बच्चामा देखिने गिजा सम्बन्धी समस्याबारे अभिभावकले जान्नै पर्ने केही कुराहरू...



Download our app to get more features

मुख स्वास्थ्यमध्येको एक हो, गिजाको हेरचाह । मुख स्वास्थ्यलाई राम्रो बनाउनु छ भने गिजाको पनि विशेष ख्याल राख्नुपर्छ । गिजासम्बन्धी समस्याहरू वयस्क मानिसहरूमा मात्रै नभई बच्चाहरूमा पनि देखिने गर्दछ । तर, बच्चाहरूमा देखिने समस्या वयस्क मानिसहरूकोभन्दा फरक हुन्छ । गिजासम्बन्धी समस्या मुख्यतया ब्याक्टेरियाको कारणले गर्दा हुन्छ । जसको कारणले गर्दा गिजा र दाँतलाई बाधेर राख्ने अन्य संरचनाहरूमा समेत समस्या देखापर्दछ ।

कारणः
हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ । हामीले खाएको खाना दाँतको सतहमा एक किसिमको बलद्वारा टाँसिन्छ । दाँतमा सफा गरेको केही सेकेन्डमा नै पातलो तह बन्दछ । यस प्रक्रिया २/४ घण्टादेखि सुरु भएर करिब ४ दिन सम्ममा दाँतबाट ननिस्किने दन्ते लेउमा परिवर्तन हुन्छ । यहि दन्तेलेउनै गिजा सम्बन्धीको समस्याको मुल कारण हो । यदि दन्ते लेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा दन्ते पत्थरमा बदलिन्छ । जुन एकदमै कडा हुन्छ । उक्त पत्थर शरिरको विभिन्न अङ्गमा हुने पत्थरि जस्तै हुन्छ । उक्त दन्ते पत्थरले अझै धेरै दन्ते लेउ जम्मा गराउन मद्दत गर्दछ । जसले गर्दा गिजाको सङ्क्रमण देखा पर्दछ । बच्चाहरूमा देखिने गिजा सम्बन्धी समस्याको प्रमुख कारण भनेको दन्ते लेउ नै हो ।

जोखिमजन्य कारणहरूः
– वंशाणुगत गुणहरू
– दाँत र गिजाको बीचमा अड्किने खाने कुराहरू
– मुखबाट सास फेर्ने समस्या, जसले दाँत तथा गिजालाई सुख्खा बनाउने गर्दछ
– पौष्टिक खानेकुराको अभाव
– शरीरमा भएका अन्य रोगहरू जस्तैः मधुमेह
– शरीरमा हुने हर्मोनको परिवर्तन
– दाँत किट्ने समस्या

लक्षणहरूः
– रातो भएर गिजा सुन्निनुको साथै मन्द गतिमा दुखाइको महसुस हुनु
– दाँत ब्रस गर्दा रगत आउनु
– गिजा दाँतको सतहबाट क्रमशः तलसर्दै जानु
– सामान्य तया भन्दा दाँतहरूबीचको दुरी बढ्दै जानु
– श्वाँस गन्हाउनु
– गिजा र दाँतको बिचबाट पिप आउनु

कसरी पत्ता लगाउने ?
माथि लेखिएका लक्षणहरू देखिएमा सकेसम्म चाँडै दन्त चिकित्सक वा विषेशज्ञ चिकित्सकसमक्ष लगि हाल्नुपर्दछ । रोग सम्बन्धी सम्पूर्ण जानकारी लिईसकेपछि गिजासम्बन्धी समस्याको बारेमा जानकारी प्राप्त हुने गर्दछ । कुनै कुनै अवस्थामा एक्सरे पनि लिनुपर्ने हुनसक्दछ ।

उपचारः
– सामान्य दाँतको सफाई
– डिप क्लिनिङः धेरै नै समस्या भएको खण्डमा गिजा भित्रैबाट जराको भाग सफा गर्नुपर्ने हुन्छ ।
– पिप जम्मा भएको अवस्थामा औषधिको सेवन गर्नुपर्दछ ।
– गिजाको आकार एकदमै बढेको अवस्थामा सर्जरि पनि गर्नुपर्ने हुनसक्दछ ।

कसरी बच्ने ?
– दिनको दुईपटक उपयुक्त तरिकाको प्रयोग गरेर फ्लोराईडेटेड टुथपेस्टको सहायताले ब्रस गराउने ।
– बच्चाको उमेर अनुसारको ब्रसको साइजको प्रयोग गराउने
– दाँतकोबीचमा फसेको फोहोर निकाल्नको लागि डेण्टल फ्लसको नियमित प्रयोग गराउने
– हरेक पटक खानेकुरा खाएपछि राम्रोसँग मुख कुल्ला गराउने
– नियमित रुपमा दन्त चिकित्सक वा विषेशज्ञ चिकित्सकसँग परिक्षण गराउने
– पौष्टिक खानेकुराहरू खुवाउने तर चिनिजन्य खानेकुराहरू कम खुवाउने

दाँत तथा गिजासम्बन्धी समस्याहरू मुख्यतया हामीहरूको हेलचक्र्याईँको कारणले गर्दा हुने गर्दछ । त्यसैले आफ्नो बालबच्चाको मुख तथा दाँतसम्बन्धी स्वास्थ्यको बारेमा बेलैमा सचेत हुनुपर्दछ । रोग लागिसकेपछि उपचार गराउनु भन्दापनि रोग नै लाग्न नदिनु बुद्धिमानी हुन्छ । स्वस्थ रहौँ, खुसि रहौ, सुखी रहौँ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts