भरतपुर अस्पतालको सेवा विस्तार, छुट्टै अतिविशिष्टिकृत क्लिनिक सञ्चालनमा



Download our app to get more features

चितवन, ३ असार । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । 

अस्पतालले आफ्नो सेवा विस्तार गर्दै बिहीवारदेखि अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको हो ।

सो विस्तार सेवाको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी प्रमुख एवम् अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले संयुक्त रूपमा उद्घाटन गरे । 

हाल ११ प्रकारका विशिष्टिकृत सेवा सञ्चालन 

मेसु डा. पौडेलका अनुसार सुपरस्पेशलिष्ट क्लिनिक अन्तर्गत कलेजो रोग, मुत्रासय, मुटु, मिर्गौला, टाउको तथा नसा, हाडजोर्नी, घुँडा तथा जोर्नी, जोर्नी प्रत्यारोपण, नवजात शिशु, गिजा र अनुहारको हाडजोर्नी सम्बन्धी सेवा गरी हाल ११ प्रकारका विशिष्टिकृत सेवा रहेका छन् । 

उपत्यका बाहिर भरतपुर पहिलो

जनरल ओपिडी र अन्य नियमित ओपिडीको टिकट लिने बिरामीले सिफारिसको आधारमा अतिविशिष्टिकृत सेवा लिन पाउँने छन् । निजी अस्पताल भन्दा सस्तो दरमा दिउँसो १ देखि २ बजेसम्म पेइङ क्लिनिकमा ५ सय रूपैयाँको टिकट लिएर दिउँसो १ देखि अपराह्न ४ बजेसम्म यो सेवा लिन सकिने मेसु डा. पौडेलले जानकारी दिए । उनका अनुसार सरकारी स्तरमा उपत्यका बाहिर छुट्टै अतिविशिष्टिकृत क्लिनिक सञ्चालनमा ल्याउने भरतपुर अस्पताल पहिलो हो ।

७५ सालमै विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति

भरतपुर अस्पताल विसं २०७५ सालमा नै केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको हो ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराएका थिए । मन्त्रिपरिषद्को विसं २०७५ साल फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो ।

जता पनि भीड, घण्टौं लाइनमा

केन्द्रीय अस्पतालको रूपमा विकास भएपनि यस अस्पतालमा  ‘सीमित कर्मचारी–असीमित बिरामी’ को कारण भीड व्यवस्थापनमा हम्मे–हम्मे पर्ने गरेको छ । 

जनशक्ति र‌ पूर्वाधार भन्दा बिरामीको सँख्या बढी हुँदा उपचार तथा भीड व्यवस्थापनमा समस्या देखिने गरेको अस्पतालका मेसु पौडेलले बताउछन् । जसले गर्दा सेवाग्राही सेवा लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । उनका अनुसार अहिले दैनिक ११ सयदेखि १७ सयसम्म बिरामी पुग्ने गरेका छन् । त्यसमा बिमाका बिरामीको संख्या बढी छ । विगत केहि महिनामा कुलसँख्याको ५५ प्रतिशत हाराहारी बिरामीका बिरामी रहेकोमा हाल ८० प्रतिशतसम्म पुगेको छ । अनलाइन टिकट सेवामा सेवाग्रहीको रुची देखिएन ।‌ केहि पूर्वाधारहरु ठाउँसारीको तयारीमा छन् ।

स्थानीय सरकारहरुबाट सहयोगको अपेक्षा 

मेसु प्रा.डा.पौडेलले भने– ‘सेवाग्राहीको समस्याप्रति हामी दुखित छौं।असार १ बाट आइतवारको विदा कटौती भएसँगै जनरल ओपिडी सेवा पनि बिहान ८ देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ। संघिय सरकारबाट जनशक्ती थप नभइसकेको अवस्थामा चितवनका स्थानीय सरकारहरुबाट पनि भरतपुर अस्पतालको समस्या बुझि सहयोग गरिदिए बिरामीहरूकै पिरबेथा बुझे सरह  हुने थियो। नागरिक समाजहरुले पनि स्थानीय सरकारहरुलाई भरतपुर अस्पतालसँग यो विषयममा जोडिदिए राम्रो हुने थियो। आधारभुत स्वास्थ्य सेवा सबै नागरीकको अधिकार भएसँगै यसको विशिष्टिकरण पनि हामी सबैको साझा कर्तव्य हो।’

जनशक्ति अभावमा सेवा प्रवाहमा समस्या

नेपाल सरकार मन्त्रीपरिषदको मिति विसं २०७५ चैत ३ गतेको निर्णयअनुसार विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति गरी सङ्घीय सरकार अन्तर्गत हालसम्मको अवधिमा कुनै थप जनशक्ति एवं दरवन्दी प्राप्त हुन नसक्दा अस्पतालमा विस्तार गरिएका सेवाहरू सहज रूपमा प्रवाह गर्न सकिएको छैन । अहिले अस्पतालको अधिकांश विभागरवार्डरशाखारइकाईहरूमा न्यून जनशक्तिले कार्य गर्नु परेको छ  । 

१९ भन्दा बढी जिल्लाका बिरामीको उपचार

नेपालको मध्यभागमा अवस्थित यस अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

सरोकारवालाको ध्यान पुग्नु जरूरी

बिरामीको चाप बढी रहने यस अस्पतालमा सीमित कर्मचारी र व्यवस्थित पूर्वधारको अभावमा घण्टौं लाईनमा बस्नु पर्ने तीतो यथार्थ सबै सामु छर्लङ्ग छ । यद्यपि यस समस्याको समाधान तर्फ सरोकारवाला निकायको खासै ध्यान पुगेको देखिएको छैन । अस्पतालको सेवा सुविधा तथा उपचारलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला निकायको ध्यान पुग्नु जरूरी देखिन्छ ।

Last modified on 2022-06-22 16:37:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts