नेपाल नर्सिङ दिवस

कोरोनाका कारण २ वर्षमा १४ जना नर्सको मृत्यु, नर्सलाई उचित सम्मान गर्न नसकेको नर्सहरुको गुनासो



Download our app to get more features

आज नेपाल नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोरोना महामारीका कारण यो वर्ष पनि ठूलो सभा समारोह बिनै दिवस मनाउन लागिएको हो । 

कोरोना महामारीका कारण विगत २ वर्षदेखि नर्सिहरू सबैभन्दा बढी प्रभावित बनेका छन् । उनीहरूकै सम्मानमा यो दिवस मनाउने तयारी भइरहेको नेपाल नर्सिङ सङ्घले बताएको छ । 

नेपालमा कोरोना संक्रमणका कारण १४ जना नर्सहरुको मृत्यु भएको छ ।  नेपाल नर्सिङ्ग संघका अनुसार कोरोनाको पहिलो र दोस्रो लहरको क्रममा गरि १४ जनाको मृत्यु भएको हो । 

सङ्घका अनुसार कोरोना महामारी सुरु भएयता देशभर सेवामा रहेका २ जना र अवकास लिइसकेका  १२ जना नर्सको कोरोनाका कारण मृत्यु भएको छ । तर, कोरोनाका कारण हालसम्म कति नर्सहरू सङ्क्रमित भए त्यसको तथ्याङ्क छैन ।

नेपालको स्वास्थ्य प्रणाली कमजोर भएका कारण विभिन्न समस्याहरू देखिँदै आएको छ । यो समस्या वर्षौदेखि कायमै रहेका कारण कोरोना महामारी सुरु भएसँगै नेपालको कमजोर स्वास्थ्य प्रणाली उदाङ्गो बनाइदियो ।

सरकारले देशमा उत्पादन भएका जनशक्तिको २० प्रतिशत पनि सेवामा आवद्ध गराउन नसक्दा बिरामीले सहज सेवा पाउन सकेका छैनन् । 

अस्पतालमा बिरामी अनुपातको चिकित्सक र नर्स नहुँदा एक जना नर्स र चिकित्सकले आवश्यकता भन्दा बढी सेवा दिनु परिरहेको छ । 

सन् २०११ मा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीमा आवश्यक स्वास्थ्य क्षेत्रको लागि मानव संसाधन प्रक्षेपण गरिएको थियो जसमा ८ हजार ६ सय ९० जना नर्सिङ जनशक्तिको प्रस्ताव गर्दा २ जनाको दरले १ हजार २ सय ४ बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकीको लागि, २ हजार ६ सय ३६, स्तरोन्नती स्वास्थ्य चौकीको लागि २ जना, २० ग्रामिण अस्पतालको लागि ३ जना, अस्पतालको लागि ४ जना, ११ अञ्चल अस्पतालको लागि १० जना, क्षेत्रिय अस्पतालको लागि २० जना, १३ केन्द्रीय अस्तपालहरुको लागि २० जना तय गरेको थियो ।

अस्पतालमा २४ घण्टा सेवामा खटिनु पर्ने भएकाले यसमा सिफ्ट चेन्जको पनि कुरा उल्लेख गरिएको थियो । मानव विकास सूचाङ्गको आधारमा नर्सिङ जनशक्ति सन् २०११ को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ र जनसङ्ख्या वृद्धिदर १ दशमलव ३५ रहेको छ ।

यसलाई आधार मानी हेर्ने हो भने सन् २०३० मा नेपालको जनसङ्ख्या करिब ३ करोड ५५ लाख हुनेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक दश हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिडवाइफ समते गरेर २३ जनाको अनुपातमा उपलब्ध हुनुपर्दछ ।

विश्व स्वास्थ्य संगठनको २०१३ र स्वास्थ्य मन्त्रालय २०१३ को तथ्याङ्क अनुसार नेपालमा प्रति दश हजार जनसङ्ख्याका लागि ६ दशमलव ५ स्वास्थ्यकर्मीहरु रहेको देखिन्छ । तर, नेपालमा उत्पादीत नर्सको नै उचित व्यवस्थापन हुन नसक्दा चुनौती थपिएको छ ।

अबको ९ वर्षमा नेपाललाई डेढ लाखभन्दा नर्स चाहिने

नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा हाल १ लाख ३ हजार  २७ जना नर्सिङ जनशक्ति रहेको छन् । 

अनमी ३५ हजार ४ सय ९३ र रजिष्ट्रार नर्स ६७ हजार ५० रहेका छन् । मिडवाइफ नर्स २५ जना रहेका  छन् । 

नेपाल सरकार, र निजी स्वास्थ्य सस्थामा गरी न्युनतम नर्सिङ जनशक्ति नर्स÷अनमी, मात्र स्वास्थ्य सेवामा कार्यरत रहेको देखिन्छ । 

नेपालमा हाल प्रति वर्ष सरदर ७ हजार ७ सय ४० नयाँ नर्सिङ जनशक्ति उत्पादन गरिने गरेको तथ्याङ्क छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०३१ सम्ममा नेपालमा १ लाख ६७ हजार ७ सय २८ नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको उत्पादन हुने अनुमान गरिएको छ । 

स्वास्थ्य मन्त्रालय नर्सिङ शाखाका अनुसार हाल देशमा ७५ हजार भन्दा बढी नर्सिङ जनशक्ति आवश्यक छ । 

आवश्यकता भन्दा झण्डै ८ हजार नर्सिङ जनशक्ति देशभरमा रहेपनि उनिहरुको व्यवस्थापन नगर्दा सेवामा गम्भीर समस्या देखिएको छ ।

१ सय ८६ राष्ट्रहरुको सीपमुलक स्वास्थ्य जनशक्ति चिकित्सक, नर्स र मिड्वाइफको जनघनत्व हेर्ने हो भने ३ राष्ट्रहरुमा २२ प्रति दश हजार जनसंख्या र ६८ राष्ट्रहरुमा ३ सय ४५ प्रति दश हजार भन्दा माथि रहेको पाइन्छ ।

नेपाल सरकारले मुलुकलाई सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रको सूचीबाट विकासशिल मुलुकको सूचीमा स्तरोन्नत्ति गराउने सरकारको लक्ष्यलाई साकार गर्न स्वास्थ्य क्षेत्रको सेवालाई पनि मुख्य आधारशिलाको रुपमा लिएको छ । त्यसरी लिइएको लक्ष्यको उपलब्धी मानव विकास सूचकाङ्गको आधारमा मापन गर्ने गरिन्छ । 

नेपालमा हाल कति नर्स जनशक्ति कहाँ छन् भन्ने यकिन विवरण स्वास्थ्य मन्त्रालयमा पनि नभएको शाखाले जनाएको छ ।

शाखाका अनुसार हाल देशमा सरकारी र निजी क्षेत्रमा कुन तहको कति नर्स जनशक्ति छन् तथ्याङ्क छैन् । 

आगामी दिनमा सफ्टवेयर बनाएर नर्स लगायतका जनशक्तिको पूर्ण विवरण राखिने मन्त्रालयले जनाएको छ ।

सरकारले नर्सको उचित सम्मान गर्न सकेन
नर्सहरु स्वास्थ्य प्रणालीको परिवर्तनका संवाहक हुन् । जुन सुरुवाती दिनदेखि नै पुष्टि भएको हो ।

आज पनि बिरामीहरूको सम्पूर्ण जिम्मेवारी नर्सको काँधमा हुन्छ । नर्सहरूको लगनशिलता र कठिन परिश्रमले नर्सिङ पेशालाई थप विशिष्ट बनाएको छ । मानिसको स्वास्थ्य र समग्र स्वास्थ्य क्षेत्रमा नर्सिङ पेशाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

नर्सिङ सेवाबाट बाहिरिएकी नर्स सुलोचना चौधरीले सरकारले नर्सको सम्मान गर्न नसकेको बताइन् । उनले भनिन्, ‘बिरामीको सेवामा दिनराच खटिने नर्स भएपनि सरकारले उचित सेवा र सुविधान दिन सकेको छैन । जसका कारण नर्स पेशाबाट म पलायन भएकी हुँ ।’

वर्तमान अवस्थामा कोरोना महामारीको क्रममा बिरामीको सेवामा खटिदा नर्सहरु पनि कोरोनाको चपेटामा आए । तर, यस विषम् परिस्थितिमा पनि नर्समाथि गरिएको दुव्र्यवहारकाबीच उनीहरुले कहिले बिरामीको सेवा नगर्ने भनेनन् । उल्टै आफ्नो र आफ्नो घर परिवारको ज्यान जोखिममा पर्न सक्ने थाहा हुँदा हुँदै सेवामा खटिरहे । यस विषयमा पनि सरकारले केही गर्न नसकेको उनको भनाइ छ ।

हुन त पछिल्लो समय त्यस्तो भएको छैन तर, नर्समाथि बेला बेला यस्ता घटनाहरु भइरहन्छ । जसमा सरकारको ध्यान गएको देखिँदैन ।

जनस्वास्थ्यकर्मीका नाताले नर्सहरुले अस्पतालमा मात्र नभई बिरामीको परिवार र समाजलाई पनि हेरचाह एवं परामर्श सेवा दिने गर्छन् । बिरामीसँग निकट भै सेवा प्रदान गर्ने भएकाले पनि नर्सिङ पेशाको आवश्यक्ता झनै बढेको छ । अहिले प्रत्येक परिवारले उनीहरुको हेरचाह गर्न घरैमा एकजना नर्स भइदिओस् भन्ने चाहना राख्छन् । यसलाई सम्मानजनक पेशा मानिएपनि उनीहरु आर्थिक शोषणको शिकार बन्न बाध्य छन् । 

नर्सहरुको बढ्दो विदेश पलायनले नेपालमा क्षमतावान नर्सहरु बढ्न सकेका छैनन् भने पुराना नर्सहरु प्रतिस्थापन हुन सकेका छैनन् । विकसित मुलुकहरुले नेपाल जस्ता विकासउन्मुख राष्ट्रबाट क्षमतावान नर्सहरु लानु पनि अर्को समस्या हो । विदेश जाने मोहका कारण पनि नयाँ पुस्ता नर्सिङ पेशातर्फ आकर्षित छन् । उनीहरुले विदेश गएर थप तालिम र शिक्षा लिनुपर्ने हुन्छ । विदेश पलायन हुनुका मुख्य कारणहरुमा महत्वाकांक्षा, थप अध्ययन, स्वदेशमा रोजगारीको अभाव, असन्तुष्टी र विदेशमा प्राप्त हुने थप पैसा र सुविधा हो । एक अध्ययनमा उल्लेख भएअनुसार ५५ दशमलव २२ प्रतिशत नर्स आफ्नो पेशाबाट सन्तुष्ट छैनन् । 

यतिमात्र हैन, नर्सहरु राम्रो कमाई र पेशागत सन्तुष्टीका लागी खाडी मुलुक जस्तै, दुबई, मलेशिया पनि जाने गरेका छन् । उनीहरुले अस्पताल र नर्सिङ होममा अझै जागिर पाएका छैनन् । उनीहरु अझै होमकेयर नर्सिङमै सीमित छन् । जसले गर्दा उनीहरुमाथि घरेलु कामदारको व्यवहार हुने गरेको छ । 

एकजना नर्सले (नाम खुलाउन नचाहेकी) दुवईबाट फर्किएर आएपछि पैसामात्र सबै कुरा नभएको इज्जत र प्रतिष्ठा ठूलो नभएकाले आफु फर्किएको गुनासो गरिन् । खाडी मुलुक गएका नर्सहरुले बिरामीसँगै एउटै कोठामा सुत्नुपर्ने एवं  विदा नपाउने लगायतका समस्या भएको उनको अनुभव छ । नर्सहरु परिवर्तन गर्दा बिरामीको हेरचाहमा तलमाथि हुनेभन्दै उनीहरुलाई बिदा नदिने प्रवृत्ति रहेका उनको गुनासो छ । खाडी मुलुकका महिलाले नर्सहरु उनीहरुको श्रीमानहरुलाई आकर्षित गर्न बसेको भनेर दुव्र्यवहार गर्ने गरेको समेत उनले सुनाइन् । 

कम क्षमतावान नर्सहरु उत्पादन हुनुका कारण पनि अस्पतालहरुले विश्वास नगर्ने वातावरण बनेको छ । सबै नर्सिङ कलेजको आफ्नै अस्पताल नहुनाले पनि क्षमतावान नर्स उत्पादन हुन नसकेको अवस्था छ । भर्खरै पढाई सिध्याएका नर्सहरुले धेरै अस्पतालमा बिना पैसा काम गरेको देखेको छु । कुनै अस्पतालले भने पकेट खर्चका नाममा २–३ हजार दिनेको गरेको पनि पाइएको छ । यो भनेको नर्सिङ शिक्षा, उनीहरुको ज्ञान र क्षमताको अवमूल्यन हो । 

त्यस्तै, कार्यभार र विशेषज्ञताको आधारमा हेर्ने हो भने नेपालमा बिरामी र नर्सको अनुपात मिलेको छैन । प्रायजसो अस्पतालमा ३०–४० जना बिरामीलाई १–२ जना नर्सले हेरचाह गर्नुपरेको छ । नर्सको आवश्यक्ता र रिक्तताको आधारमा नर्स पदस्थापन गर्ने संयन्त्र अझै बनाइएको छैन । देशको बढ्दो जनसंख्या र स्वास्थ्यकर्मका लागि अझे धेरै नर्स आवश्यक छ । तर, यसमा खासै सुधार हुन सकेको छैन । 

२४ घण्टे ड्युटी र विभिन्न सत्रमा परिवर्तन हुने ड्युटीले घरपरिवारमा पनि समस्या निम्त्याउने गर्छ । जसले गर्दा धेरै नर्सले आफ्नो पेशा परिवर्तन गर्न बाध्य हुने गरेका छन् । कामको भार, अत्याधिक बिरामीको सेवा तथा कामको जस नपाउने कारणले पनि उनीहरु आफ्नो पेशाप्रति सन्तुष्ट हुन सकेका छ्रैनन् । नर्सिङ पेशाको पेशागत सुरक्षा र थप अध्ययन एवं वृतिविकासको अभाव पनि यसको अर्को कारण हो । 

नेपालमा नर्सहरुलाई कम पैसामा काम लगाउने कारणले विदेश पलायन हुने संख्या बढ्दो छ । केही नर्सले मसँग भने अनुसार उनीहरुले ६ देखि १४ हजारमात्र तलव पाउने गुनासो गरेका छन् । बिएन पास गरेकाले मात्र बढीमा २० हजार पाउने गरेको तीतो यर्थाथ छ । तर, पिसीएल पढ्न तीन लाख र बिएस्सी नर्सिङ पढ्न १२ लाख वा सोभन्दा बढि पैसा लाग्छ । 

अन्त्यमा, नर्सिङ पेशा महान र प्रतिष्ठित छ । मानव सेवा र हेरचाह त्यति सजिलो विषय होइन । यसका लागि कडा मेहेनत र लगनशिलता चाहिन्छ । यदी हामीसँग इच्छा र चाहना छ भने थोरै सुविधामा पनि हामी सन्तुष्ट हुन सक्छौं ।

Last modified on 2022-01-30 07:20:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts