सिएमसीलाई अर्को सफलता, ल्यावले पायो उपत्यका बाहिर पहिलो आईएसओ मान्यता 



Download our app to get more features

चितवन, २९ जेठ । भरतपुरस्थित चितवन मेडिकल कलेजको प्रयोगशाला (सिएमसी ल्याव) ले अन्तर्राष्ट्रिय मानकिकरण संस्था (आईएसओ) बाट मान्यता प्राप्त गर्ने उपत्यका बाहिर पहिलो प्रयोगशाला भएको छ। 

मेडिकल कलेज र उपत्यका बाहिर दुवैमा पहिलो 

अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकिकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र (एईआरएसएससी) ले उक्त मान्यता प्रदान गरेको अस्पतालका ल्याब्रोटेरी डाइरेक्टर डा. संजय यादवले जानकारी दिए । उनका अनुसार नेपालका मेडिकल कलेज मध्य आईएसओ प्राप्त गर्ने सिएमसी ल्याव नेपालकै पहिलो हो । त्यस्तै, उपत्यका बाहिर आईएसओ प्राप्त गर्ने पनि यो पहिलो प्रयोगशाला भएको छ। 

आईएसओ १५१८९/२०१२ प्राप्त

सिएमसी ल्यावले आईएसओ १५१८९/२०१२ प्राप्त गरेको उनले बताए । यसको प्रमाणपत्र नम्बर ‘एमएलएस-००५’ रहेको छ।

डा.यादवले भने– ‘अस्पताल र हाम्रो टिमको सबै सदस्यको लामो समयको मेहनत र परिश्रमले आईएसओ १५१८९/२०१२ प्राप्त गरेका छौं । यो हाम्रो ल्याब्रोटोरीको गुणस्तर र हामीले गरिरहेको कामको सम्मान हो । यो प्रमाणपत्रले हाम्रो टिमलाई अझ राम्रो काम गर्ने प्रेरणा र जिम्मेवारी दुवै प्रदान गरेको छ।’

उनका अनुसार यो प्रमाणपत्र पाउँनको लागि अस्पतालले २ सय ५८ प्रकारका कागजात तयार पारेको छ । अहिले ल्याब्रोटेरी मेडिसिन विभाग अन्तर्गत अस्पतालमा सानाठुला १२ वटा एकाइ सञ्चालनमा छन् । ल्याब्रोटेरी डाइरेक्टर १ जना, क्वालिटि म्यानेजर १ जना, बायोसेफ्टी अफिसर १ जना, टेक्निकल सुपरिवेक्षक १ जना, माईक्रोबायोलोजी फ्याकल्टी ४ जना, प्याथोलोजी फ्याकल्टी ७ जना, बायोकेमेस्टी फ्याकल्टी ७ जना, ल्याब्रोटेरी सुपरिवेक्षक ८ जना, मेडिकल ल्याब्रोटेरी टेक्नोलोजिस्ट १५ जना, मेडिकल ल्याब्रोटेरी टेक्निसियन २९ जना र मेडिकल ल्याब्रोटेरी सहायक ८ जना कर्मचारी कार्यरत छन् ।

गुणस्तरीय ढुक्क रहन आग्रह

‘अस्पतालले यो अन्तराष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्रलाई कायमै राख्न सधै लागि पर्दछ । प्रयोगशालाबाट प्राप्त रिपोर्ट सधै गुणस्तरीय रहन्छ । त्यसमा कुनै पनि चिन्ता लिनु पर्दैन।’, डा. यादवले भने । अब नेपालमै स्तरिय प्रयोगशाला र स्तरिय सेवा प्रदान गर्ने भएको छ । त्यस कारण नमुना परीक्षणको लागि अब खासै विदेश पठाउनु नपर्ने उनले विश्वास व्यक्त गरे ।

यसअघि :  ‘पीभीटी’ भएको बिरामीमा नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण

यसअघि गत असारमा कलेजोमा रगत जानै नसक्ने गरी रगत बग्ने नली बन्द भएको जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय पुरूषको यस अस्पतालमा कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । चिकित्सा विज्ञानमा यस्तो अवस्थालाई सिरोसिस विथ पोर्टल भेन थ्रोम्बोसिस (पिभिटि) भन्ने गरिन्छ । ‘पीभीटी’ भएका बिरामीको नेपालमै पहिलो पटक प्रत्यारोपण गरिएको अस्पतालको दाबी छ । यसलाई एक जटिल अवस्थाको उपचार मानिन्छ । विशेषज्ञ चिकित्सक सहितको टोलीले १२ घण्टा भन्दा लामो समय लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको थियो ।

यसअघि : राजधानी बाहिर पहिलोपटक कलेजो प्रत्यारोपण

यसअघि, यस अस्पतालले राजधानी बाहिर पहिलोपटक विशेषज्ञ चिकित्सक सहितको टोलीले ०७७ साल चैत ८ गते कलेजोको पहिलो पटक सफल प्रत्यारोपण गरेको थियो । भरतपुर महानगरपालिका–१० घर भई काठमाडौं बस्दै आएकी ५४ वर्षीय महिलालाई उनकी ३४ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको थियो । 

अहिलेसम्म छ जनाको कलेजो प्रत्यारोपण

चितवन मेडिकल कलेजले अहिलेसम्म छ जनाको कलेजो प्रत्यारोपण गरिसकेको अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले जानकारी दिए । ‘विश्वका अन्य मुलुकमा भएका अत्याधुनिक प्रविधि र उपकरणसहितको दक्ष जनशक्ति हाम्रै कलेजमा छन्।,’ उनले भने, ‘कलेजो प्रत्यारोपणका लागि अब विदेश जानु पर्दैन ।’

न्युक्लियर मेडिसिन सञ्चालनमा 

यसैबिच, यसअघि सिएमसीले आफ्नो सेवा विस्तार गरी मेडिकल क्षेत्रमा अत्याधुनिक तथा अति विशिष्ट मानिने न्युक्लियर मेडिसिन सेवा ०७६ साल पुस महिनादेखि नै सञ्चालनमा ल्याएको छ । त्यसका लागि अत्याधुनिक उपकरण सिंगल फोटोन इमिसन कम्प्युटेड टोमोग्राफी तथा अन्य आवश्यक उपकरणहरु ल्याइएको छ । 

यसले पुरै शरीरको स्क्यान गर्दछ । शरीरको कुन अङ्गले कत्तिको काम गरेको छ भन्ने परीक्षण गर्दछ । साथै आवश्यकता अनुसार उपचार समेत गर्ने गरिन्छ । यस उपचार विधि मार्फत थाइराइड, फोक्सो, मुटु, मस्तिष्क, हड्डी, मिर्गौला, कलेजो लगाएत प्रायः सबै अंगको परीक्षण तथा उपचार सम्भव रहेको जानकारी दिए ।

‘मेडिकल सिटी’ भरतपुर आशाको केन्द्र 

मध्य नेपालमा अवस्थित ‘मेडिकल सिटी’ को रूपमा चिनिएको भरतपुरमा नयाँ प्रविधिको प्रयोग र अत्याधुनिक उपचार पद्धतिको विकासले चिकित्सा क्षेत्र र सर्वसाधारणमा थप आशा जगाएको छ । अझै पनि कतिपय उपचारको लागि राजधानी काठमाडौं र विदेशसम्म धाउनु पर्ने बाध्यता अझै कायमै छ । त्यस्ता बाध्यता हटाउन, सर्वसाधारणलाई सस्तो र सर्वसुलभ उपचार प्रदान गर्न तर्फ सरोकारवाला निकायको समयमै ध्यान पुग्नु जरूरी देखिन्छ ।

Last modified on 2022-06-15 13:37:54

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts