फर्मा एक्स्पो

चितवनमा आठौं नेपाल फर्मा एक्स्पो सुरु, एकसय ६० कम्पनी सहभागी (फोटोफिचर)



Download our app to get more features

काठमाडौँ, ९ वैशाख । औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पोको आठौं संस्करण शुक्रबार चितवनमा सुरु भएको छ । 

औषधि उत्पादक संघ (एपोन)को आयोजनामा सुरु मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । प्रदर्शनीको उद्घाटनसत्रमा रास्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठुलो फड्को मारेको बताउनुभयो । महामारीका समयमा नेपाली उत्पादकले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले विदेशी औषधिको आयातलाई विस्थापन गर्न स्वदेशी उत्पादकको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन् 'नेपालको औषधि उत्पादन क्षेत्रमा लगानी बढ्न सक्दा स्वदेशी अर्थतन्त्रको वृद्धि हुन्छ भने नेपालमै रोजगारीका सम्भावना बढेर दक्ष जनशक्तिको विदेश पलायन रोकिन्छ ।' 

उद्घाटन सत्रमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजङ्ग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुन्छ र भन्ने दुविधाजनक अवस्थाबाट अहिले एकसय भन्दा बढि स्वदेशी औषधि उधोगहरु सञ्चालनमा आउने अवस्था बनेको बताए । नेपाली औषधि उधोगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने भन्दै पाण्डेले हालपनि कुल क्षमताको ५० प्रतिशतमात्रै औषधि उत्पादन भइरहेको तथ्य पेश गरे ।  एपोनका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले स्वदेशी उद्योग औषधिमा आत्मनिर्भर हुन चाहेको भन्दै भारतीय उत्पादनसँग नेपालले प्रतिस्पर्धा गर्न नसकेको बताए । सँगैको बङ्गलादेशले १ सय २० देशमा निर्यात गरिरहेको अवस्थामा नेपालले भने औषधि सल्लाहकार समितिको बैठक समेत नगरेको भन्दै उनले आलोचना गरे । नेपालमा सरकारको सहयोग हुने भए छिट्टै नेपाली बजार औषधिमा ८० प्रतिशत आत्मनिर्भर हुन सकिने उनको दावी छ । 

'भारतले ८ प्रतिशतमात्र उत्पादन बढायो भनेपनि नेपाललाई निशुल्क दिन सक्छ । यो हाम्रो लागि गम्भीर बिषय हो। अहिले नेपाली उद्योगको स्यानीटाइजर बिक्दैन, भारतबाट आएको मात्र बिक्रीवितरण भइरहेको छ ।' उनले भने । 


         
एपोनका निवर्तमान अध्यक्ष जिनारायण क्षेत्रीले औषधिमा आत्मनिर्भरको हुनका लागि धेरै लबिङ गरेको भएपनि सफल हुन नसकेकोमा चिन्ता व्यक्त गरे । कोरोनाकालमा भारतले औषधि निर्यातमा निषेध गर्दापनि नेपालमा औषधि अभाव नभएको दावी गर्दै क्षेत्रीले नेपाली औषधि पनि अन्तर्रास्ट्रिय स्तरको रहेको जिकिर गरे । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औष्लायिध उत्पादनमा जोड दिनुपर्ने भन्दै औषधि व्यवस्था विभागले औषधि उत्पादनको क्षेत्रलाई थप चुस्त बनाउनुपर्ने सुझाव दिए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालले उद्योग व्यवसायको क्षेत्रमा ठुलो घाटा व्यहोर्नुपरेको बताए। कोरोना महामारीले स्वदेशमै औषधिजन्य उत्पादन बढाउनुपर्छ भन्ने कुरा सिकाएको भन्दै उनले नेपालमा औषधि बजारको ५० अर्बको हिस्सा रहेको तथ्यांक पेश गरे । कुल बजारमा औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको भन्दै गोल्छाले नेपालको औषधि ऐन २०३५ लाई उपर्युक्त संशोधन गर्नुपर्ने धारणा राखे । 

एक्स्पोका मिडिया संयोजक एवं औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाएको जानकारी दिए । एक्स्पोमा विभिन्न विषयमा प्राविधिक सेमिनार हुने बरालको भनाइ छ । 

तीनदिन चल्ने एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताले भ्रमण गर्ने संघको अनुमान छ । एक्स्पोले नेपालको औषधि उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने र नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन दक्षता प्रदान गर्ने विश्वास उपाध्यक्ष बरालले व्यक्त गरे । 

फोटोः उद्धवराज भेटुवाल

Last modified on 2022-04-23 16:36:56

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts