विश्वभर ५२ वर्षमा ५० प्रतिशतले डेङ्गीका बिरामी बढे, नेपालमा कस्तो छ अवस्था ?



Download our app to get more features

नेपालमा डेङ्गीको इतिहास हेर्ने हो भने सन् २००४ मा पहिलो बिरामी एकजना विदेशी नागरिक थिए । बाहिरबाट आएका ती व्यक्तिमा डेङ्गीको सङ्क्रमण पुष्टि भएपनि सन् २००६ मा तराई र भित्रि मधेशका केही जिल्लामा डेङ्गीका बिरामीहरू भेटिए । त्यसपछि सन् २०१६ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीकै रुपमा डेङ्गी देखियो र देशभरमा १ हजार ५ सय २७ जना सङ्क्रमित भए । २०१७ मा चितवन, झापा र रुपन्देही जिल्लामा २ हजार १ सय ११ जनामा सङ्क्रमण पुष्टि भयो । त्यसपछि २०१८ मा कास्की, रुपन्देही र चितवनमा गरी ८ सय ११ जनामा सङ्क्रमण पुष्टि भयो । सन् २०१९ मा भने देशभर नै सङ्क्रमण फैलिँदा ३ लाखभन्दा बढी बिरामी परे । 

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुका कारण नेपालमा वर्षेनी ४० देखि ६० जनाको मृत्यु हुने गरेको छ । साथै हरेक वर्ष ५ सय भन्दा बढि मानिस डेङ्गुबाट प्रभावित हुने गरेको ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेङ्गी सङ्क्रामक रोगको रुपमा चिनिन्छ । किटजन्य रोगको सूचीमा सुचिकृत डेङ्गीलाई भाइरल भनेर पनि परिभाषित गरिन्छ । नेपालमा विशेषगरी वर्षाको मौसम अनि वर्षा सकिसकेपछि असोज, कात्तिकमा पनि यसका बिरामीहरू फेला पर्ने गर्छन् ।

२०७४ मा नेपालमा डेङ्गीको यतिसम्मको प्रकोप देखियो की झन्डै ३ लाखभन्दा बढी मानिस प्रभावित बने, ८ सयभन्दा बढीको मृत्यु नै भयो । त्यतिबेला नेपालको कुनैपनि जिल्ला अपवाद बाहेकका डेङ्गीको सङ्क्रमणबाट अछुतो रहेन । त्यसपछि कोरोना महामारीले पछिल्लो ३ वर्षमा डेङ्गीको सङ्क्रमण न्यून सङ्ख्यामा देखिए पनि बर्सेनि भने यस रोगका कारण ४० देखि ५० जनाको मृत्यु भइ नै रहेको छ । 

यतिबेला फेरि काठमाडौँ उपत्यकासहित नेपालका ६० भन्दा बढी जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिसकेको छ । सबैभन्दा धेरै काठमाडौँ उपत्यकामै डेङ्गीको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बताउँछ । 

काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा दैनिक जसो ५० देखि सयजनाको हाराहारीमा डेङ्गीको सङ्क्रमण देखिएर बिरामीहरू पुग्ने गर्छन् । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक्कासी उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेसीहरू दुख्ने, आँखाहरू पोल्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, शरीरमा विमिरा आउने, नाक वा गिजाबाट रगत बग्ने, कलेजो सुन्निने तथा कलेजो रहने ठाउँमा पेटमा थिच्दा दुख्ने लगायतका समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या बढिरहेको छ ।

शखाका प्रमुख डा.चुमन लाल दासले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ७० देखि ८० प्रतिशत बेड डेङ्गीका बिरामीले भरिएको बताए । उनले अन्य जिल्लामाभन्दा पनि काठमाडौंमा यतिबेला प्रकोपको रुपमा डेङ्गी देखिएको बताए । 

उनले डेङ्गीको जोखिम बढ्दै गएकाले सावधानी अपनाउन पनि आग्रह गरेका छन् । लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउन, शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउन, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउन, बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्न, घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिन, खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुडा घोप्टाएर राख्न, पानीको ट्याङ्की पुरै खाली गरेर सफा गरिरहन र कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्न उनले सुझाव दिए ।

डा. दासका अनुसार डेङ्गीको जोखिम बढेपनि हालसम्म कसैको पनि मृत्यु नभएको र सबै स्वस्थ भएर घर फर्किने गरेको हुँदा यसबाट जोगिन सबैले ध्यान दिनुपर्ने हुन्छ ।

त्यति मात्रै होइन सरकारले डेङ्गी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान नै चलाएको छ भने विभिन्न जनचेतनामुलक कार्यक्रमहरू पनि गर्दै आएको डा.दासले बताए ।

१९५० मा पहिलो पटक फिलिपिन्स र थाइल्याण्डमा डेङ्गीको सङ्क्रमण देखिएको थियो भने १९७० मा विश्वका ९ मुलुकमा डेङ्गीको सङ्क्रमण फैलियो । १९७० देखि बितेको ५२ वर्षमा यो रोग विश्वभर झन्डै ५० प्रतिशतले बढेको छ भने १ सय २८ भन्दा बढी मुलुकका करिब ४ अर्ब मानिसहरू डेङ्गीको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष विश्वभर ४० करोडभन्दा बढी मानिस यसको चपेटामा आउँछन् । जसमा २० देखि २२ हजारको मृत्यु हुने गरेको छ ।

डेङ्गी पहाड हुँदै हिमाल उक्लिनु जलवायु परिवर्तनमध्येको एक प्रमुख कारण
१५ वर्ष अघिसम्म काठमाडौं उपत्यकामा लामखुट्टे पाइँदैन थियो । वा भनौं बिरलै मात्रै पाइन्थ्यो । पहाडी र हिमाली जिल्लामा लामखुट्टे भन्ने किटजन्य रोग फैलिने गरेको पनि सायदै थियो होला । कारण, ती जिल्लामा पानी जम्ने समस्या हुँदैन थियो । तर, पछिल्लो केही समयदेखि तराईका भू भागमा पाइने लामखुट्टे पहाड हुँदै हिमालसम्म पुगिसकेको छ । जसको प्रमुख कारणमध्यको एक बढ्दो जलवायु परिवर्तन हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान प्रमुख डा.मेघनाथ धिमालका अनुसार तराईमा पाइने लामखुट्टेले अब आफूलाई वातावरणमा ढाल्दै गएको छ । उनीहरूले आफूलाई तराईको हावापानीका साथै पहाडी र हिमाली क्षेत्रमा कसरी बसोबास गर्ने त्यो वातावरण बनाइसकेकाले डेङ्गीको जोखिम पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको छ । 

गर्मी क्षेत्रमा पाइने लामखुट्टे बढ्दो गर्मीका कारण अहिले पहाड हुँदै हिमाल तिर सर्न थालेको भन्दै उहाँले जलवायु परिवर्तनकै कारण मौसममा बदलाव भइरहेको र त्यसले तराईको रोग पहाड अनि हिमाल उक्लिन थालेको बताए ।

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्छ । जलवायु परिवर्तन भनेको तापक्रम बढ्दै जानु, अस्वभाविक रुपले वर्षा हुनु र बाढि आउनु, शितलहर जस्ता प्राकृतिक परिवर्तन हुनु हो । यसलाई प्रत्यक्ष जलवायु परिवर्तन भनिन्छ । प्रत्यक्ष असरका कारण शारीरिक समस्या हुने गर्छ । त्यसैगरी पारिस्थिक प्रणाली (इको सिस्टम) मा परिवर्तन हुनुलाई अप्रत्यक्ष परिवर्तन वा अप्रत्यक्ष प्रभाव भनिन्छ । जस्तै पानीमा असर अर्थात पानीको गुणस्तर र मात्रामा कमी आउनु हो । जसले गर्दा पानी जन्य रोगहरू लाग्न सक्छ ।

त्यसैगरी कृषिमा प्रभाव पर्नु अर्थात् खाद्य सुरक्षामा असर पर्छ जसले गर्दा कुपोषण हुने र अन्य रोगहरू लाग्न सक्ने सम्भावना बढेर जान्छ । डिजिज भेक्टरमा परिवर्तन हुनु हो । अर्थात् ब्लड सकिङ्ग अर्थात् स्त्री लामखुट्टेले टोक्ने गर्छ । जतिधेरै रगत चुस्ने काम लामखुट्टेले गर्छन् त्यति नै धेरै लामखुट्टेले फूल पार्छ । लामखुट्टेको जनसङ्ख्या बढ्दै जाँदा रोग सर्ने दर बढ्दै जान्छ ।

गर्मीयाममा विशेषगरी तराई क्षेत्रमा उच्च तापक्रमका कारण लामखुट्टेहरू मर्न थाल्छ र रोगमा कमि आउछ । तर, विस्तारै तापक्रम उच्च हिमाली पहाडी क्षेत्रमा बढ्दै जान्छ र रोगको सम्भावना बढ्दै जान्छ ।  सन् २००४ मा नेपालको ५ वटा जिल्लामा पहिलो पटक डेङ्गी देखिएको थियो । जुन छिमेकी मुलुक भारतसँग जोडिएका जिल्लाहरू थिए । तर, अहिले नेपालका प्रायः सबैजसो जिल्लामा डेङ्गीे रोगको सङ्क्रमण देखिन थालेको छ ।  

नेपालमा नभएको रोग देखिनुको प्रमुख कारण भनेको मानिसको चालले प्रभाव पार्छ । किनकी एक देशबाट अर्को देशमा आवत जावत गर्ने, एक जिल्लाबाट अर्को जिल्लामा जाने जस्ता मानव चालका कारण रोगहरू विस्तारै नेपालमा बढ्न थालेको छ । डेङ्गी सर्नु र देखिनुको कारण हो भारतसँगको सम्पर्क । भारतको कतिपय स्थानमा नेपालका नागरिक जाँदा डेङ्गीबाट सङ्क्रमित भएर आउने हुँदा डेङ्गी सर्ने सम्भावना बढेको हो । यति हुँदा पनि उपचार प्रविधि र औषधि, भ्याक्सिन नहुँदा उपचारमा समस्या छ । 

लामखुट्टेजन्य रोग बढ्नुको अर्को प्रमुख कारणमा कुलरको पानी, गमला, एसी जस्ता स्थानमा पानी जम्मा हुनु हो । यसलाई रोक्नका लागि कुनै ठोस उपाय छैन । किनकी लामखुट्टेले दिउँसै पनि टोक्ने हुन्छ । त्यस कारण सकेसम्म यस्ता ठाउँलाई सफा गरिराख्नु पर्छ । लामखुट्टेजन्य रोगहरू डेङ्गी, चिकनगुनिया र जिका जस्ता रोगको सङ्क्रमण बढ्ने जोखिम उच्च भएको छ । 

नेपालमै भएको अध्ययनको आधारमा अमेरिकाको सेन्ट्रल डिजिज कन्ट्रोल (सिडीसी) का अनुसार २००० मिटरसम्म जहाँ जिका देखिएको छ त्यस क्षेत्रमा गर्भवति महिलालाई यात्रा गर्न रोक लगाइएको । किनकी एसिया क्षेत्रमा मलेसिया र भारतमा जिका देखि सकिएको र नेपालीहरू त्यस क्षेत्रमा यात्रा गरिरहने हुँदा जिकाको जोखिम उच्च भएकाले सावधानी अपनाउनु पर्छ । किनकी यो सबै जलवायु परिवर्तनले नै नयाँ नयाँ ठाउँमा नयाँ नयाँ रोगहरुको प्रकोप बढाउने गर्छ । साथै जलवायु परिवर्तनले फुड पोइजिनिगंको समस्या पनि बढाउँछ । किनकी जाडोमा खाना सहजै पच्ने, खाना छिटो बिग्रिने समस्या कम हुन्छ भने गर्मीमा खाना पचाउन र खाना पनि चाँडै विग्रिने हुन्छ जसले गर्दा फुड पोइजिनिङ्गको समस्या बढ्छ । त्यतिमात्र नभई जलवायु परिवर्तनले सर्ने रोगका साथै नसर्ने रोगको जोखिम पनि बढाउँछ । किनकी मानिसको जीवनशैली र खानपानले पनि ठूलो प्रभाव पार्छ । 

नेपाल जस्तो कृषि प्रधान देशमा समयमा पानी नपर्दा किसानहरुलाई बढि समस्या हुने गर्छ । पानी पर्ने समयमा पानी नपर्दा र पानी नपर्ने समयमा पानी पर्दा किसानलाई ठूलो क्षति हुन्छ । गरिबीको रेखामुनि रहेका मानिसले राम्रो खाना खान पाउँदैन, राम्रो कमाउन नसक्दा उनीहरु मानसिक तनावमा रहने र कुपोषण जस्ता समस्याको चपेटामा आउँछन् । यसरी विभिन्न तरिकाले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा असर पार्छ ।

त्यसकारण जलवायु परिवर्तनको असर कम गर्नका लागि रुख बिरुवा प्रसस्त रोप्ने, अनावश्यक पानीको खर्च नगर्ने, अनावश्यक सवारीसाधन नचलाउने, इन्धनको प्रयोग कम गर्ने, अग्ला र ठूला घरहरू बनाउनुको साटो ठिकको घर बनाउने लगायतका कामहरू गर्नुपर्छ ।   

Last modified on 2022-08-28 19:40:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts