मिर्गौलामा हुने समस्याबारे जनचेतनाको अभाव, यी कुरामा ध्यान दिन डा.काफ्लेको सुझाव



Download our app to get more features

आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा सरकार र सरोकारवाला निकायले मिर्गौला सम्बन्धी रोगको विषयमा जनचेतना फैलाउने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ ।

पछिल्लो समय कोरोना महामारीका कारण मिर्गौला रोगीलाई बढी प्रभावित बनाएको छ । कारण, शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा कोरोना भाइरसले छिटै सङ्क्रमण गराउने हुँदा मिर्गौला पीडितले ज्यान नै पनि गुमाउनुपर्यो ।

कोरोनाको सुरुवाति क्रममा सबैभन्दा बढी मिर्गौला रोगका कारण पीडित प्रभावित भएका थिए । दीर्घरोगको रुपमा रहेको मिर्गौला रोगी कोरोनाका कारण तीन ओटै चरणको लरहमा प्रभावित हुँदा उनीहरू प्राथमिकतामा राखेर रेखदेख गर्न चिकित्सकहरू सुझाव दिन्छन् । मिर्गौलामा समस्या हुनुका विभिन्न कारण भएकाले यसबारे सचेत हुनु आवश्यक हुन्छ ।

मिर्गौला सम्बन्धी समस्या हुनु भनेको पछिल्लो समय सबैले बुझ्न थालेका छन् । तरपनि मिर्गौलामा समस्या किन हुन्छ र कसरी जोगिन सकिन्छ भन्नेमा मानिसहरू अझै सचेत र जानकार हुन सकेका छैनन् । 

मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेका अनुसार मिर्गौला रोगको समयमै पहिचान हुन सके मानिस स्वस्थ हुन सक्छ ।

मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । यही महत्वपूर्ण अङ्गमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ ।

डा. काफ्लेले पछिल्लो समय मिर्गौला सम्बन्धी रोग विश्वमा मात्रै नभई नेपालमा पनि बढ्दै गएको बताए । उनले नेपालमा मिर्गौलाका बिरामीलाई सरकारले डायलासिस निः शुल्क गरेको भएपनि मिर्गौला सम्बन्धी रोग लाग्नै नदिनका लागि मानिस अझै सचेत हुन नसकेको बताए । 

उनले स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला बिग्रिएको थाहा नहुने भन्दै ९० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्रै बिरामीमा लक्षणहरू देखिने गरेको उल्लेख गरे । 

मिर्गौला बिग्रिएपछि शरीर सुन्निने, पिसाब गन्हाउने, छाला सुक्खा हुने, शरीर चिलाउने, पिसाब धेरै हुने वा पिसाब राम्रोसँग नहुने जस्ता लक्षणहरू देखिने गरेको उनले बताए । तर, यी लक्षण देखिनु अगावै समय समयमा परीक्षण गर्नुपर्ने डा. काफ्लेले सुझाव दिए ।

डा. काफ्लेका अनुसार मिर्गौला बिग्रिनुका प्रमुख कारणहरू यस्ता छन् :

  • उच्च रक्तचाप
  • मधुमेह
  • मिर्गौलामा हुने नेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग)
  • मिर्गौलामा संक्रमण भएमा
  • मिर्गौलामा पत्थरी भएमा
  • प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा
  • पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा
  • लुपस
  • वंशाणुगत 
  • जथाभावी रुपमा औषधि सेवन गर्दा 

मिर्गौला स्वास्थ छ वा छैन कसरी थाहा पाउने ?
पिसाबमा प्रोटिन गएको छैन भने मिर्गौला सम्बन्धी रोग लागेको हुनसक्छ । त्यसैले पिसाव सम्बन्धी समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ । 

यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ । यस्तै अल्टासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला बिग्रिएको छ÷छैन । पत्थरी वा फोका आएको छ वा छैन । शरीरमा दुवै मिर्गौला छ वा छैन पत्ता लगाउन सकिन्छ ।

त्यसैले वर्षमा एकपटक परीक्षण गरेर मिर्गौला स्वस्थ छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । समय–समयमा स्वास्थ्य परीक्षण गराउदा मिर्गौलामा समस्या भएको समयमै पत्ता लगाउन सकिन्छ र समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ ।

मिर्गौला बिग्रन नदिन के गर्ने ?

  • बिहान उठ्ने वित्तिकै पानी पिउने
  • एकदिनमा ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी खानुपर्छ
  • हरेक दिन १० हजार पाइला हिड्नुपर्छ
  • समयमा सुत्ने बानी गर्नुपर्छ
  • बिहान समयमै उठ्ने बानी गर्नुपर्छ
  • धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने
  • मासु धेरै नखाने
  • उमेर बढ्दै गएपछि मासु नखाने
  • उमेर बढ्दै गएपछि दुध, दहि कम खाने
  • मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने
  • दाल, भात, तरकारी तथा सागसब्जी खाने
  • खाना खाने तथा खाजा खाने समयको रुटिङ हुनुपर्छ
  • परिवारमा कसैलाई मिर्गौला सम्बन्धी रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ
  • आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ
  • नियमित व्यायम गर्ने

उपचार
यसको उपचार भनेको मिर्गौला बिग्रिसकेपछि डायलासिस गर्ने र मिर्गौला प्रत्यारोपण गर्नु हो । तर, यो मिर्गौला बिग्रिसकेको अवस्थामा मात्रै हो ।  

Last modified on 2022-03-10 15:03:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts