मुटु तथा फोक्सो रोग विशेषज्ञ चिकित्सकको राष्ट्रिय सम्मेलन चितवनमा (फोटोफिचर)



Download our app to get more features

चितवन, २४ वैशाख । चितवनमा मुटु तथा फोक्सो रोग सम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन भएको छ ।

नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा पहिलो पटक राष्ट्रिय सम्मेलन भएको हो ।

शनिवार भरतपुर–१० स्थित होटल सिराइचुलीमा भएको सो सम्मेलनमा देशभरका सय भन्दाबढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा मुटु तथा फोक्सो रोग सम्बन्धी विशेषज्ञहरूको अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा समेत विशेष छलफल गरिएको कार्यक्रम संयोजक एवम् समाजका महासचिव डा. शंकर लौडारीले जानकारी दिए । सम्मेलनमा मुटु तथा फोक्सो रोग सम्बन्धी २६ वटा वैज्ञानिक सोधपत्र प्रस्तुत गरिएको उनले जनाए । 

सोधपत्र मार्फत चिकित्सकले मुटु तथा फोक्सो सम्बन्धी विभिन्न रोग, त्यसको निदान तथा उपचार विधि बारे जानकारी दिएका थिए । त्यस्तै, राज्यलाई पनि प्रस्तुत वैज्ञानिक सोधपत्रले नेपालमा मुटु रोगको अवस्था, समस्या र प्रविधिबारे जानकारी मिल्ने कार्यक्रम संयोजक डा. लौडारीले विश्वास व्यक्त गरे । त्यस बखत उठेका जिज्ञासा तथा प्रश्न माथि समेत विशेष छलफल गरिएको थियो । 

कार्यक्रममा मुटुरोग विशेषज्ञ, मुटु शल्य चिकित्सक, फोक्सोरोग विशेषज्ञ, भास्कुलर सर्जन, फिजिसियन, नर्स, प्यारामेडिक्स् लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वैज्ञानिक सोधपत्र प्रस्तुत गर्ने चिकित्सक एवम् अन्य चिकित्सकहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले अध्यक्षतामा सम्पन्न भएको हो ।

सन् २०१६ मा स्थापना भएको यस समाजमा अहिले ६० जना भन्दाबढी चिकित्सक आवद्ध रहेका छन् । समाजले यसअघि नै सन् २०१९ पहिलो राष्ट्रिय सम्मेलन गर्ने तयारी गरे पनि प्राविधिक कारणवश त्यति बेला हुन सकेको थिएन ।

अहिले नेपालमा मुटु तथा फोक्सो रोग सम्बन्धी विशेषज्ञ चिकित्सक दिन प्रतिदिन थपिँदै गएको भन्दै नयाँ–नयाँ प्रविधिको बारेमा अनुभव आदानप्रदानको माध्यमबाट अब थप प्रभावकारी उपचारमा यो सम्मेलन फलदायी हुने आयोजकको विश्वास छ । 

वंशाणुगत, अस्वस्थकर खानपान र जीवन शैलीका कारण नेपाल लगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेका छन् । हृदयघात विश्वमा मृत्युको मूख्य कारणमध्ये एक हो । जसलाई पनि, जतिबेला पनि हृदयघात हुनसक्छ । मुटु रोगीहरु यसको सबैभन्दा बढी जोखिममा हुने गर्दछन् ।

Last modified on 2022-05-08 14:13:38

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts