कोरोना भाइरसको म्यूटेशन कमजोर हुँदै गएको हो ? यसो भन्छन् डा.पुन



Download our app to get more features

नेपालसहित विश्वका विभिन्न मुलुक पछिल्लो २ वर्षदेखि कोरोना महामारीका कारण त्रसित र प्रभावित बनेका छन् । बेलाबेला सङ्क्रमणको दरमा देखिने उतारचढावका कारण जनजीवन सामान्य बन्ने र फेरि कष्टकर बन्न थालेको अनुभव पनि नागरिकको छ । 

चीनको वुहानमा पहिलोपटक फेला परेको कोरोना भाइरसमा म्यूटेशन हुँदै आएको छ । जुन सामान्य प्रक्रिया हो । तर, कोरोना भाइरसमा भएको म्यूटेशन अन्य भाइरसको तुलनामा फरक देखिएका कारणले पनि सबैलाई चिन्तित बनाएको छ । 

कारण, कोरोनाको म्यूटेशन खतरनाक हुँदै आएको छ र यसले मानिसलाई पनि थप जोखिममा पुर्याउने गरेको छ । तर, पछिल्लो समय देखिएको कोरोनाको नयाँ म्यूटेशन ओमिक्रोन भने पहिले देखिएका म्यूटेशनभन्दा फरक र कमजोर भएको अनुमान गरिँदै छ । कारण, ओमिक्रोनले मानिसमा गम्भीरता ल्याउने र मृृत्यु गराउने दरलाई कम गरेको छ । 

गत नोभेम्बरमा पहिलोपटक दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको ओमिक्रोनले मानिसलाई तीव्र गतिमा सङ्क्रमित गराएपनि मानिसलाई मृत्यु गराउने दर कम छ भने मानिसमा जटिलता ल्याउने र अस्पताल भर्ना गराउने दरपनि कम रहेको हालसम्मको तथ्याङ्कले देखाएको छ । जसका कारण बेलायत, भारतका विभिन्न राज्यमा कोरोनाका कारण लगाइएका प्रतिबन्धहरूमा छुट दिन थालिएको छ । 

सरुवारोग एवं सङ्क्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनले कोरोना भाइरसको पछिल्लो समय देखिएको म्यूटेशन कमजोर भएको बताए । 

उनले भने, ‘पछिल्लो समय कोरोना भाइरसमा भएको म्यूटेशन कमजोर प्रकृतिको छ । यसले पूर्ण मात्रा खोप लगाएकाहरूलाई सङ्क्रमित गराएपनि मानिसमा जोखिम अवस्था आउन दिएको छैन । साथै यसले मानिसलाई यसअघिका म्यूटेट भाइरस जतिको असहज पनि गराएको देखिँदैन । जुन राम्रो पक्ष हो ।’

हाल देखिएको कोरोनाको ओमिक्रोनले मानिस सङ्क्रमित भएपनि यो ३ देखि १ सातामै हराएर जान थाल्ने भएकाले पनि यो कमजोर भएको हुन सक्ने अनुमान पनि गर्न सकिने उनको भनाइ छ । 

कोरोना भाइरसमा हालसम्म देखिएका म्यूटेशनमध्ये डेल्टा सबैभन्दा बढी खतरनाक र लामो समयसम्म मानिसलाई अप्ठ्यारो गराउने देखिएको थियो ।

भाइरस म्यूटेशन के हो ?
भाइरस म्यूटेशन हुनु भनेको प्राकृतिक प्रक्रिया हो । भाइरस म्यूटेशन सामान्यतया भाइरहन्छ र यसमा भाइरसको जिनले आफ्नो स्वरुप परिवर्तन गर्ने गर्छ । यसलाई जेनेटिक म्यूटेशन पनि भन्ने गरिन्छ । भाइरस एक व्यक्तिमाबाट अर्को व्यक्तिमा सर्ने क्रममा म्यूटेट हुन सक्छ वा आफै पनि रेप्लिकेसनको प्रक्रियामा पनि म्यूटेशन हुन सक्छ ।

भाइरसमा देखा पर्ने म्यूटेशन सुरुको भन्दा कमजोर हुँदै जाने भएकाले अब विस्तारै कोरोना भाइरसमा पनि म्यूटेशन कमजोर हुँदै जाने सम्भावना रहेको डा.पुनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि सन् २०२२ को अन्त्यसम्ममा कोरोना भाइरस सकेर जाने बताइसकेको छ । तर, त्यसका लागि कोरोनाविरुद्धको खोप अभियानलाई भने समान रुपले वितरणमा तीवूता दिनुपर्छ ।

Last modified on 2022-01-23 15:48:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts