको आँकलन कसैले गर्न सक्दैन ।

विगतमा आवश्यक ध्यान नदिएकै कारण नेपालले मानवीय, आर्थिक र सामाजिक क्षति व्यहोर्नु परेको छ । पहिलोपटकको लहरको पाठ सिक्न र आवश्यक तयारी गर्न नसक्दा ठूलो मानवीय क्षति मुलुकले बेहोर्नु परेको थियो । त्यसैले अहिले अति उच्च सतर्कताको विकल्प छैन । सबैभन्दा ठूलो प्राथमिकता नागरिकको जीवनरक्षा नै हो ।

सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्दै आएपनि नागरिक तहबाट हेलचक्र्याइँ गरिएको देखिन्छ । कोरोना सङ्क्रमण उच्च भएको अवस्थामा जुन तरिकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्छन् त्यसरी नै सँधै गरिरहनु पर्ने हो । तर, सङ्क्रमणदर घटेसँगै फेरि नागरिकबाट जनस्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्न थालिएको देखिन्छ । जुन पक्कैपनि उचित भने होइन । 

सरकार, चिकित्सक, विज्ञ र विभिन्न सरोकारवालाले पनि कोरोना महामारी आजको भोलि या आउने दिनमै सकिहाल्ने अवस्था नरहेकाले यसलाई वेवास्ता नगर्न बारम्बार आग्रह गर्दै आएको छ । आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैले लिनुपर्ने अठोटका साथ जबसम्म ध्यान दिइँदैन तबसम्म यो महामारीविरुद्धको लडाइँ लड्न सकिँदैन । 

सर्वसाधारणको थोरै असावधानीका कारण सङ्क्रमणदर बढ्ने र अस्पतालमा चाप बढ्ने हुन्छ । हामी कुन अवस्थामा छौं, हाम्रो मुलुकको स्वास्थ्य अवस्था के छ ? यी सबै कुराको मनन गर्नुपर्ने दायित्व थोरै भएपनि नागरिकको पनि छ । त्यसकारण सरकार र चिकित्सकले भनेका कुरा र गरेको आग्रहलाई सबैले आत्मसात गर्नुपर्छ र गर्नुपर्ने हुन्छ । 

यदि हामी सबै सचेत र सभ्य नागरिक बन्न सकेनौं भने त्यसले निम्तिने खतराको पनि सामना हामीले नै गर्नुपर्ने हुन्छ । त्यसकारण समयमै सतर्कता अपनाउनु पर्छ ।

Last modified on 2022-01-10 12:47:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts