किन बेलाबेलामा अभाव भइरहन्छ सिटामोल ? उत्पादनमा कति लाग्छ खर्च ?

What's This?


Download our app to get more features

नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै जाँदा बजारमा सिटामोल अभाव हुन थालेको विषय फेरि तहमा आएको छ । 

उपभोक्तहरूले कैयौँ औषधि पसलहरू चहार्दा पनि सिटामोल नपाएको गुनासो सामाजिक सञ्जालमा धेरै व्यक्त भएपछि सरकारी निकायहरूले यसको अभाव बारेमा चासो राखेका छन् ।

औषधि उत्पादक तथा विक्रेताहरूले पनि सिटामोलको अभाव रहेको बताइरहँदा सरकारले भने अभाव नरहेको दाबी गर्दै आएको छ ।

यता औषधि व्यवस्था विभागले सङ्क्रमण बढ्दै जाँदा यसको माग र घर–घरमा भण्डारण बढ्ने भएका कारण पनि सिटामोलको अभाव भएको दाबी गर्ने गरेको छ ।

कति लाग्छ एउटा सिटामोल उत्पादन गर्न ?

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह अनुसार लिमिटेडले अहिले  एउटा सिटामोल उत्पादन गर्न १ रुपैया ३५ पैसामा उत्पादन गरिरहेको छ ।  

औषधि बजारमा पठाउनु भन्दा अगाडि औषधि उत्पादन गर्न चाहिने कच्चा पदार्थदेखि प्याकेनिङ्ग,ओभरहेड,विज्ञापन,कमिशन निर्यातसम्मको कुराहरू औषधिको मूल्यमा जोडिने सफिउल्लाह बताउछन् । 

सफिउल्लाह भन्छन्, 'सिटामोललाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमा पाइदैन । कम्तिमा ४ देखि ५ वटासम्मको कच्चा पदार्थ प्रयोग गनुपर्ने हुन्छ । नेपालमा धेरैजसो भारत र चीनबाट कच्चा पदार्थहरू आउने गर्दछ । कम्पनीअनुसार कच्चा पदार्थको मुल्य तोकिएको हुन्छ । त्यसैले यति नै लाग्छ भन्न गाह्रो छ ।'

उनका अनुसार नेपाल औषधि लिमिटेडले अहिले ७४ पैसामा सिटामोल बजारमा पठाइरहेको छ ।

उनी भन्छन्, 'हामी सिधै बिक्री गर्न सक्दैनौ,होलसेलरलाई दिनुपर्छ,उसले १० प्रतिशत राख्छ । त्यसपछि सरकारले नै तोकेको छ जसले औषधि बेच्छ । उसले १६ प्रतिशत मार्जिन राख्न पाउने । त्यसरी औषधि बजारमा जाँदा महगो पर्न जान्छन् ।'

लिमिटेडले मासिक रुपमा लगभग ४५ देखि ५० लाख सिटामोलको ट्याबलेट बजारमा पठाउने गरेको छ । 

तर,अहिले बजारमा सिटामोलको माग धेरै तर उत्पादन कम भएर अभाव सिर्जना भएको हुनसक्ने  सफिउल्लाहको भनाइ छ । कतिपय औषधि उत्पादन गर्ने फर्माहरूले उत्पादन लागत बढी लाग्ने र बिक्री कमममा गर्नुपर्दा उत्पादन नै गर्न छाडेकोले नी सिटामोलको अभाव भएको हुनसक्ने उनी बताउछन् । 

के भन्छ मन्त्रालय ?

बुधवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव नरहेको दाबी गरे ।

“हाल नेपालमा सिटामोल लगायतका औषधिहरूको कुनै पनि अभाव छैन । त्यसैगरी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत पथलैया स्टोरमा १० लाख प्यारासिटामोल भण्डारणमा रहेको तथा सरकारी फार्मेसीहरूमा एक करोड भन्दा बढी मात्रामा सिटामोल रहेको छ,” डा. अधिकारीले भने ।

मन्त्रालयले प्यारासिटामोल लगायत अत्यावश्यक औषधिहरूको विवरण अद्यावधिक राख्न सबै सरकारी अस्पताल र प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूलाई पनि निर्देशन दिइसकिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

डा. अधिकारीले स्वास्थ्य सेवा विभागले पनि प्यारासिटामोल लगायत अत्यावश्यक औषधिहरूको खरिद अघि बढाएको बताएका छन् ।

मन्त्रालयले ठूला अस्पताल र प्रादेशिक अस्पतालहरूलाई पनि अत्यावश्यक औषधि खरिद गर्न अनुरोध गरेको छ ।

Last modified on 2022-01-23 07:09:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts